२०८२ असार ३२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमाको सर्भर लगातार डाउनः अस्पतालमा भिड, बिरामीलाई सास्ती

स्वास्थ्य बीमाको सर्भर लगातार डाउनः अस्पतालमा भिड, बिरामीलाई सास्ती


काठमाडौं—स्वास्थ्य बीमा बोर्डको सर्भर प्रणाली अवरुद्ध हुँदा बिरामीहरूले सास्ती पाएका छन् । मंगलबार बिहानैदेखि देशभर नै स्वास्थ्य बीमाको सर्भर डाउन भएको छ । प्रदेशकै ठूलो कोशी अस्पताल र मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बीमाको सर्भर डाउन भएपछि सेवाग्राही र अस्पताल प्रशासन समस्यामा परेका छन् ।

यस्तै, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगातयका देशभरका अन्य अस्पतालहरुमा पनि सर्भर चलेको छैन । जसका कारण बिरामीहरुले सास्ती खेप्नुपरेको छ ।

कोशी अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमाको डिजिटल प्रणालीमार्फत बिरामीको विवरण दर्ता र भुक्तानी प्रक्रिया सञ्चालन हुने भएपनि सर्भर लगातार डाउन हुँदा सेवा अवरुद्ध भएको हो । यसले स्वास्थ्य बीमाबाट उपचार गराउँदै आएका बिरामीलाई प्रत्यक्ष असर गरेको छ ।

‘बिहानैदेखि बिरामी र आफन्तहरूले चर्को गुनासो गरिरहेछन् तर सर्भर नचलेपछि हामी पनि लाचार छौं,’ विराट अस्पताल प्रशासनमा कार्यरत एक कर्मचारीले भने । उनका अनुसार विराटमा दैनिक करिब ८०० जनाजति बिरामी यहाँ स्वास्थ्य बीमाको माध्यमबाट उपचार गराउन आउने गर्छन् ।

सर्भर डाउन हुँदा बिरामीहरूलाई न त फाराम भर्न सहज भयो, न त औषधि लिन नै । कतिपयले उपचारका लागि आफ्नो खल्तीबाट खर्च गर्नुपर्‍यो भने केही बिरामी भने सिधै फर्किन बाध्य भए ।

विराटनगरबाट आएका ६२ वर्षीय सत्यनारायण शर्मा गम्भीर पेट दुखाइका कारण बिहान अस्पताल पुगेका थिए । ‘स्वास्थ्य बीमाको कार्ड देखाउँदा प्रणाली चलेन भनेर फर्काइयो, पैसा तिरेर उपचार गर्न भने तर कहाँबाट ल्याउने ?’ उनले ले गुनासो गरे । उनका अनुसार सरकारले स्वास्थ्य उपचारलाई सहज बनाउने भनेपनि प्रविधिको कमजोरीले झन सास्ती दिएको छ ।

‘स्वास्थ्य बीमाको सेन्ट्रल सर्भर काठमाडौंमा रहेको बोर्डबाट सञ्चालन हुन्छ । ‘पटक–पटक बोर्डमा जानकारी गराएका छौं तर अहिलेसम्म कुनै समाधान नआएको गुनासो छ,’ कोशी अस्पतालका मेसु डा. रूणा झाले भनिन् ।

उता, बिरामीका आफन्तहरू भने उपचारमा ढिलाइ भएपछि आक्रोशित देखिन्थे । कतिपयले अस्पताल प्रशासनमाथि अव्यवस्थापनको आरोप लगाउँदै चर्काचर्की समेत गरे ।

स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै गएपनि प्रविधिगत पूर्वाधार सुदृढ नभएकाले समस्या बढ्दै गएको छ । सरकारले डिजिटल प्रणालीको भर परेर योजना त ल्यायो तर आधारभूत तयारी नगरेकै कारण बारम्बार यस्ता समस्या आइरहेका छन् ।

स्वास्थ्य बीमा बोर्डले देशभरका सरकारी तथा सहकार्यमा रहेका अस्पतालहरूमा अनलाइन प्रणाली लागू गरेको छ । तर, सर्भरको अस्थिरता, डेटा अपलोडको कठिनाइ र प्रविधि अभावका कारण योजना कार्यान्वयनमै चुनौती आइरहेको देखिन्छ । यसैबीच, बिरामीहरू र अस्पताल प्रशासन दुवैले तत्काल सर्भर समस्या समाधान गरी नियमित सेवा सञ्चालनको माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ