२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६७४३ वडामा ३३,७१५ स्वास्थ्यकर्मी आवश्यक, सरकारसँग २९ हजार मात्रै

६७४३ वडामा ३३,७१५ स्वास्थ्यकर्मी आवश्यक, सरकारसँग २९ हजार मात्रै


काठमाडौं—६ महिनाअघि सरकारले कोभिड—१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन तयार पारेको थियो । तर, उक्त मार्गदर्शन हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

सार्वजनिक नगर्नुको मुख्य कारण जनशक्ति अभाव भएको अनुमान विज्ञहरुले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका तत्कालीन सह—सचिव रघुराम विष्ट र तत्कालीन कानुन उप—सचिव पुष्करराज नेपालले उक्त मार्गदर्शन तयार पारेका थिए ।

देश संघीय संरचनामा गएसँगै मुलुकभर ६ हजार ७ सय ४३ वडा छन् । हरेक वडामा ५ जना स्वास्थ्यकर्मी राख्ने उक्त मार्गदर्शनले निर्देशित गरेको छ । सोहीअनुसार स्वास्थ्यकर्मी परिचालन गर्दा ३३ हजार ७ सय १५ जना जनशक्ति आवश्यक पर्छ । तर, विडम्बना सरकार मातहत जम्मा २९ हजार मात्रै स्वास्थ्यकर्मी छन् । त्यसमा पनि कति सेवा निवृत्त भइसकेका छन् । सरकार मातहत रहेका कर्मचारीले वडामा रहेको क्वारेन्टाइनसमेत हेर्न नसक्ने अवस्था भएपछि उक्त मार्गदर्शन गोप्य राखिएको हो ।

स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टाइनमा बसेका व्यक्तिको रेखदेखका लागि प्रत्येक वडामा चिकित्सक, नर्ससहित ५ जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ । अहिले कोरोना संक्रमित होम क्वारेन्टइनमा बस्दा स्वास्थ्यकर्मी देख्न पाएका छैनन् ।

स्वास्थ्य मन्त्रालयसँग करिब १४ सय डाक्टर र करिब १६ सय नर्स सेवामा कार्यरत छन् । सोमबार मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वडा कार्यालयहरुले समाजमा वृद्धवृद्धालाई कसरी जोगाउने भन्नेबारे जनचेतनामूलक सन्देशहरु सुरु गर्न निर्देशन दिए । उनले वडाबाट होम आइसोलेसनमा रहेका र उनको सम्पर्कमा आउन सक्ने व्यक्ति दुवैको कडा निगरानी गर्न पनि आग्रह गरे ।

स्थानीय तहमा होम क्वारेन्टाइन, सामूहिक क्वारेन्टाइन, सामूहिक आइसोलेसन, प्रदेशमा होम क्वारेन्टाइन, सामूहिक क्वारेन्टाइन, सामूहिक आइसोलेसन र अस्पतालहरुमा हुने सामूहिक क्वारेन्टाइन, सामूहिक आइसोलेसनलगायतका क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको मुल्यांकन मार्गदर्शनमा गरिएको छ । अहिले देशमा संक्रमितको संख्या १ लाख ११ हजार भन्दा बढी भएको छ । तथापि सघन उपचार (भेन्टिलेटरसहित र रहित) चाहिने संख्या ३ सय ४६ मात्रै रहेको छ । यो एकदमै न्यून संख्या हो ।

यस्तो छ, आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन

स्थानीय तह स्तरमा

होम क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिहरुसँग सम्पर्क, समन्वय, आवश्यक स्वास्थ्य सल्लाह प्रदान तथा उद्दारसमेत गर्नका लागि संक्रमणको शंकास्पद तथा संक्रमण प्रभावित प्रत्येक वडामा कम्तिमा पाँच स्वास्थ्यकर्मी आवश्यक पर्नेछ । जसमध्ये प्यारामेडिक १, नर्सिङ स्टाफ १, स्वास्थ्य परिचारिका २ र सहयोगी १ अनिवार्य हुनुपर्ने छ ।

वडा, सामूहिक क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रमा आर्थिक, प्रशासनिक र लजेष्टिकको लागि सम्पर्क र समन्वयका लागि स्थानीय तहमा नै आवश्यक पर्ने जनशक्ति मेडिकल अधिकृत १, प्यारामेडिक १, नर्सिङ स्टाफ १, सहयोगी १ गरी ४ जना रहने उल्लेख छ ।

सामूहिक क्वारेन्टिनको लागि आवश्यक पर्ने जनशक्ति

२०० वेडको लागि २०१ देखि ५०० वेडको लागि ५०० वेड भन्दामाथि
प्यारामेडिक १ जना प्यारामेडिक २ जना प्यारामेडिक ३ जना
नर्सिङ स्टाफ १ जना नर्सिङ स्टाफ २ जना  नर्सिङ स्टाफ ३ जना
स्वास्थ्य परिचारिका २ जना स्वास्थ्य परिचारिका २ जना स्वास्थ्य परिचारिका २ जना
सहयोगी १ जना  सहयोगी १ जना सहयोगी २ जना
जम्मा ५ जना जम्मा ७ जना जम्मा १० जना

सामूहिक आइसोलेसनको लागि आवश्यक पर्ने जनशक्ति

५० बेडसम्मको लागि ५१ बेडदेखि १०० बेडसम्मको लागि
प्यारामेडिक २ जना प्यारामेडिक ४ जना
नर्सिङ्ग स्टाफ २ जना नर्सिङ स्टाफ ४ जना
स्वास्थ्य परिचारिका २ जना मेडिकल अफिसर १ जना
सहयोगी १ जना सहयोगी १ जना
जम्मा ७ जना जम्मा १० जना

 

प्रदेशमा आवश्यक जनशक्ति

प्रदेशले व्यवस्थापन गरेका सामूहिक क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको लागि प्रति १०० जना व्यक्ति बराबर आवश्यक पर्ने जनशक्तिको सुपरीवेक्षण गर्नका लागि एमपीएच/एमडी कम्युनिटी मेडिसिन (आठ घटाको सिफ्टमा) १ जना, मेडिकल अधिकृत १ जना, प्यारामेडिक १ जना, नर्सिङ स्टाफ २ जना, ल्याब टेक्निसियन १ जना, स्वास्थ्य परिचारिका २ जना, सहयोगी १ जना, सरसफाइ गर्ने कर्मचारी ४ जना गरी जम्मा १३ जना रहने बताइएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्था स्तरमा

मन्त्रालयले लक्षण र असरहरु देखिएका संक्रमितहरुलाई अस्पतालको आइसोलेसन बेडमा भर्ना गरेर उपचार दिन आवश्यक पर्ने जनशक्तिको पनि वर्गीकरण गरिएको छ । २० जना बिमारीको लागि जिपी रेजिडेन्ट तथा इन्टरनल मेडिसिन १ जनाको दरले ३ सिफ्ट आवश्यक पर्छ । २० जना बिमारीको लागि मेडिकल अधिकृत ३ जना, प्यारामेडिक ३ जना, १० जना बिमारीको लागि नर्सिङ स्टाफ १ जनाको दरले ३ सिफ्ट, ल्याब टेक्निसियन १ जना, सहयोगी १ जना र २० जना बिमारीको लागि सरसफाइ गर्ने कर्मचारी १ जनाको दरले ३ सिफ्ट आवश्यक पर्ने उल्लेख छ ।

त्यसैगरी, अस्पतालको साधारण सघन उपचार कक्षमा भर्ना गरी उपचार दिन आवश्यक पर्ने जनशक्ति २० जना बिमारीको लागि जिपी रेजिडेन्ट तथा इन्टरनल मेडिसिन १ जनाको दरले ३ सिफ्ट, २० जना बिमारीको लागि मेडिकल अधिकृत ३ जना, १५ जना बिमारीको लागि क्रिटिकल केयर तालिम प्राप्त १ जनाको दरले ३ सिफ्ट, प्यारामेडिक ३ जना, ५ जना बिमारीको लागि नर्सिङ स्टाफ १ जनाको दरले ३ सिफ्ट, ल्याब टेक्निसियन २ जना, सहयोगी १ जना, १५ जना बिमारीको लागि सरसफाइ गर्ने कर्मचारी १ जनाको दरले ३ सिफ्ट आवश्यक पर्छ ।

अस्पतालको भेन्टिलेटर सहितको सघन उपचार कक्षमा भर्ना गरी उपचार दिन आवश्यक पर्ने जनशक्ति यस्तो छ । ५ भेण्टिलेटरको लागि जिपी रेजिडेन्ट तथा इन्टरनल मेडिसिन १ जनाको दरले ३ सिफ्ट, १० भेन्टिलेटरको लागि मेडिकल अधिकृत १ जना, ३ भेन्टिलेटरको लागी एनेस्थेसिया १ जनाको दरले ३ सिफ्ट, प्यारामेडिक २ जना, १ भेन्टिलेटरको लागि नर्सिङ स्टाफ १ जनाको दरले ३ सिफ्ट, ल्याब टेक्निसियन २ जना, सहयोगी २ जना, ८ भेन्टिलेटरको लागि सरसफाइ गर्ने कर्मचारी १ जनाको दरले ३ सिफ्ट आवश्यक पर्ने मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ