२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना

आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना


बुटवल—सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन प्लान्ट जडान गरिएको छ । रोटरी क्लब अफ बुटवलले ५५ लाख रुपैयाँको लगानीमा ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो ।

कोभिड–१९ को महामारीले केही समय पहिले रुपन्देहीलगायत देशभर अक्सिजन अभाव देखिएको थियो ।

कोभिड–१९ को तेस्रो सम्भावित तेस्रो लहरको चर्चा चलिरहेको र यसले सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड–१९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।

रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं । आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौं,’ श्रेष्ठले भने ।

अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लिला गिरीले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए । अक्सिजन प्लान्ट स्थापनाले अव अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पूर्ति गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दिगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।

कार्यक्रममा क्लबका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #अक्सिजन प्लान्ट, #आम्दा अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ