२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं

तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं


काठमाडौं—सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अन्डरग्राजुयट लेभलका स्वास्थ्य शिक्षाका कार्यक्रम खारेज गरिरहेका बेला औषधी व्यवस्था विभागले तालिम दिएर औषधी बेच्ने प्रमाणपत्र बिक्री गर्ने बाटो खोल्न लागेको छ । नेपालमा दक्ष फार्मेसी जनशक्ति पर्याप्त हुँदाहुँदै विभागका उच्च अधिकारीको चलखेलका आधारमा तालिम लिएर औषधीजस्तो संवेदनशील वस्तु बेच्ने लाइसेन्स बाड्ने प्रक्रिया अगाडि बढाइएको छ ।

औषधी व्यवस्था विभागले तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँडने विवादास्पद विषयलाई औषधी सल्लाहकार समितिको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ । बिहीबार बस्ने भनिएको समितिको बैठकमा विभागले २०६० सालको बसेको औषधी सल्लाहकार समितिको बैठकले रोकेको निर्णयलाई उल्टाउने गरी प्रस्ताव लैजान लागेको हो । बिहीबार सार्वजनिक विदा परेपछि उक्त बैठक सोमबारका लागि सारिएको छ ।

हेल्थआवाजलाई प्राप्त बैठकको ११ नम्बरमा एजेण्डामा रिफ्रेसर तालिम नलिई बसेका व्यवसायीलाई अध्यावधिक गर्ने विवादास्पद एवं अपारदर्शी प्रस्ताव बैठकमा लैजादैछ । ‘जसको प्रसंगमा—औषधी बिक्री वितरणमा समावेस रहेका तर रिफ्रेस तालिम नलिई बसेको व्यवसायीहरुले विभागले तोकेको रिफ्रेसर तालिम लिएर औषधी बिक्री वितरणमा समावेस रहेको प्रमाणसहित पेश हुन आएमा अन्तिम पटकका लागि व्यवसायी मान्यता प्रदान गर्न उपयुक्त देखिएकाले प्रस्तुत गरिएको छ,’ उक्त प्रस्तावमा छ, ‘प्रस्तावको निर्णय हुनुपर्नेमा—औषधी बिक्री वितरणमा समावेस रहेका तर रिफ्रेसर तालिम नलिई बसेका व्यवसायीहरुको एकमुष्ठ संकलन गरी विभागले तोकेको रिफ्रेसर तालिम लिएमा व्यवसायी मान्यता प्रदान गर्ने सिफारिस गर्ने ।’

त्यसो त विभागले अर्को विवादास्पद प्रस्ताव पनि समितिको बैठकमा लैजादैंछ । जसमा १० माघ २०५३ सालबाटै ग वर्गका औषधी पसल नवीकरण नगर्ने भनी गरिएको निर्णयलाई पुनः एक पटकका लागि उल्टयाउने प्रस्ताव पनि लगेको छ । ग वर्गका औषधी बिक्री वितरणका लागि सहज होस् भनेर सो प्रस्ताव लगिएको प्रस्ताव नं. ९ मा छ ।

तर, हाल ग वर्गका मात्र औंषधी बेच्न सम्भावना नभएको फार्मेसी काउन्सिलका रजिष्ट्रार संजीव पाण्डे बताउँछन् । ‘नेपालमा ग वर्गका मात्र औषधी कति छन् न त्यसको अध्ययन—अनुसन्धान भएको छ,’ उनी भन्छन्, ‘२०५३ माघ १० मा नै यस्ता पसलहरु बन्द गर्ने निर्णय भइसकेको छ । त्यस्तो निर्णय भइसक्दा पनि औषधी पसलहरुको अन्तिम पटक भनेर पटक—पटक निर्णय गर्नुको औचित्य के हो ? यो आर्थिक र राजनीतिक भास्टेड इन्टेष्टबाट गाइडेड छ ।’

उनले अहिले फार्मेसीको जनशक्तिको उत्साहजनक उपस्थिती रहेको अवस्थामा रिफ्रेसर तालिम दिएर औषधी बिक्री लाइसेन्स वितरण गर्नुपर्ने केही आवश्यकता नरहेको बताए । ‘फेरि के आपत ग¥यो र घरमा बसिरहेका मान्छेलाई ल्याएर औषधी बेच्न लगाउने ?,’ उनले प्रश्न गर्दै भने, ‘पटक—पटक अन्तिम पटक भन्दैं तालिम गराउने र तिनीहरुलाई नै औषधी बेच्न दिने हो तीन वर्ष चार वर्ष लगाएर किन फार्मेसी पढ्ने, हामीले परीक्षा लिइरहने ? यस्ता अपारदर्शी र हालसम्म सोच्नै नसकिने प्रस्ताव आउनु दुखद् छ ।’

यी हुन् समिति बैठकमा छलफलका एजेण्डा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ