२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमणको त्रासकैबीच खुले विद्यालय

कोभिड संक्रमणको त्रासकैबीच खुले विद्यालय


जुम्ला – लामो समयपछि विद्यार्थीले भौतिक रुपमा उपस्थिति भएर अध्ययन अध्यापन हुने गरी विद्यालय खुलेका छन् । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि जुम्लामा विद्यालय खुलेका हुन् ।

अहिले यहाँका सबै विद्यालय खुलेर पठनपाठन नियमित भइसकेको छ । झण्डै डेढ वर्षदेखि बन्द यहाँका विद्यालय खुलेका हुन् । तर, कोरोना संक्रमणको त्रास भने हटेको छैन । स्थानीय ओमबहादुर थापा विद्यालय खुलेपछि विद्यार्थीलाई निकै राहत भएको बताउँछन् ।

‘विद्यालय बन्द हुँदा घरमा पठनपाठनको वातावरण थिएन । अनलाइन कक्षा सबैको पहुँचमा छैन । किताब कापी झोलामा थन्काएर घरायसी काममा खटिएका विद्यार्थीको भविष्य उज्जवल हुने संभावना बढेर आएको छ,’उनले भने, ‘
कोभिड पहिलो लहरमा त्रासकाबीच विद्यालय खुल्न सकेनन् । दोस्रो लहरमा संक्रमितको मृत्यु हुन थाल्यो । संक्रमितको संख्या बढ्यो । विद्यालय ठप्प भए । बालबालिका सबैभन्दा जोखिम देखिन थालेपछि शैक्षिक क्षेत्र निकै प्रभावित हुन पुग्यो ।’

जुम्लाका केही स्थानीय तहले एक साता अघि देखि विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । केहीले सोमबार देखि सञ्चालनमा ल्याएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाँई विद्यालय खुलाउनको लागि स्थानीय तहलाई जिम्मेवारी रहेको बताउँछन् ।

कोभिड-१९ संकट व्यवस्थापन समितिले विद्यालय खुलाउने विषयमा कुनै निर्णय गरेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले भने, ‘मापदण्ड बनाएर विद्यालय खुलाउनको लागि स्थानीय तहलाई भनिएको छ । स्थानीय तहले आफ्नो अनुकुलता अनुसार विद्यालय खुलाउदै गएका छन् । बैठक भदौ ३० गते बसेको थियो । बैठकले स्मार्ट लकडाउन निर्देशिकका २०७८ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने गरि स्थानीय तहलाई जिम्मेवारी दिइएको थियो ।’

‘कोरोनाको त्रास कायमै छ । केही विद्यालय मापदण्ड पुरा नगरेर खुलेका छन् । सरकारले पनि लुज गरिरहेको छ । खेलकुदका कार्यक्रम भइरहेका छन् ।

‘शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारी जुम्लाका सबै विद्यालय खुलेर नियमित पठनपाठन भइरहेको बताउँछन्, ‘उनले भने, ‘विद्यालय खुलाउन डिसीसीएमसीले पालिकालाई अधिकार दियो । स्वास्थ्य मापदण्ड अपनाएर खुलिरहेका छन् ।’

जुम्लामा १ सय ७० सामुदायिक विद्यालय छन् । कोभिड संक्रमणका कारण निरन्तर डेढ वर्ष विद्यालय बन्द रहे । विद्यालय स्वास्थ्य मापदण्ड पुरा गर्ने हो भने असुरक्षित छैनन् । इकाइ प्रमुख भण्डारीले भने,‘गाउँमा जात्रा चलिरहेका छन् । सदरमुकाम क्षेत्रमा राजनैतिक सभा समारोह भइरहेका छन् ।

गाउँका मन्दिरमा भिडभाड गरेर पुजा आजा भइरहेको छ । यो अवस्थामा विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने अवस्था रहेन । उनले विद्यालयमा जोखिम देखिने वित्तिकै पालिकाको सिफारीसमा बन्द गराउन सकिने अवस्था रहने बताए । जुन विद्यालयमा संक्रमण देखियो त्यो विद्यालय बन्द गराउन सकिन्छ। तर अन्य विद्यालय बन्द गराउनु पर्ने आवश्यक छैन। स्मार्ट लकडाउने स्थानीय तहलाई बढि जिम्मेवार बनाएको छ ।

प्रमुख भण्डारीले भने, ‘विद्यालय किताब पुगिसकेका छन् । असारमै पाठ्यपुस्तकको रकम हालिसकेको हो । पालिकाले निकासा दिइसकेका छन् । विद्यालय नियमित खुल्न सकेको खण्डमा पठपाठन सहज हुने देखिन्छ ।’

दुई सिफ्टमा पठनपाठन

जुम्लाको चन्ददनाथ माध्यमिक विद्यालयले दुई सिफ्टमा पठनपाठन शुरु गरेको छ । सबै विद्यार्थीलाई एकै पटक विद्यालय ल्याउँदा जोखिम हुने भएकोले दुइ सिफ्टमा बाँडिएको हो । पहिलो सिफ्ट अंग्रेजी माध्यम सबै र नेपाली माध्यमको कक्ष ९ र १० का विद्यार्थीको पठनपाठन हुनेछ ।

यो सिफ्ट विहान ६ बजेदेखि ११ बजेसम्म चल्नेछ । दोश्रो सिफ्ट साढे ११ देखि ४ बजे सम्म चल्नेछ । यो सिफ्टमा नेपाली माध्यम र टेक्निकलका कक्षहरु सञ्चालनमा हुनेछन् । प्रधानाध्यापक टंकबहादुर महत सरकारले लागु गरेको स्मार्ट लकडाउन अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ बीच पुर्व तयारी र सतकर्ताका विषयमा बृहत छलफल गरेर विद्यालय खुलेको बताउँछन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले उच्च सतकर्ता अपनाएर मात्र विद्यालय चलाउन चिकित्सहरुले सुझाव दिएका छन् । तेस्रो भेरियन्ट बालबालिका लक्षित भएकोल बालबालिकालाई सुरक्षित राख्नु अहिलेको चुनौती भएको उनीहरुले बताएका हुन् । कोभिडका कारण विद्यालय बन्द हुदा पठनपाठन निकै प्रभावित बन्यो । सानो कक्षका बालबालिकालाई सुरुदेखि कखरा सिकाउनु पर्ने अवस्था आएको शिक्षकहरु बताउँछन् ।

बालबालिकाको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएकोले अत्याधिक रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्न आग्रह गरिएको छ । विद्यालय खुलाउनको लागि विद्यार्थी बोलाउन घरदैलोमा पुग्ने गरेको सीता मावि रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डे बताउँछन् । उनले भने, ‘लामो समय विद्यालय बन्द हुदा विद्यार्थीको पढ्ने बानी बिग्रीसकेको छ । पहिलो चरणमा विद्यार्थीको बानी परिवर्तनमै जोड दिने सोच बनाएका छौँ ।’

जुम्लामा कोभिड संक्रमणका कारण १४ जनाको मृत्यु भयो भने १८ सय बढीलाई कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनको तथ्यांक छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ