२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबिरामीको घरमै पुगेर उपचार गर्छन् स्वास्थ्यकर्मी

बिरामीको घरमै पुगेर उपचार गर्छन् स्वास्थ्यकर्मी


चरिकोट—स्वास्थ्यकर्मीले बद्रीमाई तामाङको घरमै पुगेर उपचार गरेका छन् । दीर्घ रोगका साथै समयमा खाना खान नपाएपछि रोगले थलिएका गौरीशंकर गाउँपालिका वडा नं. ९ की तामाङको घरमै उपचार गरेका हुन् ।

गाउँपालिकाको दुर्गम गाउँ रिकुकी ७० वर्षीया बद्रीमाई तामाङ हप्तौदेखि खाना खान नसक्ने गरी बिरामी परेकी थिइन । वडा नं. ९ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव जोनी पाख्रीनलगायतका स्वास्थ्यकर्मीले तामाङको घरमै पुगेर उपचार गरेका हुन् ।

स्वास्थ्यकर्मीले बिरामीहरुलाई स्वास्थ्य संस्थामै आउन आग्रह गरे तापनि हिड्न नसक्ने र स्वास्थ्य संस्थासम्म मोटर बाटोको सुविधा नभएकै कारण घरमै गएर उपचार गरिएको अहेव पाख्रीनले बताइन् । बद्रीमाईको घरमा कोही नभएको र छरछिमेकीले पनि स्वास्थ्य चौकी सिमी गाउँसम्म बोकेर ल्याउन घण्टौ लाग्ने भएकाले घरमै गएर उपचार गर्नुपर्ने बाध्यता रहेको अहेव उनले जानकारी दिइन् ।

कतिपय रोगको निःशुल्क र सहज तरिकाले स्वास्थ्य उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएकै कारणले स्थानीय सरकारले यसलाई प्राथमिकता दिइरहेको छ । बिरामीलाई सकेसम्म स्वास्थ्य संस्थामानै आएर उपचार गर्न आग्रह गर्दै आएको तर असहाय र अशक्तको हकमा घरमै गएर उपचार गर्न लगाएको गौरीशंकर गाउँपालिका वडा नं. ९ का वडाअध्यक्ष ङिमागेली शेर्पा बताए । स्वास्थ्य सेवाबाट कोही वञ्चित हुन नपरोस भन्दै वडाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै आएको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।

विदाको दिन र बिरामीको राम्रो सेवा गर्ने स्वास्थ्यकर्मीको प्रोत्साहन स्वरुप वडाले पुरस्कारको व्यवस्था गर्ने योजना रहेको उनले बताए । यस वडामा मोटर बाटोको सुविधा नभएकै कारण बिरामीको घरघरमै पुगेर उपचार गर्नु पर्ने बाध्यता रहदै आएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ