२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ केही व्यक्तिले अवरोध गरेपछि जिल्ला अस्पताल कालिकोटमा खानेपानीको अभाव

केही व्यक्तिले अवरोध गरेपछि जिल्ला अस्पताल कालिकोटमा खानेपानीको अभाव


वीरेन्द्रनगर—जिल्ला अस्पताल कालिकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो ।

जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो । जिरो प्वाइन्टमा आफ्नै खानेपानी ट्यांकी रहेको र त्यसलाई घेराबार गरेर राखेका अवस्थामा अनधिकृत रूपमा केही व्यक्तिले ट्यांकीमा आफ्ना निजी पाइप जोडेर लगेका कारणले जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा संकेत विश्वकर्माले बताए ।

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको अवरोध गर्नु गैरकानुनी काम हो’, उनले भने, ‘यो समस्या तत्काल समाधान नभए कानुनी रुपमा जान बाध्य हुनेछौं ।’

जिल्ला अस्पतालमा खानेपानीको अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवालगायतका अन्य सेवाग्राहीलाई खानेपानीका लागि टाढा—टाढा जानुपर्ने बाध्यता रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माले बताए ।

‘केही दिनयता खानेपानीको अभाव हुँदा बिरामी तथा कुरुवालगायतका स्वास्थ्यकर्मी र सेवाग्राहीलाई निकै सकस भएको छ’, उनले भने, ‘गर्मीको मौसममा खानेपानीको अभाव हुँदा अस्पतालमा उपचारमा आएका पनि खानेपानीको अभावले बिरामी पर्ने गरेका छन् ।’

खानेपानीको अभावमा स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर परेको हुँदा तीन दिनभित्र खानेपानीको पाइप नहटाए कानुनी कारबाहीमा जाने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माले बताए । ‘स्वास्थ्य क्षेत्रमा अवरोध गरिनु कुनै राम्रो काम होइन’, उनले भने, ‘यस्तो गैरकानुनी कामलाई प्रश्रय दिनु पनि राम्रो होइन ।’

जिल्ला अस्पतालमा खानेपानीको अभाव भएका कारणले खानेपानीका लागि भौतारिनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवा बसेका पचाल झरना गाउँपालिका–४ का नैन तिरुवाले बताए । ‘यता बिरामीको कुरुवा बस्नु कि खानेपानीका लागि भौतारिनु’, उनले भने, ‘खानेपानी खोज्दा—खोज्दै अस्पतालमा बिरामीलाई अप्ठ्यारो पनि हुन सक्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ