२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ?

राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ?


काठमाडौं—राज्यमन्त्री उमेश श्रेष्ठले ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा हस्पिटल चेनको काम अगाडि बढाएका छन् । बालाजुस्थित १०० शैय्याको जनमैत्री हस्पिटललाई ‘सिल्भर लाइन ब्राण्ड’मा ब्राण्डिङ सुरु गरेर उनले त्यसको थालनीसमेत गरिसकेका छन् ।

जनमैत्री अस्पतालअन्तर्गत नर्सिङ कलेजसमेत सञ्चालनमा छ । अस्पतालमा सर्जरी, गाइनेलगायतका सबै सेवा रहेको अस्पतालमा मेडिकल निर्देशक डा. भोलाराम श्रेष्ठले जानकारी दिए । ‘सिटी, एमआरआई आउने क्रममा छन्,’ उनले भने, ‘इन्भेष्टरको सोचअनुसार सिल्भर लाइन चेनमा जनमैत्रीलाई ब्राण्डिङ गर्न थालिएको हो ।’

अस्पतालमा अहिले ७ जना मेडिकल अधिकृत, ६ जना विशेषज्ञ चिकित्सक फुलटाइम कार्यरत छन् । त्यसबाहेक थप २० जना विशेषज्ञ चिकित्सकले पार्टटाइम काम गर्छन् । अस्पतालमा अहिले ८० भन्दा बढी कर्मचारी कार्यरत छन् । ११ रोपनी क्षेत्रफलमा फैलिएको जनमैत्री अस्पतालको आफ्नै ६ तले भवन छ ।

श्रेष्ठ निकट स्रोतकाअनुसार जनमैत्री अस्पतालसँगै महेन्द्रनारायण निधी मेमोरियल सामुदायिक अस्पताल, चितवन निर्माणाधीन न्युट्रन क्यान्सर अस्पताल र जावलाखेलस्थित हेलियस बुटिक अस्पताल ‘सिल्भर लाइन हस्पिटल’को चेनमा ब्राण्डिङ सुरु भइसकेको छ । श्रेष्ठले एक वर्षअघि इकागजसँगको अन्तर्वार्तामा मुग्लिनमा ट्रमा रेफरल अस्पताल र नुवाकोटमा पनि अस्पताल खोल्न लागेको बताएका थिए ।

सुरुमा ५० करोड लगानी गरेर श्रेष्ठले ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डलाई चेन हस्पिटलका रुपमा विस्तार गर्ने गरी काम गरिरहेका छन् ।

‘हामी प्रारम्भिक चरणमै छौं,’ सिल्भर लाइन हस्पिटल चेनका सञ्चालकमध्ये एक राजेश श्रेष्ठले भने, ‘राज्यमन्त्रीज्यूको स्वास्थ्यमा नन प्रोफिट अर्गनाइजेसन चलाउने योजनाअनुसार हामीले काम गरिरहेका छौं । केही कामहरु बाँकी नै छन् । पूर्णता पाइसकेको छैन ।’ स्रोतकाअनुसार पहिलो वर्ष पाँच अस्पताललाई चेनमा समेट्ने गरी काम भइरहेको छ । त्यसपछि ‘सिल्भर लाइन हस्पिटल’को चेन सञ्जाल विस्तार गर्दै देशभर अन्य हस्पिटल पनि आवद्ध गर्ने तयारी छ । चेनमा आवद्ध सबै हस्पिटललाई ‘युनिफाइड कमाण्ड’मा सञ्चालन गर्ने तयारी छ ।

होटल र अस्पतालमा लगानी गर्ने उद्देश्यका साथ श्रेष्ठले एक वर्षअघि गोदावरीमा रहेको फार्म हाउसको दुई सय रोपनी जग्गा पौने चार अर्बमा ओमबहादुर घर्तिलाई बेचेका थिए । शिक्षामा ख्याति कमाएको लिटिल एन्जल्स समूहका संस्थापक पनि श्रेष्ठ नै हुन् । उनले कोभिड—१९ का कारण ७ दिन अस्पताल बसेपछि अस्पतालमा लगानी गर्ने सोच बनाएका थिए । त्यसपछि श्रेष्ठ स्वास्थ्य क्षेत्रमा लगानी बढाउन थालेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #जनमैत्री अस्पताल, #न्युट्रन क्यान्सर अस्पताल, #महेन्द्रनारायण निधी मेमोरियल सामुदायिक अस्पताल, #सिल्भर लाइन हस्पिटल, #हेलियस बुटिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ