२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचन्दननाथ नगरपालिकाले स्वास्थ्यका १० जना करार कर्मचारी हटाएपछि लफडा

चन्दननाथ नगरपालिकाले स्वास्थ्यका १० जना करार कर्मचारी हटाएपछि लफडा


जुम्ला—चन्दननाथ नगरपालिका जुम्लाले करारका स्वास्थ्यका १० जना र अन्य दुई जना कर्मचारी पदमुक्त गरेपछि लफडा भएको छ । २० माघमा नगरपालिकाको सभा हलमा सभा चलिरहेका बेला कर्मचारी हटाइएको विषयलाई लिएर लफडा भएको हो ।

करार सेवाबाट पदमुक्त गरिएका १२ जना कर्मचारीले आफूहरुलाई हटाइएपछि करारका सबैलाई हटाउनुपर्ने माग गरेका थिए । उनीहरुले नत्र भने आफूहरुलाई पनि पुर्नबहाली गर्नुपर्ने माग गरेका छन् ।

नगरपालिकामा भर्ना गरिएको ७७ करार कर्मचारीमध्ये १२ जनालाई पदमुक्त गरिएको बुझिएको छ । कार्यपालिकाको २३ मंसिरको निर्णयले उनीहरु पदमुक्त भएका हुन् । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार स्वास्थ्यका फाजिल ११ जना स्थायी कर्मचारी थिए । उनीहरुलाई सेवासुविधासहित कार्यक्षेत्रमा खटाउन परिपत्र आयो । स्वास्थ्यका १० जना काम गर्ने ठाउँमा ११ जना फाजिलमा परेका कर्मचारीले नै काम गर्ने भएपछि उनीहरु पदमुक्त भएका हुन् ।

उनले ७७ जना करार कर्मचारीलाई तलब खुवाउन वार्षिक साढे तीन करोड आवश्यक पर्ने बताए । नगरपालिकाले करार कर्मचारीलाई नगरको आन्तरिक आयस्रोत राजश्वबाट तलब खुवाउनुपर्ने व्यवस्था छ । तर, चन्दननाथको आन्तरिक राजश्व वार्षिक मुस्किलले एक करोड उठ्ने गर्दछ । आन्तरिक आय स्रोत छैन, नगरपालिकाको व्ययभार बढेपछि धान्नै नसक्ने स्थिति भएपछि करारका कर्मचारी पदमुक्त भएको उनले बताए ।

वडा सदस्य तथा नगरसभाका सदस्य नरेन्द्र सेजुवाल नेतृत्वमा कार्यालय हाताभित्र प्रवेश गरी नगर कार्यपालिकाको कुनै पनि विषयमा निर्णय हुन पूर्व नगर प्रमुख, नगर उपप्रमुख र कार्यलय प्रमुखलगायत कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गाली गलौज गर्ने भौतिक आक्रमणको धम्की दिने काम भएको भनी नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘करार कर्मचारीहरुको विषयमा नगरकार्यपालिका बैठकमा छलफल भइरहेको अवस्थामा हुलहुज्जतसहित प्रवेश गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई अपशब्द प्रयोग गरी गाली गलौज गरी भौतिक आक्रमणको धम्की दिनेसम्मको अमानवीय गैर क्रियाकलाप गरेको देखियो ।’ नगर कार्यपालिकाले गरेका निर्णयहरुमा चित्त नबुझेमा आपसी छलफल गर्ने, वार्ता गर्ने र त्यसबाट पनि आफ्ना माग पूरा नभए कानुनी उपचार खोज्ने कानुनी व्यवस्था रहँदा रहँदै सांघातिक आक्रमणमा उत्रिनु गलत भएको नगरका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष नवराज देवकोटाले बताए ।

‘नगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा गलत तरिकाले वडा नं २ का वडाध्यक्षले हातपात गरेको भन्ने झुट्टा प्रचार—प्रसार भएको मिथ्या कुरामा नलाग्न हुन तथा नगरको सामाजिक सद्भाव खलबलिने कार्य नगर्न हुन जानकारी गराइन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

काममा फिर्ता नबोलाए तालाबन्दी चेतवानी

कार्यपालिकाले निर्णय गरेर हटाएका कर्मचारीले पुनः काममा फर्काउन अल्टिमेटम दिएका छन् । उनीहरुले चौथो तहका अनमी, अहेबको विज्ञापन गरी लिखिति मौखिक परीक्षा संचालन गरी ०७७ माघ १ गतेबाट करार सम्झौता गरी कामकाज गर्दै आरहेकोमा हटाइएको प्रति गुनासो पोखेका छन् । असार मसान्तसम्मका लागि बजेट विनियोजन गरिएपनि बीचैमा हटाइएको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

‘१० जना स्वास्थ्यकर्मी र अन्य दुई जना गरी जम्मा १२ जनालाई हटाइएको प्रति ध्यानाकर्षण गराइएको छ,’ उनीहरुको ध्यानाकर्षण पत्रमा भनिएको छ । उनीहरुले बारम्बार ध्यानाकर्षण गराउँदा समेत अटेर गरेकोले आवश्यक छलफल गरी पुनः सेवामा प्रवेश गराउन हुन साथै अन्यथा नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । उनीहरुको ज्ञापन पत्र बुझ्दै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कार्यपालिकाको निर्णय गरिएको हुँदा नगर प्रमुखलाई जानकारी गराइने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ