२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११ सिनियरलाई पन्छाउँदैं ७७ दिनका लागि कसरी निमित्त महानिर्देशक बने डा. बिच्छा ?

११ सिनियरलाई पन्छाउँदैं ७७ दिनका लागि कसरी निमित्त महानिर्देशक बने डा. बिच्छा ?

राजनीतिक नेतृत्वलाई रिझाउँदैं सधैं पावरमा


काठमाडौं—कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा परेका छन् । सबै राजनीतिक दलका नेतालाई रिझाउन सिपालु उनी जागिरको उत्तराद्र्धमा आफूभन्दा सिनियर ११ जनालाई पछार्दै शक्तिशाली विभागको निमित्त महानिर्देशक बन्न सफल भएका हुन् ।

१२ औं तहको प्रमुख विशेषज्ञ महानिर्देशक हुने संगठन संरचना रहेको स्वास्थ्य सेवा विभागमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासँगको निकट सम्बन्धका कारण उनी निमित्त महानिर्देशक बनेका हुन् । डा. बिच्छा निमित्त महानिर्देशक बन्दा १२ औं तहका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई हटाएर उनी आउन सफल भएका हुन् ।

महिला स्वास्थ्यका विषयमा वकालत गर्ने संस्थाको नेतृत्व गर्दै आएकी डा. आरजुसँग डा. बिच्छा परिवार स्वास्थ्य महाशाखामा हुँदा निकट पुगेका हुन् । प्रजनन स्वास्थ्य ऐनको परिकल्पनाको एक मुख्य हिस्सेदार रहेकी डा. राणालाई उनको परिकल्पनाअनुसार ऐनको मस्यौदा तयार गर्न निर्देशकको हैशियतमा डा. बिच्छाले सहयोग गरेर खुसी पारेका थिए ।

डा. बिच्छा उमेर हदका कारण आगामी ६ कार्तिकमा अनिवार्य अवकास पाउँदैछन् । वि.सं. २०१८ सालमा जन्मेका डा. बिच्छा २०४८ सालमा स्वास्व्थ्य सेवा प्रवेश गरेका हुन् । ११ चैत्र २०७० मा उनी ११ औं तहमा बढुवा भएका हुन् । ११ औं तहमा बढुवा हुँदा उनीभन्दा सिनियर डा. भिमसिंह टिंकरी, डा. गुणराज लोहनी, डा. तारानाथ पोखरेल, डा. तारानाथ पौडेल, सुनिलराज शर्मा, डा. कृष्ण पौडेल, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, डा. संगीता कौशल मिश्रा, डा. श्यामसुन्दर यादव र डा. श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

त्यसो १० औं तहमै भएका बेला स्वास्थ्य सेवाका ३ सय बढी ११ औं तहका सिनियर हुँदाहुँदै उनले तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई रिझाएर बाल स्वास्थ्य महाशाखाको निमित्त निर्देशक हत्याएका थिए । बाल स्वास्थ्यको निर्देशकबाट हटेसँगै उनी कान्ति अस्पतालको निर्देशक भए ।

स्वास्थ्य मन्त्रीमा खगराज अधिकारी आएसँगै कान्ति अस्पतालमा केही समय निर्देशकबाट हटेका थिए । पछि रामजनम चौधरी स्वास्थ्य मन्त्री भएर आएसँगै उनी पुनः स्वास्थ्य सेवा विभागको हातामा छिरे । त्यसपटक भने उनी परिवार स्वास्थ्य महाशाखाको निर्देशकको रुपमा भित्रिएका थिए । डा. बिच्छा परिवार स्वास्थ्य महाशाखाको निर्देशक भएकै बखत परिवार स्वास्थ्य महाशाखा र वाल कल्याण महशाखा मिलेर परिवार कल्याण महाशाखामा परिणत भयो । त्यसबेला गगन थापा स्वास्थ्य मन्त्री थिए । थापाको रोजाइमा पनि डा. बिच्छा नै परे । उनी निर्देशक भएको केही महिनामै कर्मचारीहरुले विरोध गरेपछि उनलाई बाध्य भएर थापाले कान्ति बाल अस्पतालमा काज फिर्ता गरिदिएका थिए ।

उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री भएर आएपछि डा. बिच्छालाई क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको रुपमा ल्याए । झण्डै डेढ वर्ष त्यहाँको निर्देशक भएका उनलाई भानुभक्त ढकालले कान्ति नै पठाइदिए । भानुभक्त परिवर्तन भएर हृद्धयेस त्रिपाठी स्वास्थ्य मन्त्री भएपछि उनी कान्तिका तत्कालीन कार्यकारी निर्देशक डा. कृष्ण पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाएर आफू निर्देशक भए । कान्तिमा निर्देशक भएको एक वर्ष पनि नबित्दै उनले राजनीतिक सिक्वेन्स मिलाएर स्वास्थ्य सेवाको निमित्त महानिर्देशक हुन सफल भए ।


क्याटेगोरी : समाचार
ट्याग : #खगराज अधिकारी, #गगन थापा, #गिरिराजमणि पोखरेल, #डा. आरजु राणा देउवा, #डा. आरपी बिच्छा, #निमित्त महानिर्देशक, #बाल रोग विशेषज्ञ, #रामजनम चौधरी, #स्वास्थ्य सेवा विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ