२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीलाई जोखिम भत्ताको रकमबाट नियमित तलब

स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको रकमबाट नियमित तलब


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन किस्ता गरेर कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार असोजसम्मको सबै रकम निकासा भइसकेको छ । कात्तिक र मंसिरको रकम वितरण गरिएको छैन । त्यसका लागि अर्थमन्त्रालय समक्ष माग गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले बताए ।

कोभिड अस्पतालले बिरामी भर्ना गरेको सूचीका आधारमा रकम पाउँछन् । सोही रकमबाट अस्पतालले पीपीई, किट खरिद गर्ने मात्र होइन्, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता पनि दिनु पर्छ । मन्त्रालयले केसअनुसारको रकम दिने भएकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने रकम नपुगेको अस्पतालहरुले बताएका छन् । सरकारले सामान्य संक्रमितलाई ३५ सय, लक्षणसहितका बिरामीलाई ७ हजार र आईसीयु तथा भेन्टिलेटरमा बसेका बिरामीलाई १५ हजारका दरले रकम पठाउने गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले मन्त्रालयले उपलब्ध गराएको साढे चार करोडले जोखिम भत्ता र अन्य तलबमा खर्च गरेको बताए । केस अनुसारको रकम मन्त्रालयले दिएकाले सबै कर्मचारीलाई भत्ता दिन समस्या छ । अस्पतालहरुले जोखिम भत्ता दिने भन्दा पनि संक्रमितको उपचारमा लागेको खर्चबाट बचेको रकमबाट सबैलाई नियमित तलब दिएको बताएका छन् ।

पाटन अस्पतालले पनि हालसम्म स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएको छैन । जोखिम भत्ताको अलावा सबै कर्मचारीलाई नियमित तलब दिइएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले असारसम्मको जोखिम भत्ता दिएको छ । तर, सतप्रतिशत दिएको छैन । परोपकार प्रसुती गृहले कात्तिकसम्मको रकम प्राप्त भएको बताएको छ । अस्पतालले जोखिम भत्ता भने तोकेअनुसार दिएको छैन । कुनै पनि कर्मचारीलाई मर्का नपर्ने गरी वितरण भएको अस्पतालले जनाएको छ ।

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रशासन प्रमुख रुपनारायण खतिवडाले नियमित जोखिम भत्ता उपलब्ध भएको बताए । ‘असोजसम्मको वितरण भएको छ,’ उनले भने, ‘कात्तिक र मंसिरको निकासा गरिएको छैन ।’

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार देशभर हालसम्म ७ हजार ६ सय ३३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ५ सय १५ डिस्चार्ज भएका छन् । अझै ११० जना उपचाररत छन् भने ८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९, #जोखिम भत्ता, #स्वास्थ्यकर्मी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ