२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११ नं. प्रदेशमा १०० शैय्याको विशिष्टीकृत कोभिड अस्पताल संचालनमा

१ नं. प्रदेशमा १०० शैय्याको विशिष्टीकृत कोभिड अस्पताल संचालनमा


विराटनगर—लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ सरकारले विस्तार गरिरहेको थप १ सय शैय्याको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडि उत्तरपट्टीको खाली संरचनामा विस्तारित कोभिड अस्पताल आइतबारदेखि सञ्चालनमा आएको हो ।

सो अस्पतालको उद्घाटन १ का मुख्यमन्त्री शेरधन राईले गरे । प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोड रूपैयाँ लगानीमा अस्पताल संचालनमा आएको हो । पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गइरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महसुस गर्दै आईसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नागरिक केयर सेन्टर कार्यकारिणी समितिका अध्यक्ष पवन शारडाले बताए ।

अस्पतालमा लक्षणसहितका संक्रमितहरुको उपचारका लागि ३५ वटा एच.डी.यु बेड, ६५ वटा जनरल आईसीयु बेड, ४ वटा क्यानुला सिस्टम, ८० वटा पेसन्ट मोनिटर, ७५ वटा फाइभ फङसन इलेक्ट्रीक बेड, ४ वटा इसीजी, ६ वटा पोर्टेबल भेन्टिलेटर र ३ वटा सक्सन मेसिनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारहरू जडान गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले तिहारसम्म अस्पताल सञ्चालनमा ल्याउने योजनाका साथ दशै अगावै कोभिड अस्पताल विस्तारको कार्य थालेको थियो । तर केही प्राविधिक समस्या र बीचमा आइपरेका चाडपर्वका कारण अस्पताल ढिलो सञ्चालनमा आएको हो । निर्माण थालेको ४० दिनपछि अस्पताल सञ्चालनमा आएको भएपनि यहाँबाट दुरुस्त सेवा प्रवाह हुने विषयमा दुईमत नरहेको प्रदेश सरकारको दाबी छ ।

यसबाहेक हालको कोभिड अस्पताल पछाडि दक्षिणपट्टीको खाली संरचनामा पनि थप १ सय शैय्याको कोभिड अस्पताल विस्तार गरिने योजना रहेको प्रदेश सरकारले जनाएको छ । स्वीस सरकारबाट ४ करोडको सहयोगमा दक्षिणतर्फको संरचनामा पनि थप १ सय शैय्याको कोभिड अस्पताल विस्तार गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘हामी सिभिल वर्कको कार्य अघि बढाउने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘यसमा चाहिने सम्पूर्ण स्वास्थ्य पूर्वाधारहरुको व्यवस्था संघीय सरकारले गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।’

हाल प्रदेश नं. १ मा २९ हजार बढी सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुको सफल उपचार प्रदेश सरकारका लागि चुनौतीको बिषय बन्दै गइरहेकाले निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल विस्तार गरिएको जनाइएको छ । कोरोना महामारी विरुद्धको लडाइमा प्रदेश सरकारले आफ्ना दायित्वहरु जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको प्रदेश सरकारका मुख्यमन्त्री राईले बताए । उनले कोरोना महामारी विरुद्धको खोप तयार भइसकेको हुनाले नेपालमा पनि सो खोप प्रयोगमा ल्याउन प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

हाल प्रदेश सरकारद्धारा सञ्चालित कोभिड अस्पताल २ सय बेड क्षमताको भएको छ । आगामी २ महिनाभित्र थप १ सय शैय्या विस्तार गरेर कुल ३ सय शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ