२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआंशिक लकडाउन हुन सक्छ तर सिंगो देश तत्काल लकडाउन हुँदैनः सरकारका प्रवक्ता

आंशिक लकडाउन हुन सक्छ तर सिंगो देश तत्काल लकडाउन हुँदैनः सरकारका प्रवक्ता

कोरोनाको ट्रिपल म्युटेन्ट भेटिएको सरकारको आशंका


काठमाडौं—कोरोना दोस्रो लहर देशभर फैलिएरसँगै लकडाउन हुने चर्चा चलिरहेकै बेला सरकारका प्रवक्ताले तत्काल सिंगो देश लकडाउन नहुने बताएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवाददाताहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हटस्पटमा आंशिक लकडाउन हुन सक्ने बताए ।

उनले सरकारले अहिले सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गर्ने उल्लेख गरे । ‘तत्काल लकडाउन गर्दैनौं,’ ज्ञवालीले भने, ‘अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्यका मापदण्ड पालना गर्नुहोस भन्ने नै छ ।’

लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्ने भएपछि त्यो अन्तिम समाधान नभएको उनको तर्क थियो । ‘भर्खर-भर्खर अर्थतन्त्र तग्रिन लागेकाले, अर्थतन्त्र र मान्छेको जनजीविकामा प्रतिकूल प्रभाव नपरोस भन्ने सरकारको चाहना छ,’ उनले थपे ‘त्यसकारण हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’

शनिबार बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोभिड-१९ को अहिलेको अवस्थाका बारेमा समीक्षा भएको बताउँदैं उनले पछिल्लो समय कोभिड—१९ नयाँ भेरियन्ट देखिइरहेको जानकारी दिए । ‘केही डबल म्युटेन्ट देखिएका छन्,’ उनले भने, ‘त्रिपल म्युटेन्टको पनि आशंका गरिएको छ, यो असाध्यैं छिटो सर्छ ।’

प्रवक्ता ज्ञवालीले अहिले अस्पतालमा रहेका बिरामीमध्ये धेरैलाई अक्सिजनको सपोर्ट नचाहिएको बताउँदैं मुलुकले अहिलेको अवस्थालाई धान्ने बताए । ‘तर, समस्या यही रुपमा अगाडि बढ्दै गयो भने हामीलाइृ अझ गाह्रो पनि पर्न सक्छ,’ उनले भने, ‘त्यसकारण हिजोको बैठकबाट अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, रेम्डेसिभिरलगायतका अन्य लाइफ सेभिङ मेडिसिनलाई आयात गर्ने, खोपलाई विस्तार गर्ने निर्णय गरेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ