२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेरो सहरमा भाइरस छिरेको छ रे !

मेरो सहरमा भाइरस छिरेको छ रे !


प्रभातमा
मेरो घरछेउ बज्ने
मन्दिरको घन्टीहरुका आवाज
सुन्न नपाउँदा
आजकल
म बहिरो बनिरहेको छु,
मोटर गाडीका कानै खाने
टड्कारा हर्नहरु
सुनिन छाडेका छन्
बज्छन् त केवल
एम्बुलेन्सको साइरन
जिन्दगीको युद्ध जित्न
किनकी
मेरो सहरमा भाइरस छिरेको छ रे ।

बिरामी शरीर लिएर
म महिनौ कोठामा थलिंदा पनि
पल्लो कोठाको ’हेल्लो हाई’
मैले सुन्न पाएको छैन
यन्त्र मानवहरु
पैसा बनाउने मेसिनजस्तै
बेखबर छन्
यो प्रेम र ममतासँग
लोपोन्मुख मानवतासँग
किनकी,
मेरा आफन्तहरु
भाइरसको त्रासमा
खान नपाउने डरमा
गाउँ फर्किसकेछन् ।

दिनभर सुर्य नदेखेको
सुर्यमुखीको शरीरजस्तै
मेरो मन ओइलाइ रहेको छ
यी मसानघाटझैं लाग्ने
काला कंक्रिटका जंगलहरु भित्र
यो निलो आकाश
म बस्ने घरको
छत माथि
झुण्डिएझैँ लाग्दा
मेरो चन्द्रसुर्य फहराएको
देख्न पाएको छैन
उता दिनमा
मजदूरी गरेर पेट पाल्ने
हरुको हालत झन् के होला
किनकी
सबैलाई कोरोनाले लखेट्दै छ रे ।

यो सोकेसमा
सजिएका सुगन्धहीन फूलहरु
यो स्क्रिनमा झर्दै गरेको
सेतो झरना
यो टिभीमा देखाइएका
अर्थहीन दृश्यहरु
मलाई फकाएझैं गर्दैछन्
फ्रिजभरि सजिएका
बेस्वादका जुसहरु
चुल्हामा पाकेको
अनेकौ परिकारहरु
खल्लो छ
नमिठो छ
किनकी
म भाइरसले ग्रसित भै सकेछु रे ।

तनाव छ
आक्रोश छ
सबैतिर
भाइरसको डरले
विरक्तिएकाहरु
निदाउन नसकेर
स्लिपिङ्ग ट्याब्लेट खाइरहेछन
मनलाई खुशी पार्न
कृत्रिम सान्त्वना दिइरहेछन्
अनि म
बाँचेको अभिनय गर्दैछु
यो धरातलमा
किनकी
म कोभिड-१९ सँग लड्दैछु ।।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ