२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकाजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता

काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता


काठमाडौं—काठमाडौंको एक नगरपालिकाले काजका कर्मचारीलाई राखेर समायोजन भएका कर्मचारी फिर्ता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय विपरित तारकेश्वर नगरपालिकाले काजमा आएका स्वास्थ्यकर्मीलाई राखेर समायोजनका कर्मचारी फिर्ता गरिदिएको छ ।

नगरपालिकाको ११ भदौंको कार्यपालिका बैठकले कामकाजमा खटी आएका, समायोजन संशोधन भएर आएका र समायोजन मिलान भएर आएका स्वीकृती दरबन्दीभन्दा बढी कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार २५ जना स्वास्थ्यकर्मी फिर्ता गर्ने तयारी पालिकाले गरेको थियो । तर, ६ जना काजकासहित ९ जनालाई भने पालिकाले आफ्नो पूर्ववत तयारीमा पछि हटेर काममा राखेका छ ।

बाँकी १६ जनालाई भने २० भदौंदेखि हाजिर नगराउने र बरबुझारथ गर्न लगाएर नगरपालिकामा पठाउन व्यवस्था गर्न मातहतका स्वास्थ्य संस्थालाई पत्राचार गरेको छ । यस विषयमा हेल्थआवाजले प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तसँग कुरा गर्दा उनले केन्द्रबाट बजेट नआउने भएको हुँदा कर्मचारीहरु फिर्ता गर्ने निर्णय लिनु परेको बताए ।

फिर्ता गर्न लागिएका १६ जना स्वास्थ्यकर्मीहरुमध्ये १४ जना समायोजनक र समायोजन मिलान भएका कर्मचारी छन् । दुई जना काजका सम्झना कटुवाल र धीरेन्द्रबहादुर बोहरालाई भने काज फिर्तामा परेका कर्मचारी हुन् ।

नगरपालिकाले काज भएतापनि ६ जना स्वास्थ्यकर्मीलाई भने फिर्ता नपठाएर नगरपालिकामै राखेको छ ।

त्यसबाहेक समायोजन र समायोजन मिलान भएका १४ जना कर्मचारी फिर्ता गरिएको छ । जसमा सीता कोइराला, प्रवीण श्रेष्ठ, कान्तिकुमारी, सावित्री थपलिया, राधिकादेवी शर्मा, गंगादेवी अर्याल, सविता खनाल, लक्ष्मी तिमिल्सिना, राधाकुमारी शर्मा सुवेदी, तिलकुमारी विक, शारदा अधिकारी, गायत्री श्रेष्ठ, संगीता पौडेल र शशीकला सुनुवार रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुले समायोजन र समायोजन मिलानका कर्मचारी फिर्ता गर्न थालेपछि निर्देशनात्मक आदेश जारी गर्दै फिर्ता नगर्न भनेको थियो । तर, उक्त निर्देशन विपरित तारकेश्वर नगरपालिकाले काजका कर्मचारी राखेर समायोजन र समायोजन मिलानका कर्मचारी फिर्ता गरेको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ