२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशटोल—टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वयंसेविकाको प्रशंशा

टोल—टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वयंसेविकाको प्रशंशा


भैरहवा—समुदायको टोल—टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वास्थ्य क्षेत्रमा अहम रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सिद्धार्थनगर नगरपालिकाले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको जनाए ।

यस वर्ष ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लेले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको औल्याइन् । उनले भनिन्, ‘आम समुदायको घर—घरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्, उनीहरुले समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् । सानातिना रोगहरुको उपचार विधि बताउँछन् । यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा हुन् ।’

उनले स्वयंसेविकालाई राज्यले राम्रोसँग परिचालन गर्न सके मातृशिशु र बाल स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिने जनाइन् । विना पारिश्रमिक स्वास्थ्य सुधारमा लागेका स्वयंसेविका हरेक स्थानीय तहको अभिन्न अंग भएको उनले जनाइन् ।

स्वयंसेविकालाई राम्रो सेवा सुविधा उपलब्ध गराउन सके स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन सकिने उनको भनाइ छ । काफ्लेले नगरपालिकाले स्वयंसेविकाको क्षमता वृद्धिमा विशेष ध्यान दिने र आगामी दिनमा तालिमहरु आयोजना गर्ने जनाइन् । प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विना पारिश्रमिक निःस्वार्थ रुपमा स्वयंसेविकाले सेवा गरेको भन्दै प्रशंसा गरे । उनले नगर मात्रै नभई सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान गरेको जनाए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले अहिले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने जनाए । उनले क्षमता अभिबृद्धिका काममा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने जनाए । स्वास्थ्य स्वयंसेविका सिद्धार्थनगर प्रमुख लक्ष्मी पाण्डेले स्वास्थ्य क्षेत्रमा आफूहरुले महत्वपूर्ण योगदान गरेपनि माथिल्लो निकायबाट आफूहरुका समस्या समाधानमा बेवास्ता गरिएको जनाइन् ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरभित्र स्वयंसेविकाको रुपमा काम गर्ने एक सय जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यस्तै, उनीहरुलाई परिचय—पत्र पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ । स्वयंसेविका नगर अध्यक्ष पाण्डेको अध्यक्षता तथा जनस्वास्थ्य अधिकृत उमा थापाको स्वागत तथा नगरपालिका नर्सिङ निरीक्षक गीतादेवी न्यौपानेको संचालनमा कार्यक्रम भएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ