२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनक्कली पिसिआर रिपोर्ट बनाएपछि जागिरबाट निकालिएका गंगालालका प्रयोगशाला प्रमुखको २ वर्षपछि थमौती

नक्कली पिसिआर रिपोर्ट बनाएपछि जागिरबाट निकालिएका गंगालालका प्रयोगशाला प्रमुखको २ वर्षपछि थमौती


काठमाडौं—नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा जागिरबाट निकालिएका गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्य विनोदकुमार यादवलाई गंगालाल व्यवस्थापनले दुई वर्षपछि पुनः जागिरमा फर्काएको छ । गंगालालको सञ्चालक समितिको २० चैतको बैठकले यादवलाई जागिरमा फर्काउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गंगालालका कार्यकारी निर्देशक डा. रवि मल्लले २ बैशाखबाटै हाजिर हुने गरी २ बैशाखमै पत्र पठाएका छन् । संचालकको समितिको निर्णयमा पनि उनलाई २ बैशाखबाटै केन्द्रको काममा फर्काउने निर्णय भएको थियो ।

स्रोतकाअनुसार गंगालालको सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जोडबलमा विभागीय कारवाही गरेर जागिरबाट निकालिएका विनोदकुमारलाई दुई वर्षपछि थमौती गर्ने अनौठो निर्णय गरिएको हो । विनोदकुमारलाई निलम्बन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा पनि दायर गरेको थियो । तर, विशेष अदालतले भ्रष्टाचार मुद्दामा उनलाई सफाइ दिइसकेको छ ।

सोही फैसलालाई टेकेर गंगालालको सञ्चालक समितिले उनलाई दुई वर्षपछि पुनः जागिरमा फर्काउने निर्णय गरेको हो । रमाइलो त के छ भने विभागीय सजायको आदेश दिन गठिन उपसमिति (छानविन समिति)ले विनोदकुमारलाई नक्कली पिसिआर रिपोर्ट बनाएको, त्रिवि शिक्षण अस्पताल र गंगालालको नक्कली लेटरप्याड बनाएर रिपोर्ट दिने गरेको, परीक्षण नै नगरी रिपोर्ट बेचेको र पोजेटिभ रिपोर्ट २ हजार रुपैयाँ लिएर नेगेटिक बनाएकोलगायतका विषय आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै जागिरबाट हटाउन सिफारिस गरेको थियो । हेल्थआवाजसँग विनोदकुमारले पोजेटिभ रिपोर्टलाई नेगेटिभ बनाइदिन गरेको बार्गेनिङसहितको भिडियोसमेत सुरक्षित छ ।

९० दिन लगाएर गरेको अध्ययनमा छानविन समितिले विनोदकुमारलाई चित्त नबुझेमा ३५ दिनभित्र समितिमा पुनरावेदन गर्ने मौकासमेत दिएको थियो । तर, उनले पुनरावेदन दिएका थिएनन् भने छानविन समितिले पटक—पटक बयान लिन बोलाउँदा समेत उपस्थित भएका थिएनन् ।

कतिसम्म भने त्यतिबेलै छानविन समितिलाई प्रभाव पार्ने उनले शक्ति केन्द्र गुहारेका थिए । तर, छानविन समितिले त्यसको प्रभावमा नपरी १९ मंसिर २०७८ मा गंगालाल सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको थियो । छानविन समितिले विनोदकुमारलाई भ्रष्टाचार विरुद्धको कसुरमा नभएर गंगालाललाई हानी नोक्सानी पु¥याएको कसुरमा जागिरबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा सञ्चालक समितिले उनलाई जागिरबाट बर्खास्त गरेको थियो ।

छानविन समितिले केन्द्रको कर्मचारी सेवा सुविधा सम्बन्धी नियमावलीको दफा १३.५ को (छ) र (ट)मा भएको व्यवस्थाअनुसार विनोदकुमारलाई बर्खास्त गर्न सिफारिस गरेको हो । उक्त दफाको उपदफा (छ) जानी—जानी लापरवाही वा हेलचेक्रेयाइ तरिकाबाट गरेको कामको परिणामस्वरुप बिरामीको स्वास्थ्यमा गम्भी असर पुगेमा वा मृत्यु भएमा र उपदफा (ट)मा केन्द्रको हित विपरित कुनै संस्था वा व्यक्तिसँग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादा विपरित गैरजिम्मेवारी पूर्ण काम गरेमा भविष्यमा केन्द्रको सेवाबाट अयोग्य नठहरिने गरी बर्खास्त गर्न सक्ने व्यवस्था छ । तर, केन्द्रको बोर्ड बैठकले विशेष अदालतबाट भ्रष्टाचारको मुद्धामा सफाइको पाएको भन्दैं उनलाई पुनः काममा फर्काएको हो ।

गंगालाल अस्पतालका सूचना अधिकारी सुदीपचन्द्र दाहालले जागिरबाट बर्खास्त गर्दा पनि बोर्डकै निर्णयका आधारमा गरिएको र पुनः बहाली पनि बोर्डकै निर्णयका आधारमा गरिएको बताए । ‘पहिले उहाँलाई जागिरबाट बर्खास्त गर्ने निर्णय पनि बोर्डले नै गरेको हो,’ उनले भने, ‘अहिले पनि बोर्डकै निर्णयका आधारमा पुनः हाजिर गर्न बोलाइएको हो ।’

यो पनि पढ्नुहोस्

नक्कली रिपोर्ट बनाएको आरोप लागेका ल्याब प्रमुखलाई जोगाउन चित्रलेखादेखि महान्यायाधिवक्तासम्मको दबाब

नक्कली पिसिआर रिपोर्टकाण्ड : गंगालालका प्रयोगशाला प्रमुख जागिरबाट निष्कासित


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ