२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. वासुदेव जापानको नागासाकी विश्वविद्यालयमा माेलिकुलर इपिडिमियाेलाेजी प्रोफेसर नियुक्त

डा. वासुदेव जापानको नागासाकी विश्वविद्यालयमा माेलिकुलर इपिडिमियाेलाेजी प्रोफेसर नियुक्त


काठमाडौं—नेपालका वरिष्ठ भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेलाई जापानको विश्व प्रसिद्ध विश्वविद्यालय नागासाकी विश्वविद्यालयको माेलिकुलर इपिडिमियाेलाेजी डिपार्टमेन्टमा प्रोफेसर नियुक्त भएका छन् । उनलाई विश्वविद्यालयले प्रोफेसरसँगै एसियाको एर्वोभाइरसको प्याथोजेनिसस सर्कुलेसन कार्यक्रमको नेतृत्व गर्ने गरी नियुक्ति दिएको हो ।

डा. पाण्डे २७ सेप्टेम्बरबाट विश्वविद्यालयमा हाजिर हुँदैछन् । उनलाई विश्वविद्यालयले २ वर्षका लागि प्रोफेसरमा नियुक्त गरेको हो ।

लामो समय नेपाल सरकारका विभिन्न पदमा बसेर काम गरेका उनी केही महिना अघिमात्र उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

जापानी विश्वविद्यालयले प्रोफेसरमा नियुक्त गरेसँगै डा. पाण्डे एक हप्ता अघि टोकियो पुगेका छन् । ‘अहिले यहाँको नियमअनुसार क्वारेन्टाइनमा छु,’ उनले हेल्थ आवाजसँग भने, ‘१८ दिनको क्वारेन्टाइनपछि नागासाकी जान्छु र विश्वविद्यालयमा काम सम्हाल्छु ।’

डा. पाण्डेले जापानबाटै भाइरोलोजीमा पिएचडी गरेका हुन् । यसअघि सोही विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रुपमा काम गरिरहेका थिए ।

विभिन्न अनुसन्धानमा समेत संलग्न पाण्डेले यसै वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुसन्धानतर्फको लाइभ टाइम अचिभमेन्ट अवार्ड पाएका थिए । कोभिड—१९ को पहिलो लहरका बेला उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख थिए । केही समयपछि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुख भएर एक वर्षभन्दा बढी काम गरे ।

नेपालमा डेंगु भाइरसको विस्तृत अध्ययन गर्ने अनुसन्धानकर्ताका रुपमा उनलाई चिनिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. वासुदेव पाण्डे, #नागासाकी विश्वविद्यालय, #प्रोफेसर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ