२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमै फोक्सो र मुटु प्रत्यारोपणका लागि बाटो खुल्यो, कसले गर्न सक्छ प्रत्यारोपण ?

नेपालमै फोक्सो र मुटु प्रत्यारोपणका लागि बाटो खुल्यो, कसले गर्न सक्छ प्रत्यारोपण ?


काठमाडौं—नेपालमा अब फोक्सो र मुटु प्रत्यारोपणका लागि बाटो खुलेको छ । सरकारले मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धि नियमावली, २०७३ लाई अनुसूची ६ र १६ संशोधन गर्दै फोक्सो र मुटु प्रत्यारोपण गर्न सक्ने कानुनी प्रबन्ध गरेको हो ।

यसअघिका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै नियमावलीको अनुसूची संशोधन गरेर फोक्सो र मुटु प्रत्यारोपण गर्ने बाटो खुला गरेका हुन् । सरकारले एक वर्ष अघिदेखि नै नियमावलीको अनुसूची परिवर्तनको प्रक्रियाका लागि गृहकार्य सुरु गरेतापनि एक महिनाअघि मात्रै संशोधन भएको स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतले बताए । ‘नियमावलीको अनुसूची परिवर्तनको प्रक्रिया एक वर्षअघि नै सुरु भएको हो,’ उनले भने, ‘यसअघिका मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अनुसूची संशोधन गरिएको हो ।’

बस्नेतले ऐनले नियमावलीका अनुसूची परिवर्तन मन्त्रीस्तरीय निर्णयबाटै गर्न सक्ने अधिकार दिएको बताए । अनुसूची परिवर्तन गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट फोक्सो र मुटु प्रत्यारोपणको बाटो खोलिएको जानकारी दिए । ‘यसअघि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपणको लागि मात्र बाटो खोलिएको थियो,’ उनले भने, ‘अब फोक्सो र मुटु प्रत्यारोपणको बाटो पनि कानुनी रुपमा खुला भएको छ ।’

यसअघि मानव शरीर अंग प्रत्यारोपण ऐनलाई कार्यन्वयन गर्न बनेको नियमावलीले मिर्गौला र कलेजो प्रत्यारोपणको लागि मात्र कानुनी मापदण्ड तयार गरेको थियो । तर, १८ साउनमा राजपत्रमा प्रकाशित गरिएको संशोधित नियमावलीमा मस्तिष्क मृत्यु भएका व्यक्तिहरुबाट फोक्सो र मुटु प्रत्यारोपणका लागि आवश्यक प्रत्यारोपण सर्जन र प्रत्यारोपण फिजिसियनको योग्यता समेत तोकेको छ ।

मिर्गौला  तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ अंग प्रत्यारोपण सम्बन्धि कानुन उत्कृष्ट बनाएका कारण सबै खालका अंग प्रत्यारोपणका लागि सहज भएको बताउँछन् । ‘ऐनले दीर्घकालीन लक्ष्य हेरेर बनाइएको हुँदा कुनै पनि अंग प्रत्यारोपणका लागि फेरि संसद पुगिरहनुपर्ने अवस्था छैन्,’ उनी भन्छन्, ‘प्रविधीको विकास गर्न सके हामी जटिलभन्दा जटिल प्रत्यारोपण पनि गर्न सक्छौं ।’

त्यसैगरी, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट फोक्सो र मुटु लिइने व्यक्तिको प्राथमिकीकरण पनि गरेको छ ।

फोक्सो र मुटु प्रत्यारोपण प्राथमिकतामा को पर्छन ?

मुटु प्रत्यारोपण प्राथमिकीकरणको आधारका रुपमा सम्बन्धित विशेषज्ञबाट बिरामी मुटु रोगको अन्तिम स्थितीमा पुगेको र अन्य कुनै वैकल्पिक उपचार छैन भन्ने प्रमाणित भएमामात्रै मुटु प्रत्यारोपणका गर्न चाहने व्यक्ति प्रतिक्षा सूचीमा रहनेछन् ।

मुटु प्रत्यारोपणका आधार, मापदण्ड तथा प्राथमिकतामा एक वर्षभन्दा माथिका बालरोगी हुनुपर्ने, दाताको वजनभन्दा ग्रहण गर्ने व्यक्तिको वजन २० प्रतिशतसम्म मात्र घटी वा बढी हुनुपर्ने तर बालरोगको अवस्थामा भने दाता र ग्रहण गर्ने व्यक्तिको उमेरका कारण वजन फरक भएपनि प्रत्यारोपण गर्न सकिने व्यवस्था छ । यस्तै, ग्रहण गर्ने व्यक्तिले प्रतीक्षा गरेको समय, स्रोत साधनको व्यवस्थापन गर्न सक्ने र टिस्यु क्रसम्याच विधि अनुकूलता भएको हुनुपर्नेछ ।

त्यसैगरी, फोक्सो प्रत्यारोपणका लागि फोक्सो रोगको अन्तिम अवस्थामा पुगेको र अन्य कुनै वैकल्पिक उपचार सम्भव नभएको र प्रतीक्षा सूचीमा रहेको व्यक्ति हुनुपर्नेछ । यसको वितरणका आधार, मापदण्ड र प्राथमिकतामा प्रारम्भिक छनोट प्रक्रिया पूरा गर्नुपर्नेछ । जसमा रोगको जटिलता तथा स्वास्थ्य संस्थामा उपलब्ध सेवा सुविधा, प्रत्यारोपणको दीर्घकालीन असर तथा दाता र ग्रहणकर्ता सि.एम.भी स्थिती र ग्रहणकर्ताको प्रतीक्षा गरेको समय हेर्नुपर्नेछ । यस्तै, फोक्सो विनियोजन र विभाजनको मापदण्डमा एबीओ रक्त समूहको जोडी र अनुकूलता, छातीको एक्सरेको नापको अनुकूलता र फोक्सोको कुल क्षमता र टिस्यु क्रसम्याच विधी अनुकूलता हेरिनेछ ।

कसले गर्न सक्छन् मुटु र फोक्सो प्रत्यारोपण ?

मुटु र फोक्सो प्रत्यारोपणका लागि मुटु वा फोक्सो प्रत्यारोपण शल्यचिकित्सक र मुटु वा फोक्सो प्रत्यारोपण फिजिसियन हुनुपर्नेछ । नियमावलीमा उनीहरुको योग्यता समेत स्पष्ट गरिएको छ ।

शल्य चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जनरल सर्जरीमा स्नातकोत्तर गरी मुटु प्रत्यारोपण वा कार्डियोथोरासिक वा भास्कुल सर्जरी विषयमा एमसीएच वा सो सरह उपाधि प्राप्त गरी वार्षिक न्यूनतम एक सय वटा मुटुको शल्यक्रिया हुने अस्पतालमा कम्तिमा दुई वर्ष टोली सक्रिय सदस्य रही कार्यअनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट मुटु प्रत्यारोपण वा कार्डियोथोरासिक वा भास्कुलर वा जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी वार्षिक न्यूनतम १ सय वटा मुटुको शल्यक्रिया हुने अस्पतालमा कम्तिमा ३ वर्ष टोलीको सक्रिय सदस्य रही कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको हुनुपर्नेछ ।

प्रत्यारोपण फिजिसियनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्टर मेडिसिनमा स्नातकोत्तर गरी कार्डियोलोजी विषयमा डिएम वा सो सरह उपाधि प्राप्त गरी निरन्तर वार्षिक २५ वटा अंग प्रत्यारोपण हुने केन्द्रमा प्रत्यारोपण टोलीको सक्रिय सदस्यका रुपमा कम्तिमा एक वर्षको कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ दर्ता भएको हुनुपर्नेछ । वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कार्डियोलोजी वा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम २५ वटा अंग प्रत्यारोपण हुने केन्द्रमा प्रत्यारोपण टोलीको सक्रिय सदस्यका रुपमा कम्तिमा ३ वर्षको कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको हुनुपर्ने उल्लेख छ ।

नेपाल राजपत्र


क्याटेगोरी : समाचार
ट्याग : #कृष्णगोपाल श्रेष्ठ, #फोक्सो र मुटु प्रत्यारोपण, #मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धि नियमावली


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)