२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन हजार बढी भारतीय व्यापारी नेपालमा आएर भेरोसेल खोप लगाएको खुलासा

तीन हजार बढी भारतीय व्यापारी नेपालमा आएर भेरोसेल खोप लगाएको खुलासा

खोप लगाउन तीन वटा फ्लाइट चार्टर गरेरै नेपाल आएका थिए


काठमाडौं—तीन हजार भारतीय व्यापारीले नेपालमा आएर कोभिड-१९ विरुद्धको खोप भेरोसेल लगाएको खुलासा भएको छ । जसमध्ये चीनमा बस्ने केही भारतीय ब्यापारीहरु ‘इयर बबल’ मोडेलमार्फत तीन फ्लाइटमा नेपाल आएर भेरोसेल खोप लगाएका थिए ।

अन्य विभिन्न उडान तथा सडकमार्गमार्फत नेपाल आएर भेरोसेल खोप लगाएका थिए । नेपालमै कोभिड-१९ को खोप हाहाकार रहेको र कोभिड—१९ संक्रमण उच्च विन्दुमा रहेका बेला चीन सरकारले अनुदानमा दिएको खोपको चरम दुरुपयोग गरेर भारतीयलाई दिइएको हो । गत १२ जेठमा चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोजमध्ये झण्डै ३ हजार डोज भारतीयलाई लगाइएको स्रोतको दावी छ ।

भारतीय व्यापारीहरुलाई खोप लगाउनका लागि काठमाडाैंस्थित विभिन्न होटेलहरुमा व्यवस्थापन गरिएको पाइएको स्वास्थ्य सेवा विभाग स्रोतले जानकारी दिएको छ । यी तीन फ्लाइटबाहेक अन्य फ्लाइटबाटमार्फत पनि भारतीय व्यापारीहरु नेपालमा आएर गोप्य रुपमा खोप लगाएर फर्किएका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुकाअनुसार उनीहरुलाई काठमाडौंका खोप केन्द्रहरुमा ५०/६० जनाको दरले खोप लगाइएको थियो । सो समयमा नेपालमा कोभिड—१९ संक्रमण उकालो लाग्दो क्रममा थियो भने संक्रमण जोखिम मध्यनजर गर्दै देश बन्दाबन्दीको अवस्थामा थियो ।

स्रोतका अनुसार तीन वटा फ्लाइटबाट झण्डै एक हजार र अन्य छुट्टाछुट्टै फ्लाइटबाट विभिन्न समयमा गरी थप दुई हजार बढी भारतीय नागरिकले नेपाल आएर खोप लगाएका थिए । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘चीनमा बस्ने इण्डियनहरुले अवैधानिक रुपमा भेरोसेल खोप नेपालमा आएर लगाए । एकैपटक झण्डै एक हजार भारतीय नागरिकले भेरोसेल खोप लगाएको अनुमान छ ।’

एकैपटक त्यति ठूलो मात्रामा भारतीय नागरिक आएर खोप लगाएको विषयमा स्वास्थ्यका अधिकारीहरुले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीलाई जानकारी गराएका थिए । तर, उनले भारतले १० लाख अनुदानमा कोभिसिल्ड दिएको २० लाख खरिद प्रक्रियाको खोपमा १० लाख आएको र थप १० लाख पनि आउने चरणमा रहेको हुँदा अलिअलि भारतीय नागरिकहरुले लगाउँदैमा केही नबिग्रने भन्दै सम्म्झाएर पठाएका थिए ।

‘हामीले भारतबाट त्यत्रो सहयोग पाएका छौं,’ त्रिपाठीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ‘अलिअलि उताका यता आएर लाउछन्, यताका उता गएर लाउछन् त्यसलाई सामान्य लनुपर्छ ।’

भारतीय नागरिकले भेरोसेल खोप लगाएको विषयमा तत्कालीन मन्त्री हृदयेस त्रिपाठीसँग जिज्ञासा राख्दा उनले करिव ३ हजार जति चीनमा व्यापार गर्ने भारतीय नागरिकले नेपालमा भेरोसेल खोप लगाएको अनौपचारिक सूचना आफूले पाएको बताए । उनले तराई क्षेत्रका ११ हजार बढी नेपालीले भारत गएर खोप लगाएको सूचना आफूले पाएको दावी गरे । ‘हाम्रो बोर्डर साइडका ११ हजार जतिले उता गएर खोप लगाएको अनुमान छ,’ त्रिपाठीले भने ‘भारतका चीनमा व्यापार गर्ने ३ हजार भारतीयले नेपालीमा आएर खोप लागाएको अनुमान छ ।’

रमाइलो त के छ भने पूर्व योजनाअनुसार चीनमा व्यापार गर्ने तीन हजार भारतीय नागरिकलाई भेरोसेल खोप लगाइसकेपछि सरकारले कम्तिमा ६ महिनादेखि नेपाल बसेको र थप ६ महिना बस्ने ग्यारेन्टी भएको विदेशीलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।

विभाग स्रोतकाअनुसार सेना, प्रहरी, सशस्त्र अस्पतालका खोप केन्द्रमा धेरै भारतीय नागरिकले खोप लगाएका थिए । कतिपयलाई भने बसेकै होटलमा लगेर पनि खोप लगाइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९, #भारतीय व्यापारी, #भेरोसेल, #स्वास्थ्य सेवा विभाग, #हृदयेस त्रिपाठी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ