२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट आउने ज्वरो र रुघाखोकी लागेकालाई एयरपोर्टबाटै टेकु अस्पताल लगिने

चीनबाट आउने ज्वरो र रुघाखोकी लागेकालाई एयरपोर्टबाटै टेकु अस्पताल लगिने


काठमाडौं—सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधैं निगरानीका लागि शहीद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लाने तयारी गरेको छ ।

शनिबार मन्त्रालयमा बसेको स्वास्थ्य अधिकारीहरुसहितको बैठकले चीनबाट आएका कोही पनि व्यक्तिमा सामान्य ज्वरो तथा रुघाखोकी देखिएमा एम्बुलेन्समार्फत अस्पतालको सर्भिलेन्स वार्ड (निगरानी कक्ष)मा राखेर जाँच पडताल गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अब आउने मात्र नभएर निश्चित समयअघि चीनबाट आएका जो कोहीलाई पनि रुघाखोकी र ज्वरो देखिएमा तिनीहरुलाई खोजी गरी अस्पतालमा ल्याउने तयारी भएको बताए ।

‘चीनबाट आएका शंकास्पद जो कोहीलाई पनि सिधैं टेकु अस्पतालमा ल्याएर निगरानीमा राखिने तयारी गरिएको छ,’ उनले भने, ‘त्यसका लागि अन्य अस्पतालहरुलाई पनि तीन दिनभित्र सर्विलेन्स वार्डको योजना तयार गर्न निर्देशन दिइएको छ ।’

यसअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा ८ जनाको टोलीसहित स्वास्थ्य डेस्कको स्थापना गरिसकेको छ । उक्त डेस्कले २४ सैं घण्टा काम गरिरहेको छ ।

कोरोना भाइरसबारेको सूचना एकद्वारा प्रणालीबाट

जनमानसमा भ्रमपूर्ण सूचना जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनालाई एकद्वारा प्रणालीबाट मात्र बाहिर ल्याउने तयारी गरेको छ ।

कोरोना भाइरसको विषयमा नीतिगतसहितका सामान्य जानकारीका लागि मन्त्रालयले प्रवक्तामार्फत आधिकारिक धारणा सार्वजनिक गर्ने र प्राविधिक विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ