२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिल इथिकल समितिका संयोजक डा. वस्तीले दिए राजीनामा

मेडिकल काउन्सिल इथिकल समितिका संयोजक डा. वस्तीले दिए राजीनामा


काठमाडाैं- नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हरिहर वस्तीले काउन्सिल सदस्यबाट राजीनामा दिएका छन् । पछिल्लो समयका मेडिकल काउन्सिलका काम कार्वाहीप्रति असन्तुष्टि जनाउँदैं आएका डा. वस्तीले शुक्रबार काउन्सिल अध्यक्षमार्फत नेपाल सरकारलाई राजीनामा पत्र बुझाएका हुन् ।

डा. वस्तीले हेल्थ आवाजसँग छोटो कुराकानी गर्दै राजीनामा काउन्सिल अध्यक्षमार्फत बुझाएको पुष्टि गरे । ‘आज काउन्सिल गएर राजीनामा बुझाएको छु,’ उनले भने, ‘अध्यक्षमार्फत स्वास्थ्य मन्त्रालय जानुपर्ने हुँदा त्यही लगेर दर्ता गरेको छु ।’

काउन्सिलको इथिकल कमिटी संयोजक समेत रहेका वस्ती पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको विवादमा संलग्न चिकित्सकलाई गरिएको कार्वाहीको निर्णयप्रति असन्तुष्ट थिए ।

राजीनामा दिनुपर्ने कारणबारे जिज्ञासा राख्दा उनले काउन्सिलले आफ्नो अधिकार प्रयोग गर्न नसकेको लगायतका धेरै कुरा रहेको बताए । ‘धरान विवाद त बहाना मात्र हो,’ उनले भने, ‘मैले काउन्सिलबाट राजीनामा दिनुपर्ने त्यो भन्दा धेरै विषयवस्तुहरु अरू छन् ।’

धरान घटनामा डा. वस्ती संयोजक रहेको छानविन समितिले मुख्य दोषी देखिएका डा रोशन शाह कलवारलाई दुई वर्ष निलम्बन गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा २ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले ३ महिना निलम्बन किन नगर्ने भनी प्रस्टीकरण सोधेकोमा ७ चैत्रको पूर्ण बैठकले एक महिना विभागीय प्रमुखको मातहतमा बसेर काम गर्ने निर्णय गरेको थियो ।

डा. वस्ती लाई अघिल्लो सरकारले ७ पौष २०७६ मा काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. हरिहर वस्ती, #नेपाल मेडिकल काउन्सिल, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ