२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक अस्पतालका निर्देशक ओपीडीका बिरामी हेर्दैनन्, पैसा तिर्ने बिरामी छोड्दैनन्

मानसिक अस्पतालका निर्देशक ओपीडीका बिरामी हेर्दैनन्, पैसा तिर्ने बिरामी छोड्दैनन्


काठमाडौं– लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ (लाखे)ले पेइङ अर्थात पैसा तिर्ने बिरामीलाई मात्र हेर्ने गरेको पाइएको छ । अस्पतालका प्रमुख कन्सल्टेण्ट साइक्याट्रिक समेत रहेका डा. लाखेले विभिन्न बाहनामा ओपीडीका बिरामी नहेरी पैसा तिर्ने अर्थात पेइङका बिरामी हेर्ने गरेको पाइएको हो ।

मानसिक अस्पताल भित्र डा. लाखेको युनिट १ मा ओपीडी कक्ष छ । तर, उनलाई बिहानको ओपीडीमा कहिल्यै भेटिँदैन । बुधबार तीन बजेपछिको पेइङ ओपीडीमा मात्र बिरामीले उनलाई भेट्न पाउने अस्पताल स्रोतले जनाएको छ । मानसिक अस्पतालमा १२ बजेभन्दा अघि टिकट लिएका बिरामीले ४० रुपैयाँ तिरे पुग्छ यद्यपि त्यही बिरामीले तीन बजेपछिको पेइङ ओपीडीको टिकटलाई ४ सय रुपैयाँ तिर्नुपर्छ । यही ४ सय रुपैयाँ तिरेका बिरामीलाई मात्र डा. लाखेले जाँच्ने गरेको अस्पतालले जनाएको छ । यसबापत डा. लाखेले एउटा बिरामीबाट २ सय रुपैयाँ पाउँछन् ।

डा. लाखेले पनि पेइङ ओपीडीका बिरामीमात्र हेर्ने गरेको स्वीकार गरे । बिरामी हेर्ने मन हुँदाहुँदै पनि व्यवस्थापकीय जिम्मेवारी बहन गर्नुपर्ने भएकाले पेइङ ओपीडीका बिरामी हेर्न बाध्य भएको उनी बताउँछन् । ‘ओपीडीको समयमा मैले प्रशासनको काम गर्नुपर्ने भएकाले फूर्सद हुँदैन,’ हेल्थ आवाजसँग उनले भने, ‘बिहान ओपीडीमा बिरामी हेर्न मन हुँदाहुँदै पनि निर्देशक भएपछि समय अभावमा ओपीडीका बिरामी हेर्न पाएको छैन ।’

डा. लाखे निर्देशक भएसँगै यहाँको व्यवस्थापकीय पाटो फितलो भएको यहाँ भित्रका कर्मचारीहरुको गुनासो छ । उनी निर्देशक भएसँगै मानसिक अस्पतालद्वारा देशका विभिन्न जिल्लामा सुरु गरिएको स्याटलाइट क्लिनिक पनि बन्द भयो । नुवाकोट, दोलखा, धादिङ र सिन्धुपाल्चोकलगायतका ५ ठाउँमा सञ्चालन गरिएको स्याटलाइट क्लिनिक उनले नै बन्द गरेका हुन् ।

उक्त क्लिनिकमा महिनाको एक पटक मानसिक अस्पतालबाट मनोचिकित्सक जान्थे र त्यहाँ मानसिक रोगका बिरामीको उपचार गरेर फर्कन्थे । आन्तरिक स्रोतबाट यी क्लिनिकहरु सञ्चालन गरिएका थिए । आन्तरिक स्रोत कम हुँदै गएपछि स्याटेलाइट क्लिनिक बन्द गर्नुपरेको डा. लाखे बताउँछन् । ‘हामीले ती क्लिनिकहरु आन्तरिक स्रोतबाट चलाएका थियौं,’ उनले भने, ‘आन्तरिक स्रोत कम भएसँगै हामीले बन्द गरेका हौं । अब नुवाकोटको त्रिशुली अस्पतालबाट यो सेवा पुनः सुरु गर्दैैछौं ।’

अर्को कुरा यो अस्पतालमा १२ बजेसम्ममात्र ओपीडी चल्छ । १२ बजेपछि ओपीडी बन्द हुने भएकाले त्यसपछि आउने बिरामीले बढी शुल्क तिर्नुपर्छ । १२ बजे अघि आइपुग्ने बिरामीले ४० रुपैयाँमा टिकट पाउँछन् भने त्यसपछि आउने बिरामीले ४ सय रुपैयाँ तिर्नुपर्छ । सामान्य औषधिलाई निरन्तरता दिनका लागि चिकित्सकलाई भेट्न आएका बिरामीले पनि ४ सय रुपैयाँ तिर्नुपर्ने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. मोहनराज श्रेष्ठ (लाखे)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ