२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए निर्वाचनः महासचिवका चर्चित आकांक्षीहरु पछाडि पारिदैं

एनएमए निर्वाचनः महासचिवका चर्चित आकांक्षीहरु पछाडि पारिदैं


काठमाडौं—मुलुककै पहिलो व्यवसायिक संगठन नेपाल चिकित्सक संघ (एनएमए)को चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै आकांक्षी उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि जोडतोडका साथ लागिरहेका छन् ।

राजनीतिकवृत्तमा जसरी सरकार र प्रतिपक्षबीच कित्ताकाट छ । एनएमएमा पनि ठ्याक्कै त्यही शैलीमा दुई कित्तामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म अध्यक्षका लागि लोकतान्त्रिक (कांग्रेस निकट)बाट डा. लोचन कार्की अध्यक्षका उम्मेदवार बन्ने निश्चित भएको छ । प्रगतिशील (नेकपा निकट)तर्फबाट पनि डा. पुष्पमणि खराल अध्यक्षको उम्मेदवार बन्ने निश्चितप्रायः छ ।

औपचारिक रुपमा अध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी नै घोषणा गरिसकेका बेला महासचिवमा भने अझै पनि उम्मेदवारी निश्चित भैसकेको छैन् । लोकतान्त्रिक प्यानलको आधिकारिक उम्मेदवार डा. बद्री रिजाललाई घोषणा गरिएको छ । तर, महासचिवका प्रमुख दाबेदार मानिएका डा. प्रकाश बुढाथोकीले आफूलाई उक्त निर्णय मान्य नभएको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

त्यसैगरी, एनएमएका पूर्व अध्यक्षहरु पनि महासचिव उम्मेदवारीको निर्णयप्रति सन्तुष्ट छैनन् । ‘नयाँ व्यक्तिलाई उम्मेदवार बनाइएको छ,’ एनएमएका एक पूर्व अध्यक्षले भने, ‘महासचिवजस्तो पावरफूल पदका लागि टपक्क टिपेर उम्मेदवार बनाउनु हुँदैन थियो । कम्तिमा एक पटक पदाधिकारीमा रहिसकेको व्यक्तिलाई उम्मेदवार बनाउनुपथ्र्यो ।’ डा. प्रकाशसँगै सो प्यानलबाट महासचिवका प्रभावशाली आकांक्षीका रुपमा हेरिएका डा. विश्व दवाडी, डा. शिवजी पाैडेलले पनि उम्मेदवारी पाएनन् । डा. दवाडी मेडिकल काउन्सिलका सदस्य हुन् ।

यता प्रगतिशील खेमामा भने महासचिवका लागि धरानका चिकित्सक डा. मधुर बस्नेतलाई अगाडि सार्ने सुरसार रहेको बताइएको छ । पार्टी, सत्ता र अन्य नियुक्तहरुमा पूर्व माओवादी र पूर्व एमालेका नाममा भागवण्डा भैरहेका बेला एनएमएको अध्यक्ष र महासचिवको उम्मेदवारीमा पनि त्यही भागवण्डा दोहोरिने सम्भावना देखिन्छ । पूर्व एमाले निकट भनेर चिनिएका डा. खराल अध्यक्षको उम्मेदवार बन्ने भएपछि महासचिवमा पूर्व माओवादी निकट भनेर चिनिएका डा. बस्नेतलाई उठाएर आन्तरिक भागबण्डा मिलाउने तयारी प्रगतिशील खेमा रहेको बताइन्छ । ‘अहिले एनएमए निर्वाचनमा जित्ने अनुहार हुँदाहुँदैं पनि भागबण्डाले निर्वाचन माहौल बिग्रिने देखियो,’ प्रगतिशील खेमा निकट एक चिकित्सक भन्छन्, ‘सत्ता र पार्टी शैलीमा भागबण्डा मिलाउने यो शैलीले यसपटक अवसर पनि गुम्ने सम्भावना देखिन्छ ।’ प्रगतिशीलले महासचिवका उम्मेदवारका लागि आन्तरिक रुपमा तय गरेका डा. बस्नेत उपत्यकाबाहिर बसेर काम गरेका कारण त्यति चर्चित अनुहार होइन ।

यसअघि सो खेमाबाट महासचिवका बलिया प्रतिस्पर्धी मानिएका डा. सन्तोष पौडेल, डा. दीपेन्द्र पाण्डे, डा. रविन खड्कालगायतलाई कहाँ मिलाउने भनेर प्रगतिशील खेमालाई धौं—धौं परेको छ । डा. पौडेल यसअघि पनि बरिष्ठ उपाध्यक्षमा पराजित भएका हुन् । डा. पाण्डे सरकारी चिकित्सक संघका अध्यक्ष हुन् । उनी पछिल्लो समय चिकित्सकका विभिन्न मुद्धामा अगुवाई गरिरहेका कारण चिकित्सकमाझ सेलिब्रेटीको छवि बनाउन सफल छन् । यस्तै, डा. खड्का गोदानका महासचिव हुन् । उनी अधिकांश समय काठमाडौं बाहिर बसेर काम गरेका चिकित्सक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ