२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभ्याली मेटरनिटी नर्सिङ होममा प्रा.डा. चन्दा कार्कीको टिम, भ्याली हस्पिटलका नाममा ब्राण्डिङ गरिदैं

भ्याली मेटरनिटी नर्सिङ होममा प्रा.डा. चन्दा कार्कीको टिम, भ्याली हस्पिटलका नाममा ब्राण्डिङ गरिदैं

को-को छन् अन्य चिकित्सकहरु ?


काठमाडौं—पुतलीसडकस्थित २८ वर्ष पुरानो भ्याली मेटरनिटी नर्सिङ होम प्रा.लि.को व्यवस्थापन वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीको समूहले लिएको छ । झण्डै डेढ महिनाअघि २५ शैय्याको काठमाडौं मेटरनिटी नर्सिङ होमको नेतृत्व डा. कार्कीसहितको समूहले लिएको हो ।

१७ आनामा जग्गामा रहेको भ्याली मेटरनिटी नर्सिङ होममा नयाँ व्यवस्थापन आएसँगै यसलाई भ्याली हस्पिटल प्रा.लि.का रुपमा ब्राण्डिङ गर्न सुरु भइसकेको छ । दुई वटा भवनसहितको यो अस्पताललाई अब सबै सेवा दिने भ्याली हस्पिटल प्रा.लि.का रुपमा ब्राण्डिङ गरिने अस्पतालकी अध्यक्षसमेत रहेकी डा. कार्कीले हेल्थआवाजलाई जानकारी दिइन् ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) छोडेको र थप टिम समेत मिलेर भ्याली मेटरनिटी नर्सिङ होममा लगानी गरेको हो । ‘केएमसीबाट छोडेको २५—३० जनाको टिम र अन्य थपिएका साथी र त्यही रहनुभएका ६ जनासमेत गरेर ५० जनाजति मिलेर हामीले भ्यालीको व्यवस्थापन लियौं,’ उनले भनिन्, ‘अब मेटरनिटी सेवालाई थप व्यवस्थित बनाउँदैं अरु सबै गुणस्तरीय विशेषज्ञ सेवाहरु दिनेछौं ।’ भ्याली हस्पिटल प्रा.लि.को नयाँ व्यवस्थापन टिमले अहिले सबै सेवाहरु दिने गरी कामसमेत अगाडि बढाइसकेको छ ।

भ्याली हस्पिटल प्रा.लि.मा केएमसीबाट बाहिरिएको टिमका डा. कार्की, डा. सरस्वती पाध्याय, डा. मनिष पोखरेल, डा. दीपेश शाक्य, डा. मुकुन्दराज जोशीसहितको टिम, केएमसीको प्रशासनबाट निस्केको टिमलगायतको टिम छ । भ्याली मेटरनिटी नर्सिङ होम प्रा.लि.मै रहेका चिकित्सकहरु डा. विना बस्नेत, डा. विमला मल्ल, डा. सुशीला श्रेष्ठ, डा. गंगा शाक्य र डा. सुधा थापाको टिम रहेको थियो । यसअघि भ्यालीको नेतृत्व गरेका डा. चन्द्रबहादुर कार्की र सेयरहोल्डर डा. चन्द्रलक्ष्मी श्रेष्ठ भने आफ्नो सेयर झिकेका छन् । कति लगानीमा अस्पतालमा नयाँ व्यवस्थापन भित्रिएको हो भन्ने विषयमा भने डा. कार्कीले केही बताउन चाहिनन् । स्रोतकाअनुसार भ्यालीमा नयाँ लगानीकर्ताहरुले १० लाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज

सबै सेवा दिने उद्देश्यका साथ अस्पतालमा स्त्री तथा प्रसुतिबाहेक सर्जिकल टिम, पेडियाट्रिक टिम, जनरल सर्जरी टिम, प्याथालोजिष्ट टिम छ । ‘विशेषज्ञ चिकित्सकको टिममात्रै २५ जनाको जतिको छ,’ डा. कार्कीले भनिन्, ‘मेडिसिन, सर्जरी, पेडियाट्रिक, डर्माटोलोजी, प्याथालोजी सेवासमेत थप्ने कन्सेप्टमा काम भइरहेको छ ।’ अस्पतालमा अहिले झण्डै ७० जना कर्मचारी कार्यरत छन् । जसमध्ये केएमसीबाट बाहिरिएका कर्मचारी पनि छन् ।

अध्यक्ष डा. कार्कीले अस्पतालको सेवा विस्तार गर्ने र एकेडेमिक गतिविधीहरु समेत अगाडि बढाउने सोचका साथसाथै गुणस्तरीय दिने लक्ष्य राखिएको बताइन् । उनले आफूहरुले निकट भविष्यमै महोत्तरीमा पनि भ्याली हस्पिटल प्रा.लि.को शाखा खोल्ने लक्ष्य राखेको उल्लेख गरिन् । ‘कतिपय मानिसहरु काठमाडौंसम्म पुग्न सक्दैनन्, मजस्तो मान्छे पनि गाउँमा गएर सेवा दिनुपर्छ भन्ने उद्देश्यका साथ त्यहाँ पनि शाखा विस्तार गर्ने योजना छ,’ उनले भनिन्, ‘यहाँ नयाँ पुस्ताले सेवा दिइहाल्छ, मजस्तो मान्छे गएर रिमोर्टमा सेवा दिने हो । अब हाम्रो आवश्यकता त्यहाँ छ ।’

धेरै मेहनतका साथ टिम बनाएर भ्याली अस्पतालमा लगानी गरेको उल्लेख गर्दै उनले अठोट गरेमा काम गर्न सकिने आफूलाई लागेको बताइन् । ‘ग्रुप अफ पिपुल मिलेर केही गरौं भन्यो भने सकिदो रहेछ,’ उनले थपिन्, ‘महोत्तरीमा शाखा विस्तार गर्न पनि सकिएलाका कि भन्ने सोचेकी छु ।’ डा. कार्कीले धेरै लगानीकर्ताहरुले आफ्नै विश्वासमा लगानी गरेको उल्लेख गर्दै केही वर्ष आफूले अस्पतालको सिष्टम बसाउनका लागि नेतृत्व गर्ने जानकारी दिइन् । ‘अध्यक्षका रुपमा अहिले विहान गएर म त्यहाँ प्रशासन हेर्छु,’ उनले भनिन्, ‘मानिसहरुले मेरै विश्वासमा लगानी गरेका छन् । एक—दुई वर्ष प्रशासनिक नेतृत्वमा बसेर राम्रो अस्पतालको रुपमा सेटअप गर्छु ।’ डा. कार्कीले अहिले प्रायक्टिस भने ग्यार्कोस्थित बीएण्डबी अस्पताल गरिरहेकी छन् ।

केएमसीदेखि भ्याली हस्पिटलसम्म

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले लिएसँगै डा. कार्कीले ०७७ मंसिरमा केएमसीको प्रिन्सिपलबाट राजीनामा दिएर बाहिरिइन् । उनीसँगै धेरै विशेषज्ञ चिकित्सकहरुको टिम पनि बाहिरियो । चिकित्सकमात्रै होइन्, प्रशासनतर्फका कर्मचारी र अन्य केही कर्मचारीहरुले पनि केएमसीबाट छोडे ।

केएमसी छोडेपछि डा. कार्कीले केही समय सिनामंगलस्थिल नोबेल अस्पतालको नेतृत्व समेत लिइन् । तर, त्यो लामो समय जान सकेन । कोभिड—१९ का बेला त्यहाँबाट निस्किएको ठूलो समूह कतैपनि इन्गेज हुन सकेन् । त्यसपछि डा. कार्कीले नै नेतृत्व लिएर थोर—थोरै लगानी गरेर पोलिक्लिनिक भएपनि स्थापना गर्ने योजनामा छलफल चलाइन् । ‘केएमसीमा स्वामित्व परिवर्तन भयो । परिस्थितीबस धेरैले छोड्नुपर्ने अवस्था सिर्जना भयो,’ डा. कार्कीले भनिन्, ‘त्यहाँबाट निस्केको टिमले के गर्ने भन्ने विषयमा छलफल चलिरहेका बेला अलिअलि पैसा जुटाएर अस्पतालमा लगानी गर्ने भन्ने भयो ।’

त्यही बीचमा भ्याली मेटरनिटी नर्सिङ होम प्रा.लि. बिक्रीमा रहेको कुरा डा. कार्कीसहितको टिमका कानमा प¥यो । ‘हाम्रा लागि सुरुमा यो पहुँचभन्दा ठूलो कुरा थियो,’ उनले सुनाइन्, ‘पछि २५ जनाको समूह बढ्दा—बढ्दै ५० जना पुगेपछि आँट गर्न सकिने भयो ।’ डेढ महिनाअघि अस्पतालको व्यवस्थापन लिएपछि केएमसीबाट निस्केको टिम अहिले भ्याली अस्पताल प्रा.लि.मा संलग्न भएको छ ।

प्रा.डा. कार्की ३७ वर्षदेखि चिकित्सा पेशामा संलग्न छन् । १५ वर्ष नेपाल सरकारको जागिरमा बिताएकी उनले २१ वर्ष काठमाडौं मेडिकल कलेजमा सेवा दिइन् । यो अवधिमा उनी केएमसीको ४ वर्ष प्रमुख कार्यकारी अधिकृत (सिईओ) भइन् भने ८ वर्ष प्रिन्सिपल भएर अनुभव संगालिन् । डा. कार्कीको केएमसीको ब्राण्ड निर्माणमा पनि ठूलो योगदान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. गंगा शाक्य, #डा. दीपेश शाक्य, #डा. मनिष पोखरेल, #डा. मुकुन्दराज जोशी, #डा. विना बस्नेत, #डा. विमला मल्ल, #डा. सरस्वती पाध्याय, #डा. सुधा थापा, #डा. सुशीला श्रेष्ठ, #प्रा.डा. चन्दा कार्की, #भ्याली मेटरनिटी नर्सिङ होम प्रा.लि., #भ्याली हस्पिटल प्रा.लि.


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ