२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’

स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’


काठमाडौं—स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको छवि सालिन छ । सबैसँग उत्तिकै फरासिलो स्वभावमा घुलमिल हुन्छन् । झट्ट हेर्दा खापुङ सोझा छन् । पूर्वी जिल्ला तेह्रथुममा लामो समय माष्टरी गरेर आएका हुनाले उनको छविमा गम्भीर शिक्षकजस्तो लाग्ने अलग्गै पहिचान पनि देखिन्छ ।

तर, त्यसको ठीक विपरित स्वास्थ्य राज्यमन्त्री  हीराचन्द्र केसी अलि कडिकडाउ रुपमा प्रस्तुत हुन्छन् । उनको दौडधुप पनि बढी नै हुने गर्छ । उमेरले पनि युवा रहेका केसी अलि शारीरिक हाउभाउका हिसाबले पनि जागरिलै देखिन्छन् । उनको ‘फौजी शैली’ काम कारवाहीमा प्रष्ट छनक मिल्छ । खरिद प्रक्रिया अनियमितता भएको मिडियामा समाचार आउनेबितकै उनले अन द स्पट एक्सन लिइहाले—आपूर्ति शाखाका प्रमुखलाई स्पष्टीकरण सोधेर । दाङका उनी विद्यार्थी र युवा राजनीतिक हुँदैं आएका हुन् ।

खापुङको गम्भीरता र केसीको जागरुकताको मिलनले स्वास्थ्य मन्त्रालयलाई चलायमान बनाउनुपर्ने हो । तर, यी दुई फरक स्वभाव र छविका मन्त्री र राज्यमन्त्रीबीच तादाम्यता मिल्न नसक्दा मन्त्रालय झन अस्तव्यस्त बन्न पुगेको छ ।

स्वास्थ्य राज्यमन्त्री हुँदैं मन्त्री बनेका खापुङले मन्त्री हुनासाथ राज्यमन्त्रीलाई केही अधिकारीहरु प्रत्यायोजन गरेका थिए । आफू राज्यमन्त्री हुँदा भूमिकाबिहीन हुनुको पीडा थाहा भएर नै हुनुपर्छ उनले राज्यमन्त्रीलाई जिम्मेवारी दिन फराकिलो छाती बनाए ।

१९ जेठमा मन्त्री खापुङले राज्यमन्त्री केसीलाई मन्त्रालयअन्तर्गतको परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड र आयोजनालगायतका सम्पूर्णको अनुगमन गरी समन्वय गर्ने र नीतिगत सुझावका लागि राय पेश गर्ने, विशिष्टीकृत अस्पतालको सेवाको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने, न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने र सोको अनुगमन गर्नेलगायतका ५ बुँदा जिम्मेवारी तोकिदिएका थिए । कतिसम्म भने सामान्यतयाः स्वास्थ्यमन्त्री सहुकुलपति रहने स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी पनि उनले राज्यमन्त्री केसीलाई दिएका थिए ।

जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्ने जमर्को गरेका स्वास्थ्यमन्त्री खापुङलाई मन्त्रालयको कमाण्ड सोचेजस्तो गरी हाँक्न भने सहज भएको देखिदैन् । १० साउनमा राज्यमन्त्री केसीले स्वास्थ्य सेवा विभागका १० औं तहका एक कर्मचारीलाई भ्रष्टाचारजस्तो गम्भीर आरोपको विषयमा स्पष्टीकरण सोध्दा आफ्नो विभागीय मन्त्रीसँग सल्लाहसमेत गरेनन् । मन्त्री खापुङ निकट स्रोतकाअनुसार सो विषयमा मन्त्री खापुङले समाचारबाट थाहा पाएपछि असन्तुष्टी जनाएका थिए । ‘कर्मचारीलाई स्पष्टीकरण सोध्नु गलत थिएन्,’ मन्त्री निकट स्रोतले भन्यो, ‘उहाँको गुनासो त्यति गम्भीर विषयमा जानकारी दिइएन भन्ने मात्रै हो ।’

त्यसो त राज्यमन्त्री केसी पनि मन्त्रीसँग खुसी देखिदैनन् । झण्डै एक हप्ताअघि मन्त्रालय र मातहतमा रहेका केही निकायमा खाली रहेको प्रमुखहरुको जिम्मेवारी दिने तथा हेरफेर गर्ने विषयमा मन्त्री खापुङले तयार पारेको सूचीप्रति राज्यमन्त्री केसीले असन्तुष्टी पोखे । जसका कारण कर्मचारी प्रशासनतर्फबाट टिप्पणी उठेर राजनीति नेतृत्वमा निर्णयका लागि पुगेका फाइल पनि रोकिएका छन् ।

मन्त्रालय स्रोतकाअनुसार राज्यमन्त्री केसीले ११ औं तहमा बढुवा भएका गृहजिल्ला दाङका डा. सर्वेस शर्मालाई पनि यही लटमा महत्वपूर्ण जिम्मेवारी दिनैपर्ने अडान राख्दै आएका छन् । तर, मन्त्री खापुङ भने तत्काल रिक्त ठाउँमा मात्रै जिम्मेवारी दिने र भदौं लागेपछि मात्रै अन्य उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने सोचमा छन् ।

स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन स्रोतकाअनुसार महाशाखाबाट समन्वय महाशाखा प्रमुख, केन्द्रीय कारागार अस्पताल प्रमुख र मन्त्रालयको प्रवक्ताको लागि टिप्पणी उठिसकेको छ । तर, मन्त्री र राज्यमन्त्रीबीच समन्वय नहुँदा एक सातादेखि यी फाइलमा कुनै निर्णय हुन सकेको छैन ।

यस्ता सामान्य विषयमा पनि एउटै पार्टीबाट मन्त्री र राज्य बनेका खापुङ र केसीबीच तालमेल नमिलेको देख्दा भविष्यमा मन्त्रालयका अन्य ठूला नीति र निर्णयमा पनि टसल देखिन छाटकाट देखिन्छ । मन्त्री र राज्यमन्त्रीबीच कुनै खटपट नरहेको स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकाल दावी गर्छन् । ‘मन्त्रीज्यूले राज्यमन्त्रीज्यूलाई तेत्रो जिम्मेवारी नै दिनुभएको छ, उहाँहरुवीच कुनै खटपट छैन,’ उनले भने, ‘काम गर्ने क्रममा केही विषयमा मिस कम्युनिकेसनका सामान्य हुन्छ । त्यसलाई सुधार गर्दै लानुपर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ