काठमाडौं—नेपालमा चिकित्साशास्त्रको एमबीबीएसको प्रवेश परीक्षामा नक्कली विद्यार्थी सहभागी हुने आशंका गरिदैं आएको थियो । १८, २० र २१ गते सञ्चालन भएको चिकित्सा शास्त्रतर्फको एकीकृत प्रवेश परीक्षामा नक्कली विद्यार्थी सहभागी हुन सक्ने सूचना प्रहरीसम्म पुगेको थियो ।
त्यसपछि महानगरीय अपराध महाशाखाले यसमाथि सुक्ष्म निगरानी अगाडि बढायो । १८ चैतमा एमबीबीएसको एकीकृत इन्ट्रान्स परीक्षा सुरु भयो । विशेष सूचनाका आधारमा प्रहरी टोलीले नक्कली परीक्षार्थीहरु खोजी गर्न अप्रेशन इको चलायो । त्यसका लागि प्रहरी टोली सीसीआरसी कलेज, एम्बीसन कलेज, ग्रामर स्कुललगायतका केन्द्रमा विशेष निगरानी अगाडि बढायो ।
सोही क्रममा प्रहरीले ५ जना नक्कली परीक्षार्थीहरु नक्कली प्रवेश पत्र र नागरिकतासहित पक्राउ ग¥यो । जसमध्ये केही यस्ता नक्कली परीक्षार्थीहरु भेटिए, जो भविष्यमा चिकित्सक बन्ने बाटोमा थिए ।
जसमध्ये एक हुन्, महोत्तरी सम्सी—४ का २२ वर्षीय अमर पण्डित । उनी किष्ट मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत छन् । पण्डितले धनुषाको जनकपुर उपमहानगरपालिका—१४ बस्ने वृकेश यादवको नाममा परीक्षा दिइरहेको अवस्थामा सीसीआरसी कलेजबाट पक्राउ परेका हुन् ।
उनीसँगै किष्ट मेडिकल कलेजमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत २२ वर्षीय अनिकेत चौधरी पनि सोही कलेजबाट पक्राउ परे । सर्लाहीका अनिकेट धनुषाको अन्दुपट्टी गाउँपालिका—१ का आजिकुमार यादवको नाममा सीसीआरसी कलेजमै परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
किष्टमै एमबीबीएस तेस्रो वर्षमा पढिरहेका सप्तरी राजगढका २६ वर्षीय रामआशिष यादव पनि नक्कली परीक्षार्थी भएर परीक्षा दिइरहेको अवस्थामा समातिए । उनी रुपन्देहीको ओमसतिया—३ का स्मित सिंहको नाममा परीक्षा दिइरहेका बेला ग्रामर स्कुलबाट समातिएका हुन् ।
यस्तै, भारत विहारका २४ वर्षीय इस्तियाख अहमद महोत्तरीको सम्सी—५ का सन्नीकुमार साहको नाममा परीक्षा दिदैं गरेको अवस्थामा पक्राउ परे । उनी एम्बीसन एकेडेमीबाट पक्राउ परेका हुन् । प्रहरीले इस्तियाखलाई आफ्नो नाममा परीक्षा दिन लगाएकोमा सन्नीकुमारलाई पनि पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णकुमार कोइरालाकाअनुसार एमबीबीएस पढिरहेका पढाइमा अब्बल रहेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्रवेश परीक्षामा नाम निकालि दिएवापत २ लाखदेखि १८ लाखसम्म दिने प्रलोभन देखाएर नक्कली परीक्षार्थी बनाएर प्रयोग गरिएको थियो । प्रहरी अनुसन्धानबाट ती विद्यार्थीले ५० हजारदेखि २ लाखसम्म एडभान्स लिएर नक्कली परीक्षार्थी बनेको खुल्न आएको छ ।