२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखाका दुई स्वास्थ्य संस्थाका पक्की भवन उद्घाटन

दोलखाका दुई स्वास्थ्य संस्थाका पक्की भवन उद्घाटन


चरिकोट—भूकम्प गएको ६ वर्षपछि दोलखाका दुई वटा पक्की स्वास्थ्य संस्थाको भवन उद्घाटन गरिएको छ । दोलखाको तामाकोशी गाउँपालिका— ६ र ७ का दुईवटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भएकाले उद्घाटन गरिएको हो ।

तामाकोशी गाउँपालिकाका हाँवा र च्यामा स्वास्थ्य चौकीको भवन गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उद्घाटन गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाको लगानीमा निर्माण कार्य सम्पन्न भएका थिए ।

अध्यक्ष पोखरलले पक्की भवनबाटै स्वास्थ्य सेवा प्रवाहका लागि नागरिकलाई सहज भएको बताए । यस पालिकामा केही स्वास्थ्य चौकीका भवनहरु निर्माण गर्न बाँकी रहेको पनि बताए । प्रायः अधिकांश स्वास्थ्य संस्था पक्की भवनमै रहेकाले स्वास्थ्य प्रवाहमा सजिलो भएको बताए ।

कोभिड—१९ को कारण अधिकांश भवनहरु समयमा सम्पन्न हुन सकेका थिएन । हाल निर्माण सम्पन्न भएका भवन दुई तलाका छन् । १० वटा कोठा रहेका भवनबाट स्थानीय स्वास्थ्य चौकीबाट प्रदान हुने सबै स्वास्थ्य सेवा सहज ढंगले प्रवाह गर्न सकिने तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए ।

यस चौकीबाट ओपिडी, औषधि वितरण कक्ष, भण्डार कक्ष, मातृशिशु तथा परिवार नियोजन कक्षलगायत स्टोर र कर्मचारी आवास गृहसमेत भवनमा रहनेछन् । भवन निर्माणको लागि प्राधिकरणको दुई करोड ९० लाख बजेट खर्च भएको भवन कार्यालय दोलखाको लेखा शाखाले जानकारी दिएको छ ।

प्राधिकरणले दोलखामा २१ स्वास्थ्य संस्थाको पक्की भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि नेपाल सरकार र भारतीय राजदूतावासले बजेट व्यवस्थापन गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ