२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डी अस्पतालमा पुनः ‘भारतीय व्यवस्थापन’, सञ्चालक समितिमा कहिले होला रुपज्योति र महतोको ‘इन्ट्री’

ग्राण्डी अस्पतालमा पुनः ‘भारतीय व्यवस्थापन’, सञ्चालक समितिमा कहिले होला रुपज्योति र महतोको ‘इन्ट्री’

डा. चक्रराजको भूमिका सेरमोनियल मात्रै


काठमाडौं—धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवनमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आन्तरिक व्यवस्थापन ठूलो परिवर्तन गरिएको छ । देशकै कर्पोरेट हेल्थ सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डीमा बाहिर रहेका दुई प्रमुख सेयरहोल्डरको सञ्चालक समितिमा प्रभाव बढेसँगै अस्पतालको आन्तरिक व्यवस्थापन जिम्मा भारतीय समूह ‘लसान्ते’ले सम्हाल्न थालेको हो ।

यसअघि ग्राण्डी २५/२५ प्रतिशत लगानी रहेका मुख्य दुई प्रमुख लगानीकर्ता डा. रुपज्योती र डा. उपेन्द्र महतो लामो समयदेखि बाहिरै रहेर ग्राण्डी सञ्चालन भइरहेको थियो । अहिले अस्पतालको सञ्चालक समितिको अध्यक्ष ई. दिपक कुँवर छन् भने अस्पताल मेडिकल निर्देशक डा. चक्रराज पाण्डे छन् । अस्पताल निरन्तर घाटामा गएपछि सञ्चालकहरुबीच विवाद चुलिएको थियो । जसका कारण गत वार्षिकोत्सवमा अस्पतालको सञ्चालक समितिका अध्यक्ष ईं कुँवरले मेडिकल निर्देशक डा. पाण्डेको चर्को आलोचना गरेका थिए । ग्राण्डीको सञ्चालक समितिलाई व्यवस्थापनमा परिवर्तन गर्नुपर्ने चुनौती बढेको थियो ।

यतिकैमा डा. रुपज्योतिको ग्राण्डी सञ्चालकमा पुनः इन्ट्री हुने निश्चित भएसँगै अस्पतालको तीन महिनाअघि आन्तरिक व्यवस्थापन परिवर्तन गरिएको हो । ग्राण्डीको प्रमुख कार्यकारी अधिकृतमा भारतीय चिकित्सक डा. अशोक वर्द्धधनलाई ल्याइएको छ भने सिओओमा भारतीय नागरिक अमृत खन्नालाई जिम्मेवारी दिइएको छ । यस्तै, अस्पतालको प्रभावशाली कार्यकारी भूमिकामा भारतीय चिकित्सक डा. नोनिका गोयल आएकी छन् ।

अस्पतालको झण्डै २५ प्रतिशत शेयर होल्डर रहेका डा. रुपज्योतिले अस्पतालको व्यवस्थापनमा भारतीय समूह ल्याइएको पुष्टि गरे । ‘तीन वर्ष अगाडि व्यवस्थापन सम्हालिरहेको भारतीय समूह लसान्ते पुनः ग्राण्डीको व्यवस्थापनमा आएको छ,’ डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘तीन वर्षअघि यो व्यवस्थापनले अस्पताललाई फाइदामा पु¥याएको थियो । अहिले पुनः त्यही समूहलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।’

भारतीय टोली अस्पतालको आन्तरिक व्यवस्थापनमा आएसँगै अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा. चक्रराज पाण्डेको भूमिका कमजोर बनाइएको छ । ‘उहाँको भूमिका अहिले नाममात्रै मेडिकल निर्देशक हो,’ ग्राण्डी व्यवस्थापन स्रोतले भन्यो, ‘अस्पतालको आन्तरिक व्यवस्थापनको सबै जिम्मेवारी भारतीय टिमले हेर्दै आएको छ ।’ ग्राण्डी स्रोतकाअनुसार डा. पाण्डेको भूमिका अहिले सेरमोनियलजस्तै छ ।

तीन वर्षअघि पनि यही समूहले ग्राण्डीको व्यवस्थापन हेरेको थियो । तर, बीचमा यो समूह बाहिरिएको थियो । त्यहाँबाट बाहिरिएपछि लसान्ते समूहले केही समय ज्योति समूहको एकल स्वामित्व रहेको ग्राण्डी सिटी हस्पिटलको व्यवस्थापन सम्हालेको थियो ।

डा. रुपज्योतिले अहिले नै आफूहरुको सञ्चालक समितिमा इन्ट्री भने नहुने बताए । ‘अहिलेको सञ्चालक समितिको कार्यकाल अझै बाँकी छ,’ उनले भने, ‘अहिले नै हामी सञ्चालक समितिमा जाने कुरा हुँदैन ।’ उनले अहिलेको सञ्चालक समितिले नै अस्पताललाई नाफामा लैजानका लागि नयाँ व्यवस्थापन ल्याएको उल्लेख गरे ।

डा. रुपज्योति र डा. महतोको ग्राण्डीको सञ्चालक समितिमा इन्ट्री सम्भवतः अहिलेको सञ्चालक समितिको कार्यकाल सकिएपछि हुनेछ ।

अस्पतालको कुल सेयरको लगानीका आधारमा झण्डै २५ प्रतिशत ज्योति समूह, २५ प्रतिशत डा. महतो र अहिलेको सञ्चालक समिति र अन्य ११७ जना सेयर होल्डरको ५० प्रतिशत सेयर हुन जान्छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. उपेन्द्र महतो, #डा. चक्रराज पाण्डे, #डा. नोनिका गोयल, #डा. रुपज्योती


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ