२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी

यति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी


काठमाडौं—सीतापाइलास्थित यति हस्पिटलको व्यवस्थापनको कमाण्ड चार जना युवा चिकित्सकहरुको हातमा पुगेको छ । झण्डै दुई महिनादेखि ५५ शैय्याको यति हस्पिटलको व्यवस्थापन चार चिकित्सकहरुले सम्हाल्न थालेका हुन् ।

झण्डै १० वर्षदेखि सञ्चालनमा रहेको यति हस्पिटलको अध्यक्ष भने यज्ञप्रसाद बजगाई नै रहेका छन् । बजगाईसँगै मिलेर युवा चिकित्सकहरुको टिमले हस्पिटलको व्यवस्थापन सम्हालेको हो ।

हस्पिटलको प्रमुख कार्यकारी अधिकृतका रुपमा डा. विशाल गिरी, मेडिकल निर्देशकमा डा. दीपेन्द्र सिंह, प्रशासकीय प्रमुखमा डा. शनी सिंह र मेडिकल कोर्डिनेटरमा डा. वरुण उपाध्याय छन् । डा. गिरीसहित तीन जना चिकित्सक जनरल फिजिसियन हुन् भने मेडिकल निर्देशक डा. सिंह भने अर्थोपेडिक्स सर्जन हुन् ।

युवा चिकित्सकहरुको टिमले व्यवस्थापन सम्हालेसँगै सेवा, सुविधा र गुणस्तरीयताका हिसाबले नयाँपन दिने तयारी छ । ‘हस्पिटलको व्यवस्थापनको जिम्मा दिइदिनुहोस् भनेर अध्यक्षले आग्रह गरेपछि हाम्रो टिम आएको छ,’ मेडिकल निर्देशक डा. सिंहले हेल्थआवाजसँग भने, ‘अहिले व्यवस्थापन र प्रशासनमा सम्पूर्ण नयाँ टिम आएको छ । हामी बोसका रुपमा होइन्, लिडरका रुपमा काम गर्न चाहन्छौं ।’

मेडिकल निर्देशक डा. दीपेन्द्र सिंह

युवा चिकित्सकहरुले व्यवस्थापन सम्हालेसँगै हस्पिटललाई सर्जिकल हस्पिटलका रुपमा विकास गर्ने तयारी समेत अगाडि बढाइएको मेडिकल निर्देशक डा. सिंहले जानकारी दिए । ‘सकभर छिटोभन्दा छिटो १ सय शैय्याको स्वीकृती पाउन लागिरहेका छौं,’ उनले भने, ‘हाम्रो भिजन यो हस्पिटललाई सर्जिकल हस्पिटल बनाउने हो । त्यसबाहेक अन्य सबै सेवाहरु पनि हामी दिनेछौं ।’

१ सय शैय्याको स्वीकृती पाएसँगै अन्डरग्राउण्ड पार्किङसहितको नयाँ भवन बनाउने र वर्थिङ सेन्टर समेत सञ्चालन हुनेछ । अहिले यति हस्पिटलमा ट्रमा सर्जरीका लागि २ भेन्टिलेरसहित ७ वेडको आईसीयु छ ।

निकट भविष्यमै पेडियाट्रिक आईसीयु, सर्जिकल आईसीयु निर्माणको योजना व्यवस्थापनको छ । त्यस्तै, कोभिड–१९ लाई ध्यानमा राखेर भेन्टिलेटर बढाउने विषयमा पनि छलफल चलिरहेको निर्देशक डा. सिंहले जानकारी दिए । ‘अर्थोपेडिक, गाइनोकोलोजी र सर्जरी विभागलाई सुदृढ गर्दै लग्ने योजना छ,’ उनले सुनाए, ‘अहिले अर्थोपेडिक्स फिल्डमा इमर्जिङ रिजेनेरेरिटीभ अर्थोपेडिक, स्पोर्टस, स्पाइन, पेडियाट्रिक र जनरल ट्रमा सर्जरीजस्ता सेवाहरु दिनेछौं । यीमध्ये केही सेवाहरु अहिले सुचारु नै रहेका छन् ।’

हस्पिटलको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमै रहेको छ । ‘हाम्रो टिम आएको दुई महिना भयो । हस्पिटललाई कसरी अगाडि लैजाने अध्ययन गरेर योजना बनाएका छौं,’ उनले थपे, ‘टोटल लगानी अहिले इस्टीमेट नै गर्न सक्दैनौंं । तर, ठूलो लगानी गर्दैछौं, हामीले ल्याउने सोचेको एउटा इक्वीपमेन्टलाई नै ५० लाख पर्छ ।’ ल्याप्रोकोपिक सर्जरी एक हप्तामै सुरु गर्ने र आर्थोस्कोपिक, युरोस्कोपिक सेवाहरु निकट भविष्यमै सञ्चालनमा आउनेछन् ।

अहिले यति हस्पिटलमा ६० जना कर्मचारी कार्यरत छन् । अर्थोपेडिक ८ जना, सर्जरी ६ जना, गाइनेमा ४ जना, पेडियाट्रिकमा २ जना, मेडिसिनमा २ जना र ईएनटीमा १ जना कन्सल्ट्यान्ट चिकित्सकहरु काम गरिरहेका छन् । सेवाहरुमा वृद्धि भएसँगै जनशक्ति पनि बढ्नेछ ।

डा. सिंहले यति हस्पिटल सर्वसाधारणका लागि शुल्कका हिसाबले समेत सस्तो रहेको दावी गरे । ‘हाम्रो अस्पतालमा आईसीयुको शुल्क ३५ सय, भेन्टिलेटरको ८ हजार पर्छ,’ उनले भने, ‘यो शुल्क एकदमै सस्तो हो । मेडिकल कलेजले पनि यो शुल्कमा सेवा दिदैन ।’ हस्पिटलको एउटा कोठामा तीन वटा वेड छन् भने त्यसको शुल्क एक हजारमात्रै रहेको डा. सिंहले जानकारी दिए । पुस मसान्तसम्म हस्पिटलले अर्थोपेडिक्स, गाइनो, जनरल सर्जरी र पेडियाट्रिकको निःशुल्क ओपीडी सेवा दिनेछ ।


क्याटेगोरी : मेरो स्टार्टअप, समाचार
ट्याग : #डा. दीपेन्द्र सिंह, #डा. वरुण उपाध्याय, #डा. विशाल गिरी, #डा. शनी सिंह, #यति हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ