२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त हुँदैं विवादमा तानिएका उमेश श्रेष्ठको पहिलो गाँसमै ढुंगा लागेको छ । सोमबार पत्रकार सम्मेलन गरी १ सय दिनका महत्वकांक्षी कार्ययोजना सुनाएर कार्यकक्ष पसेको केही क्षणमै उनले स्वास्थ्य मन्त्रालयअन्तर्गतका तीन महत्वपूर्ण निकायका सहसचिव (११ औं) तहको सरुवा गरेका थिए ।

तर, सरुवा गरेको कागजमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदैं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यमन्त्री तहबाट सरुवा हुन नसक्ने भन्दैं अंकुश लगाइदिए । राज्यमन्त्री श्रेष्ठले युनिफाइड कमाण्ड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारी रुपमा सरुवा गरेका डा. रूद्र मरासिनीलाई पठाएका थिए ।

त्यसैगरी, सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई मन्त्रालयको महत्वपूर्ण महाशाखा समन्वय महाशाखाको प्रमुखमा ल्याएका थिए भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दैं आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रसुती गृह फर्काइएको थियो ।

तर, स्वास्थ्य उपल्लो निकायमा भएका यी हेरफेर केही घण्टामै स्थगनमा परेका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतकाअनुसार ११ औं तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दैं तत्काल निर्णय सच्चाउनका लागि राज्यमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन् ।

राज्यमन्त्री श्रेष्ठले गरेको निर्णयलाई आफूले पुनरावलोकन गरेर कानुनी प्रक्रियासमेत अध्ययन गरेर निर्णय गर्ने जानकारी मन्त्रालयलाई आएको हुँदा तत्काल हिजो भएका निर्णयहरु कार्यन्वयनमा जान नसकेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए ।

‘सहसचिवहरुको सरुवा राज्यमन्त्री तहबाट हुने नहुने स्पष्ट नभएको हुँदा प्रधानमन्त्रीले सामान्य चासो राख्नु भएको हो,’ डा. पोखरेलले भने, ‘प्रक्रियागत कुरा हेरेर केही समयमै यो विषय टुंगो लाग्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #डा. रूद्र मरासिनी, #डा. रोशन पोखरेल, #डा. विवेकलाल कर्ण, #प्रा.डा. जागेश्वर गौतम, #शेरबहादुर देउवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ