२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश१६ जना डाक्टर ताल्चामा अलपत्र पारेर ४ जना मन्त्री लिएर उड्यो समिट एयर

१६ जना डाक्टर ताल्चामा अलपत्र पारेर ४ जना मन्त्री लिएर उड्यो समिट एयर

वायुसेवा निगमको जहाज तत्काल पठाइएको पर्यटनमन्त्रीको किराँतीको दावी


काठमाडौं—कर्णालीमा स्पाइन इन्जुरी सम्बन्धी कार्यक्रम गरेर नेपालगञ्ज फिर्ता हुन लागेका १६ जना स्पाइन सर्जनहरुलाई ताल्चा विमानस्थलमै छोडेर ४ जना मन्त्री लिएर समिट एयरको विमान फर्किएको छ ।

तीन हप्ता अगाडि नै सो विमानमा ताल्चाबाट नेपालगञ्ज फर्कन १६ जना चिकित्सकले ९ असोज विहान ७ बजेको टिकट बुक गरेका थिए । तर, विमान चढ्ने बेलामा एयरलाइन्सका कर्मचारीले चार जना पूर्व मन्त्रीहरुलाई जसरी पनि लानुपर्ने भएकोले १२ जनालाई चिकित्सकलाई मात्र लैजाने भनेपछि सबै चिकित्सकले विरोध जनाउँदैं एकैपटक जाने अडान राखेपछि ४ जना पूर्व मन्त्री मात्र लिएर सो विमान नेपालगञ्ज फर्किएको एक चिकित्सकले बताए ।

‘यहाँ कहिले दिनमा एउटा नभए ३÷४ दिनमा प्लेन आउँदोरहेछ,’ एक चिकित्सकले भने, ‘तीन हप्ता अगाडि हामीले बुक गरेको टिकटमा मन्त्री लगेर ४ जनालाई यही छोड्ने भनेपछि कोही पनि नजाने भनेर छोडिदियौ ।’

चिकित्सकहरुले बुक गरेको प्लेनमा नेपालगञ्ज आउने पूर्व मन्त्रीहरुमा मातृका यादव, कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व मन्त्रीहरु विमला शाही र धर्मराज शाही रहेका छन् ।

ताल्चामा अड्किएका चिकित्सकहरुमा डा. विमल पाण्डे, डा. व्यापक पौडेल, डा. सुरज बज्राचार्य, डा. गौरवराज ढकाल, डा. रामकृष्ण बाराकोटी, डा. रामकृष्ण दाहाल, डा. प्रमोद लामिछाने, डा. दिपक काउछा, डा. सन्दीप यादव, डा. ज्ञानेन्द्र जोशी, डा. सुभासचन्द्र झा, डा. सरिना चुडाल, डा. विमला बानियाँ, डा. सविना उप्रेती र डा. सलिना राना रहेका छन् ।

उनीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड रोगको उपचारसँग सम्बन्धी कार्यक्रमका लागि गएका थिए । प्रतिष्ठानको कार्यक्रम सकेर उनीहरु मुगुको रारा भ्रमण गर्दै ताल्चा विमानस्थलबाट सोमबार नेपालगञ्ज फर्कने कार्यक्रम रहेको थियो ।

चिकित्सकहरुको टिकट काट्ने ट्राभल एजेन्सीका चक्र न्यौपानेले पूर्व मन्त्रीहरुको फर्किनैपर्ने काम भएका कारण एक जना बसेर अरुलाई फर्कन आग्रह गर्दा नमानेको बताए । उनले दोस्रो फ्लाइटको व्यवस्थापनका लागि एयरलाइन्ससँग कुरा भइरहेको जानकारी दिए ।

पर्यटन, उड्ययन मन्त्री सुदन किराँतीले भने फेसबुकमा स्टाटस लेख्दैं मुगुमा चिकित्सक छुटेको कुराले आफूलाई दुःखित बनाएको बताएका छन् । ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो,’ उनले लेखेका छन्, ‘गन्तव्यमा पु¥याउन नेपाल वायु सेवा निगमको जहाज तत्काल पठाइएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ