२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुलुकभर ५९० जना कोरोना संक्रमितको मृत्यु, ६० देखि ८० वर्षका मात्रै २७० जनाको मृत्यु

मुलुकभर ५९० जना कोरोना संक्रमितको मृत्यु, ६० देखि ८० वर्षका मात्रै २७० जनाको मृत्यु


काठमाडौं—विगत चार महिनामा मुलुकभर ५९० जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु भएकामध्ये अधिकांश ५० वर्षदेखि माथि उमेर समूहका छन् ।

कोरोनाबाट मृत्यु भएका ६० देखि ८० वर्षका मात्रै २७० जना छन् । चिकित्सकहरुले संक्रमण समुदायमा फैलिएपछि वृद्धवृद्धाको मृत्यु संख्या बढेको बताएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट वृद्धवृद्धालाई जोगाउन आवश्यक भएको बताए । उनले अनावश्यक रुपमा काम नपरी घरबाट बाहिर ननिस्कन र वृद्धवृद्धाको छेउमा जानै पर मास्क र २ मिटर परैबाट बोल्न अनुरोध गरेका छन् ।

नेपालमा ४ जेठमा पहिलो पटक कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएको थियो । दोस्रो मृत्यु ८ गते, तेस्रो मृत्यु १० गते, चौथो मृत्यु १२ गते, पाँचौ मृत्यु १५ गते र त्यस पछि दैनिक रुपमा मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । २५ जेठमा एकै दिन २ जनाको मृत्यु भएको थियो । त्यसैगरी, ९ साउनमा ३ जना र २१ साउनमा ५ जनाको मृत्यु भएको थियो । यता २८ साउनमा ६ जनाको मृत्यु भएको थियो । ५ भदौंदेखि भने दैनिक औसतमा १२ जनाको मृत्यु भइरहेको छ ।

नेपालमा ५ दिनको शिशुदेखि १०८ वर्ष उमेर समूहका व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ । चिकित्सकहरुले कोरोना भाइरसको संक्रमण जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्ने र यसले मृत्यु समेत गराउन सक्ने बताएका छन् । टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाका अनुसार सामान्यतयाः अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् ।

उमेर ढल्किँदै जाँदा रोग प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण वृद्धवृद्धा र दीर्घ रोगका बिरामीमा छिटो हुन्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ ।

डा. बास्तोलाका अनुसार वृद्धवृद्धाको अगाडि खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, बिरामीले सकेसम्म टाढा बस्ने, खानेकुरा वा अन्य वस्तु छोएपछि साबुन पानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

सरकारको तथ्यांकअनुसार हाल मृत्यु भएकामध्ये आधिकांश वृद्धवृद्धा त्यसमा पनि दीर्घ रोग भएकाहरु बढी छन् । डा. बाँस्तोला भन्छन्, ‘मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा संक्रमण छिटो हुन्छ । अझ कोरोनाको मात्रै संक्रमणलाई हेर्दा मधुमेह, उच्च रक्तचाप, दम र मोटोपन भएकाहरु बढी समस्यामा परेका छन् ।’ तथ्यांक अनुसार मृत्यु पनि यिनै समस्या भएका बढी छन् ।

‘कोरोनाको उच्च जोखिममा ३० वर्षका व्यक्तिहरु पनि देखिएका छन्,’ डा. बास्तोलाले भने, ‘नम्बरका आधारमा हेर्ने हो भने ४० वर्षबाट संख्या बढ्दैं गएर ६० माथि पिक लिएको छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना संक्रमितमध्ये ८० प्रतिशत सामान्य अवस्थाका हुनेछन् । १५ प्रतिशत लक्षण भएका र ५ प्रतिशत गम्भीर अवस्थामा पुग्ने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ