२०८२ चैत्र ९, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु

सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु


विराटनगर—आइतबार मध्यान्हको १२ बजेको थियो । कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल ‘कोशी अस्पताल’मा बिरामी र तिनका आफन्तको ठूलो चाप थियो । कोही हतारमा औषधि लिन दौडिरहेका थिए, कोही रिपोर्ट देखाउन पालो पर्खिरहेका थिए ।

त्यही भीडको बीचमा एउटा यस्तो दृश्य देखियो— जसले सरकारी संरचना अपांगमैत्री नभएको कुरुप दृश्य देखाइरहेको थियो । एउटा बिरामी, जसका दुवै खुट्टा चल्दैनन्, भुइँमा दुवै हातले टेकेर घिस्रिँदै प्रशासन भवनतर्फ बढ्दै थिए ।

उनी थिएँ— भारत जोगवनीका पिन्टु कुमार पासवान । बजारमा मागेर आफ्नो र परिवारको गुजारा चलाउँदै आएका पिन्टु अहिले आफ्नै शरीरको असमर्थताभन्दा पनि अस्पतालको ‘अपाङ्गता मैत्री’ संरचना नभएका कारण मर्माहत भएका छन् ।

उनको समस्या आफ्नै लागि होइन, श्रीमती चम्पा देवी पासवानका लागि हो । केही दिनअघि एपेन्डिसाइटिस भएपछि उनले श्रीमतीलाई कोशी अस्पताल ल्याएका थिए । चिकित्सकहरूले चम्पाको सफलतापूर्वक शल्यक्रिया त गरिदिए । तर, पिन्टुका लागि असली सास्ती त्यसपछि मात्र सुरु भयो ।

श्रीमतीलाई अस्पतालको सर्जरी वार्डको तेस्रो तलामा राखिएको छ । अपाङ्गता भएका पिन्टुलाई तेस्रो तलासम्म पुग्न, तल ओर्लिएर औषधि लिन फार्मेसी जान र फेरि छुटका लागि प्रशासन धाउनु पहाड चढ्नुभन्दा कम छैन । ‘हामीजस्ता मान्छेका लागि यो सरकारी अस्पताल त नर्कजस्तै रहेछ,’ उनले आँखाभरि आँसु पार्दै भने, ‘श्रीमतीलाई तीन तलामाथि राखिएको छ । केही चाहियो भने ओहोर—दोहोर गर्नै सकिँदैन ।’

खुट्टा नचल्ने पिन्टुले हातले भुइँ टेकेर अस्पतालका चिसो भुइँमा घिस्रिँदै गर्दा त्यहाँबाट हिँड्ने सयौँ मानिसहरूले उनलाई त हेर्थे । तर, उनले भोगिरहेको प्रणालीगत सास्तीलाई कसैले महसुस गर्न सकेका थिएनन् । श्रीमतीको उपचारमा लाग्ने खर्चमा केही छुट पाइएला कि भन्ने आशामा उनी प्रशासन भवन पुग्न खोज्दै थिए । तर, अस्पतालका अग्ला खुड्किला र अपाङ्गतामैत्री ¥याम्पहरूको अभावले उनलाई पाइलैपिच्छे चुनौती दिइरहेको थियो ।

‘उपचार त भयो तर म जस्तो मान्छेले आफ्नै बलमा यहाँ सेवा लिन असम्भव रहेछ,’ उनले रुँदै थपे, ‘औषधि लिन जाँदा होस् वा पैसा तिर्ने काउन्टरमा, जताततै भीड र उचाइ छ । कसैले दया माया देखाए मात्र हो, नत्र हामी त यहाँ घिस्रिएरै मर्छौं होला ।’

पिन्टुको यो पीडाले नेपालका सरकारी अस्पतालहरूको एउटा तीतो यथार्थलाई उजागर गरेको छ । संविधानले सबैका लागि समान स्वास्थ्य र पहुँचको हक सुनिश्चितता गरेपनि व्यवहारमा कोशी अस्पतालजस्ता ठूला सरकारी स्वास्थ्य संस्थाहरू अझै पनि शारीरिक रूपमा अशक्त व्यक्तिका लागि सहज बन्न सकेका छैनन् । वार्डदेखि प्रशासनसम्म र फार्मेसीदेखि काउन्टरसम्म पुग्न पिन्टुले भोग्नुपरेको यो सास्ती केवल एक व्यक्तिको गुनासो मात्र होइन, यो समग्र स्वास्थ्य प्रणालीकै कारुणिक दृश्य बोलिरहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ