२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखराब अवस्था आए अबको ४ महिनामा ३ लाख २० हजार संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

खराब अवस्था आए अबको ४ महिनामा ३ लाख २० हजार संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार देखि असोजसम्म पहिलो चरणमा गरेको कोरोना प्रक्षेपण सकिएको छ । यसबीचमा स्वास्थ्य मन्त्रालयले अनुमान गरेको प्रक्षेपणभन्दा ४९ हजार ८ सय १९ जना संक्रमित कम भएका छन् ।

मन्त्रालयले असोज ३० सम्म देशभर १ लाख ७९ हजार १ यस २३ केस पुग्ने अनुमान गरेको थियो । तर, मन्त्रालयले अनुमान गरेको अन्तिम दिन शनिबार १ लाख २९ हजार ३ सय ४ केस पुष्टि भएको छ ।

अनुमानभन्दा करिब ५० हजार केस कम हुनुको पछाडीबीचमा भएका लकडाउन र निषेधाज्ञाले काम गरेको मन्त्रालयका सरुवा रोग विज्ञ डा. गुणनिधी शर्मा बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले देशमा १० हजार सक्रिय केस पुगेदेखि धेरैपटक लकडाउन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । तर, सक्रिय केस ३८ हजार ७ सय ३७ पुग्दा पनि मन्त्रालयले पठाएका प्रस्तावलाई गम्भीरताका साथ नलिदा दिनहुँ जोखिम बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयले कार्तिक १ गतेबाट दोस्रो चरणको चार महिने प्रक्षेपण गरेको छ । कार्तिक देखि माघसम्ममा देशमा असाध्यै खराब(अहिलेको भन्दा पनि) अवस्था आएको खण्डमा ३ लाख २० हजार केस पुग्ने अनुमान गरेको छ । शनिबारसम्म देखिएका १ लाख २९ हजार ३ सय ४ केसलाई यहाँ समावेश गरिएको छैन । तर, हालकै अवस्था रहेमा भने १ लाख ४८ हजार केस थपिने अनुमान छ ।

मन्त्रालयका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयको निर्देशन र सल्लाह अनुसार सरकार अघि बढे १ लाख ४८ हजार केस पनि नथपिने दाबी गरेका छन् । मन्त्रालयका अनुसार दैनिक संक्रमितको अवस्था, परीक्षण, अन्य बिभिन्न देशको आधार र विश्वस्वास्थ्य संगठनको सफ्टवेर प्रयोग गरेर सो प्रक्षेपण गरिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा. बाबुराम मरासिनीले सरकारको यही कार्यशैलीले देशमा ७ लाखबढी संक्रमित पुग्न धेरै समय नलाग्ने बताए । उनले नेपालमाभन्दा पनि भारतबाट पीसीआर परीक्षण नै नगरी आउँनेहरुले जोखिम बढाएको बताए ।

‘नेपालको केस नियन्त्रणमा लिन १५ दिन मात्रै कर्फ्यु लगाए पुग्छ,’ डा मरासिनीले भने, ‘भारतबाट आउँनेहरुको पीसीआर रिपोर्ट अनिवार्य या प्रतिबन्ध नै लगाउनु पर्छ । अन्यथा, देशले आगामी दिनमा धेरै ठुलो विपती भोग्नुपर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ