२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजिल्ला अस्पतालहरुमा आईसीयुसहितको सेवा विस्तार हुन्छ : मन्त्री बराल

जिल्ला अस्पतालहरुमा आईसीयुसहितको सेवा विस्तार हुन्छ : मन्त्री बराल


बुटवल—प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुमा आईसीयुसहितको सेवा विस्तारको तयारी रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षदेखि हरेक जिल्ला अस्पतालमा आईसीयु सेवा विस्तारलाई जोड दिइने बताए ।

आर्थिक वर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीलाई आइतबार सम्वोधन गर्दै मन्त्री बरालले सेवालाई गुणस्तरीय बनाउन स्वास्थयकर्मी नै लाग्नुको विकल्प नरहेको बताए ।

मन्त्री बरालले सिमित औषधि सिरिञ्ज प्राप्त गर्नको लागि मन्त्रालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने समेत बताए । उनले जनताको अपेक्षा अनुरुप गुणस्तरीय सेवा जनताको नजिक पुगेर दिनुपर्नेमा सरकार दृढ रहेको बताए । प्रदेश सरकार स्वास्थ्यकर्मीको सबै प्रकारको सुरक्षाको लागि सचेत रहेको समेत सो अवसरमा उनले बताए । स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाइ थियो ।

प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले सबै जनताको पँहुचमा स्वास्थय सेवालाई सहज रुपमा पु¥याउनुपर्नेमा जोड दिए । उनले त्यसको लागि स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका हुने समेत बताए । प्रदेश सरकारले सञ्चालन गरेका योजना सफल बनाउनको लागि स्वास्थयकर्मीहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले स्वास्थ्य क्षेत्र सुधारका लागि गुरुयोजना निर्माणको काम सुरु भएको बताए । उनले छात्रवृत्ति करारमा आएका चिकित्सक र अन्यकर्मचारीहरुलाई रिक्त पद हेरी समायोजन गर्ने वातावरण निर्माणको आवश्यकता औल्याए ।

गोष्ठीमा प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी, आर्थिक मामिला मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, योजना आयोगका सदस्य पुष्पा भुसाललगायतले बोल्दै स्थानीय तहमा प्रयोगशाला सञ्चालन अति आवश्यक देखिएको बताए । उनीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको लागि ल्याबको आवश्यकता रहेको धारणा राखेका थिए ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा आइतबारदेखि बुटवलमा प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । कार्तिक २६ गतेसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेश ५ का १२ वटै जिल्लाका स्वास्थ्य शाखाका प्रमुख प्रदेश अस्पतालका प्रमुखहरुको सहभागिता रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ