२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेरको तयारी

स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेरको तयारी


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । मन्त्रालय उच्च स्रोतकाअनुसार स्वास्थ्यका आधा दर्जन उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर तथा व्यवस्थापन गर्ने तयारी मन्त्री खापुङको छ ।

मन्त्री खापुङ निकट स्रोतकाअनुसार मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डा. संगीता मिश्रा १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवा भएसँगै उनको ठाउँमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सन्जय ठाकुरलाई ल्याउने तयारी छ ।

यस्तै, ठाकुरलाई मन्त्रालय ल्याएपछि रिक्त हुने राष्ट्रिय क्षयरोग केन्द्रमा भर्खरै ११ औं तहमा बढुवा भएका चितवनको बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बंगालेलाई जिम्मेवारी दिने तयारी छ ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलालाई सार्क टिबी सेन्टरबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा ल्याइने भएको छ । डा. बाँस्तोलाको ठाउँमा लामो समयदेखि फाजिलमा रहेकी डा. राधिका थपलियालाई लैजाने तयारी छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावललाई केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी दिने तयारी रहेको मन्त्री निकट स्रोतको दावी छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई प्रदेश नंं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा लगिने भएको छ । डा. देवकोटाको ठाउँमा भर्खरै ११ औं तहमा बढुवा भएका डा. सर्वेश शर्मालाई लैजाने तयारी मन्त्रीले गरेका छन् । डा. शर्मा लामो समयदेखि दाङमा रहेर काम गरेका चिकित्सक हुन् । उनी अहिले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका अनौपचारिक स्वास्थ्य विज्ञ हुन् ।

‘अहिले मोटामोटी रुपमा आधा दर्जन बढी स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर र व्यवस्थापनको कुरा टुंगो लागेको छ,’ मन्त्री निकट स्रोत भन्छन्, ‘यो प्रारम्भिक तयारीकै रुपमा रहेकाले यसमा केही तलमाथि हुन सक्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #डा. अनुप बास्तोला, #डा. मनिषा रावल, #डा. राधिका थपलिया, #डा. विश्वबन्धु बंगाले, #डा. सन्जय ठाकुर, #डा. सर्वेश शर्मा, #डा. सुधा देवकोटा, #भवानी खापुङ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ