काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोध खोप विभिन्न खोप अभियान संचालन गर्न साथ र सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको बताएका छन् । शुक्रबार इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप अलायन्स गाभीको बैठकमा सहभागी भएर फर्केपछि स्वास्थ्य मन्त्रीले उक्त कुरा बताएका हुन् ।
‘छिट्टै हेपाटाइटिस बी तथा हैजा पजरुद्ध एवं क्यान्सर निरोधक विभिन्न खोप अभियान सञ्चालन गर्न साथ र समर्थनका लागि हामीले विश्व समुदायलाई गाभीमार्फत अनुरोध गरेका छौं,’ स्वास्थ्य मन्त्री पौडेलले फेसबुकमा भनेका छन् ।
उनले गाभीको बैठकमा नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत प्राप्त गरेको उपलब्धिबारे विश्व समुदायबाट समर्थन प्राप्त गरेको बताए । ‘पाठेघरको मुखको क्यान्सर विरुद्ध हामीले सञ्चालन गर्न लागेको खोप अभियानमा प्राप्त समर्थनका लागि गाभीलगायत सरोकारवालाहरुलाई नेपालका तर्फबाट धन्यवाद व्यक्त गरेका छौं,’ उनले भने ।
उनले अहिले खोप कार्यक्रमबाट १३ प्रकारका खोप प्रदान गरेर बालबालिकाहरुलाई जटिल स्वास्थ्य समस्याबाट बचाउने प्रयास जारी राखेको समेत उल्लेख गरे ।