२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा कोभिड-१९ संक्रमित बोक्न ४ एम्बुलेन्स तयारी अवस्थामा

दोलखामा कोभिड-१९ संक्रमित बोक्न ४ एम्बुलेन्स तयारी अवस्थामा


दोलखा-कोभिड-१९ बाट संक्रमित बिरामी बोक्न ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले डिसीसीएमसीको मातहत रहने गरी एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

दोलखामा पछिल्लो केहि दिनदेखि कोभिड १९ का बिरामी संख्यामा वृद्धि आएपछि अस्पताल ओसापसारको लागि ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने भएको हो । होम आइसोलेसनमा रहेका बिरामीलाई सुविधाजनक अस्पताल वा काठमाडौंमा लैजानको लागि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय भएको हो ।

तयारी अवस्थामा रहेको एम्बुलेन्सहरुमा च्छोरोल्पाको एम्बुलेन्स, दोलखा सामुदायिक अस्पतालका एम्बुलेन्स, विगु गाउँपालिकाका एम्बुलेन्स र गजेन्द्र स्मृति फाउण्डेशनका एम्बुलेन्स रहेका छन् । तयारी अवस्थामा रहेका एम्बुलेन्सहरु प्रहरी कन्ट्रोल १०० मा फोन गरी प्राप्त गर्न सकिने छ ।

एम्बुलेन्स चालकलाई पीपीईलगायत सबै व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउने निर्णय पनि डिसीसीएमसीको बैठकले निर्णय गरेको छ । चालकहरुलाई संयुक्त कोषबाट व्यहोर्ने गरी बिहान बेलुकीको खाना, बस्न, काठमाडौ गएको प्रतिटिप एक हजार रुपैयाँ र जिल्लाभित्र नै ओसार पसार गरेमा पाँच सय रुपैयाँ दिने निर्णय गरेको छ ।

कोभिड-१९ को संक्रमित तथा अन्य बिरामी समेतलाई बोक्न एम्बुलेन्स चालकले इन्कार गरेमा वा ढिलासुस्ती गरेमा कानुन बमोजिम कारवार्ही गर्ने र त्यस्ता एम्बुलेन्सलाई जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको नियन्त्रणमा ल्याउने र एम्बुलेन्सको दर्ता खारेजीसम्मको कारवार्ही गर्ने डिसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । साथै उनले जिल्लामा अक्सिजनको कमी हुन नदिन जिल्लास्थित सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा राख्नको लागि पनि आग्रह गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ