काठमाडौं—अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिन नखोजिएको प्रष्टीकरण दिएका छन् । शुक्रबार संसदमा बजेटमाथि उठेका प्रश्नको उत्तर दिदैं अर्थमन्त्री शर्माले स्वास्थ्य बिमा अहिले जहाँ छ त्यहीबाट सञ्चालन हुने बताए ।
‘स्वास्थ्य बिमा कुनै कम्पनी दिइएको छैन, दिन खोजेको पनि होइन्,’ उनले भने, ‘स्वास्थ्य बिमा अहिले जहाँ छ, त्यहीबाट परिचालन भइरहेको छ ।’ मन्त्री शर्माले स्वास्थ्य बिमा बोर्डमार्फत नै अर्को पाटो पनि अध्ययन गरी हेरौ न के छ भनेर अध्ययन गर्ने विषय उठेकाले मात्रै अध्ययन गर्ने कुरा भएको दावी गरे ।
‘अध्ययन गरेर हेरौ न त त्यो भन्दा यो राम्रो भनेर सरकारी बिमा कम्पनीहरुमार्फत अध्ययन गर्ने कुरा त यहाँ लेखियो,’ उनले भने, ‘तर, स्वास्थ्य बिमालाई अर्को ठाउँमा लगेर लागु गर्न खोजिएको विल्कुल छैन ।’
उनले स्वास्थ्य बिमा सञ्चालन गरिरहेको स्वास्थ्य बिमा बोर्डमार्फत नै त्यो लागु गरिने दोहो¥याए । ‘अहिले जहाँ छ त्यहीबाट लागु हुन्छ, अध्ययन गर्ने जिम्मेवारी बोर्डमार्फत गर्ने कुरा हो,’ उनले भने, ‘अध्ययन गर्दा बिग्रिएन । लागु गर्ने कुरा आफ्नो ठाउँबाट लागु भइरहेको कुरा जानकारी गराउन चाहन्छु ।’
यसअघि आर्थिक १५ जेठमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वास्थ्य बिमा बिमा कम्पनीहरुमार्फत सञ्चालन गर्ने कुरा उल्लेख गरिएपछि त्यसको तीब्र विरोध भएको थियो । सरोकारवालाहरुले अर्थमन्त्रीले स्वास्थ्य बिमाजस्तो सामाजिक कार्यक्रम अर्थमन्त्रालयले निजीलाई दिन खोजेको भन्दैं तीब्र विरोध गरेका थिए ।
तीन जना पूर्व अर्थमन्त्री पनि संसदमा अर्थमन्त्रीको उक्त प्रस्तावको विपक्षमा उभिएका थिए । पूर्व स्वास्थ्यमन्त्रीहरु खगराज अधिकारी, गगनकुमार थापा र गिरिराजमणि पोखरेलले बजेटमा स्वास्थ्य बिमालाई कम्पनीमार्फत सञ्चालन गर्ने कुरा हटाउन माग गरेका थिए ।