२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यउतारचढाव मनस्थितीबीच हामी स्वास्थ्यकर्मी

उतारचढाव मनस्थितीबीच हामी स्वास्थ्यकर्मी


समयले निम्त्याएको यो भयंकर मोड, हिजो र आजबीचको फरक परिस्थिती । विश्वव्यापी चरम महामारी कोरोना भाइरस (कोभिड–१९) ले सबैलाई त्रसित पारेको यो दर्दनाक अवस्था । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन, इटलीलगायतका देशहरुमा समेत कोरोनाको संक्रमणले आफ्ना निर्दोष जनताहरुलाई गुमाउन पर्दा छटपटिएर रोइरहेको विकराल अवस्था । हाम्रो देश नेपाल लकडाउनले निम्त्याएका दिनहरु र हामी स्वास्थ्यकर्मीको दिनचर्या । दिनभर स्वास्थ्य संस्थामा बिरामीको उपचार तथा स्याहारमा व्यस्त अनि कार्यालय बन्द पश्चात कोठा फर्किने काम । वास्तवममा यसरी नै बितिरहेछ, स्वास्थ्यकर्मीका दिनहरु ।

यस्तै कुरा सोच्दैं कोठामा फर्किन्छु, केहीबेर विश्राम लिन्छु, वरिपरि हेर्छु । कोठाको अवस्था साँच्चै नै दर्दनाक देख्छु, कतै आँशु झारेर रोएजस्तै, कतै आफ्नो र आफन्तको खोजीमा भौतारिएजस्तै । कतै आफूले आफैलाई जिस्क्याएजस्तै । र, केहीको खोजीमा हराएको यात्रीजस्तै । भित्तामा रहेको घडी आफ्नै गतिमा दौडिरहेको छ । भित्तामा टाँसिएका आफन्तजन, परिवार र आफ्नै फोटोले समेत जिस्क्याइरहेकोजस्तो, यता पुरानो रगीन टि.भी. कोरोना कोरोना भन्दै चिच्याइरहेको ।

सम्झिन्छु, कस्तो समय आएछ, कस्तो युगमा जन्म लिइएछ । आफन्तले आफन्तलाई भेट्न पनि टिकट लिनुपर्ने अवस्था, डराउनुपर्ने अवस्था । हे दैव । टाउकोमा हात राख्दै फेरि कोठाभित्र एकपटक फनक्क घुम्छु । सहर बजारको बसाइ साँघुरो कोठा कति नै समय लाग्छ र घुम्नलाई । एकैछिनमा सकिन्छ फेरि हरेश खाँदै खाटमा थ्याच्च बस्छु, नजिकैको सिरक तान्छु, सिरानी च्याप्छु र ढल्किएर अगाडि रहेको मोवाइल लिएर डाटा खोल्दै सरर फेसबुक हेर्छु । कठै यो फेसबुक बनाउनेलाई चाहिं छेउमै गएर च्याप्प अंगालो मारेर चुप्प खाउँजस्तो । अहिलेको सबैभन्दा प्यारो भन्नु र जीवन साथी नै यहि मोबाइल त रहेछ, सबैले छाडेर जाँदा पनि यसले कहिल्यै नछोड्ने । आफ्नै प्यारो भन्ने मान्छेलाई समेत भेट्न नपाइरहेको बेला यो त झनै प्यारो भइदिने रहेछ ।

लकडाउनको प्रभाव । मोबाइलमा पैसा पनि कति चाँडो चाँडो सकिएको होला ? बुझ्नै गाह्रो । १ घण्टा अगाडि नजिकैको साहुजीको ढोका ढक्ढक्याएर बल्लबल्ल ५ रुपैंया बढी तिरेर लगाएको १ सयको रिचार्ज एकछिन पनि नचलाउँदै सकिने । यसो दुई चार वटा स्ट्याटस, फोटोहरु के हेर्दै थिएँ, ब्यालेन्सको म्यासेज आउँछ । झनक्क झ्वाँक चलेर आउँछ फेरि त्यो प्यारो मोबाइल नै झटारो हानुजस्तो । हुन त हाम्रो देशको गति नै यस्तो छ । लथालिङ पनि कति लथालिङ हो । माथिदेखि तलसम्म लथालिङ, तलदेखि माथिसम्म लथालिङ । यस्तो समस्या बुझ्ने को छ र । कसलाई के मतलब जताततै भ्रष्टाचार, शोषण, मानिसले मानिसलाई गर्ने दुर्व्यवहारबाहेक के नै सुनिन्छ र ? एउटा रुँदा अर्को हाँस्ने देश, एउटा सडकमा नाङ्गै हुँदा अर्को महलमा रमाउने देश र एउटा पीडामा छट्पटिंदा अर्कोलाई मज्जा हुने देश । कठै मेरो देश । यति हुँदाहुँदै त्यसमाथि प्रकृतिले पनि ठग्नु । कहिले भूकम्प जानु, कहिले बाढीपहिरो आउनु त कहिले रोग महामारी फैलिनु ।

साँच्चै प्रकृतिको यस्तो विपत्ति सामु झनै कसको के लाग्छ र । एक अर्कामा दुःख, सुख साटासाट गरेर बाँच्नेबाहेक अरु केहि पनि छैन । दिमागले पनि के—के सोच्न सकेको ? कैले के..कैले के ! जम्मा ५ रुपैयाँ व्यालेन्स बाँकी फेरि एउटाको स्ट्याटस आउँछ, पढ्छु, कोरोनाले मायाप्रीति गाढा बनाएको, अर्कोले लेख्छ कोरोनाले भ्रष्टाचार बढाएको । यो फेसबुक पनि कति चलाउनु । चलाउँदा चलाउँदै नै खुस्किएलाजस्तो, दिमाग नै ह्याङ होलाजस्तो । जसले जे लेखे पनि हुने बिडम्बना । जे होस अहिलेको महामारीमा राजनितीमा होस् वा व्यक्तिगत होस् मज्जाले चलेको जुहारी चलेको छ फेसबुकवालमा । अहिले को भन्दा को कम छ र । सबै जान्ने नै जान्ने । म पनि जान्ने उ पनि जान्ने, गज्जव छ बा । कतै लाइक त कतै कमेण्ट हेर्नैप¥यो । नहेर्दा कमेण्ट नगर्दा पनि सम्बन्ध विच्छेद होला भन्ने डर ।

कतितिर सम्झनु, जता सम्झ्यो त्यतै डर । दिक्क लागेर आउने यो डर भन्ने शब्दले । वास्तवमा डरैडरमा बित्ने भो जिन्दगी । यसबेला झनै ठूलो डर कोरोनाको महामारी, फेसबुकमा कोरोना, समाचारमा कोरोना, खाना खाँदा कोरोना, बाथरुम जाँदा पनि कोरोना, वाटोमा कोरोना, चिया पसलमा समेत कोरोना । बा ! यो कस्तो खालको चिज आयो, अचम्म सबैको मुखमा सजिलै बसेको । अब त हुँदाहुँदा गीत समेत कोरोनाको बज्न थाल्यो । ‘भागेर जाउँ कुन ठाउँ जाउँ’ भन्ने गीत साँच्चै नै अहिलेको परिप्रेक्ष्यमा आएर सुहाउने भएछ । यता आमाबुबालाई छोराछोरीको पीर, उता छोराछोरीलाई आमाबुबाको पीर । विदेशमा भएकाहरुलाई झन पीरैपीर । कतिलाई ऋण तिर्ने पीर, कतिलाई पैसा कमाएर परिवार पाल्ने पीर । जताततै पीरैपीरमा जिन्दगी गुज्रिएको अवस्था ।

यति धेरै के सोंच्नु । मोबाइलको तालमा सोच्दासोच्दै ब्यालेन्स पनि सकियो । फेरि फोन गरुँ भने रिचार्ज किन्न कँहा जाउँ । रिचार्ज कार्ड किन्दैंमा गोजी नै खाली भइसक्यो । ढाड दुखेजस्तो भान हुन्छ, जुरुक्क उठ्छु, एउटा खाली सिसाको कपमा थर्मसको तातो पानी हाल्छु र लामो श्वास लिएर पिउन थाल्छु । फेरि मनै त हो सम्झिन थाल्छु । पछिपछि त तातो पानीसमेत पिउन पाइदैन होला यस्तै हो भने । ग्याँसमा तताउँ ग्याँसै सकिने डर, लाइनमा तताउँ बिजुली महसुल पनि बढ्ने डर ! हाम्रो देशको अर्थतन्त्र पनि त डामाडोल छ । कति सोच्नु पानी पनि पिइ सकियो । समय बिताउन पनि धेरै गाह्रो हुने रहेछ ।

साँच्चै कसैले तिमीलाई दिनको ज्याला दिन्छु, दिनभरी ढोका लाएर सुतेर बस्नु भन्यो भने म चाँहि नसक्ने रहेछु । हुन त मलाई मात्र कहाँ हो र ? मान्छे त चेतनशील प्राणी हो । शुन्य भएर त को नै बस्न सक्छ र यो संसारमा ! समय पनि कति चाँडो दौडिएको हो ! पत्तै भएन । अब त साँझ पनि पर्न लाग्यो । बाहिर जाउँ त कता जाने फेरि उही कोठाको विस्तरामा आँखा जान्छ । पारा त उही हो, सिरक तान्ने र सिरानीमा ढल्किने । यो पापी आँखालाई त्यति सजिलै निन्द्रा लाग्छ र ? हुन त यो आँखा भएर त हामीले संसार हेर्न सकेको । यदि यो आँखा १ सेकेण्ड मात्र चिम्लिएर हेर्ने हो भने संसार कति अन्धकार हुन्छ, कल्पना नै गर्न गाह्रो । मोबाइल चलाउँदा चलाउँदा दिक्क भएको यो मन कहाँ स्थिर बस्न सक्छ र । छेउमा भएको रिमोट लिन्छु र अगाडि भएको टि.भी. खोल्छु । यसो च्यानल सर्च गरेर हेर्छु.. ऊफ् ! फेरि त्यही कोरोना । समचारको हेडलाइन देखि गीतसम्म कोरोनाको कुरा दिक्क । धन्न बच्चाहरु डिप्रेसनको शिकार नभएको । यस्तै हो भने अबको १ वर्षभित्र धेरै बच्चाहरु डिप्रेसनको शिकार हुनेछन् ।

हे कोरोना ! तिमी किन र कसरी आयौ यो धर्तिमा ? चाइनामा जन्मियौ, इटली र अमेरिकामा हुर्कियौं । नेपालमा आएर विश्राम गर्न खोज्दैछौ । सबै नेपालीलाई घर—घरमा बसेर विश्राम दिने मौका दियौ । धन्य छ, कोरोना तिमीलाई ! आज आएर तिमीले धेरैलाई सोच्न बाध्य बनायौ । कतिको छुट्न लागेको मायालु जोडीलाई जोडिदियौ त कतिलाई दिउँसै बोल्दै कराउँदै हिंड्ने बनाइदियौ । लाग्छ, राम्रो गीतको तालमा मोडेलहरु नाच्दा पनि रोएर उफ्रिए झैं लाग्ने । हुन त यो सब कोरोनाको भयको परिणाम होला । आफैं प्रश्न गर्छु र फेरि उत्तर पनि आफै दिन खोज्छु । अब त साँझको ५ बज्यो, भोक पनि लागिसक्यो । खाना पकाउनुपर्ने । यो मन कतै स्थिर छैन । जुरुक्क उठ्छु, कोठा वरीपरीको परिदृश्यलाई हेर्छु । कोठाको दृश्य पनि त्यस्तै कता—कता कसको खोजीमा टोलाएको यात्रीजस्तै दिक्क लाग्ने । कहिलेकाहीं त आफ्नो जिन्दगी आफैलाई बोझ भएर आउने ।

जुठा भाँडाकुँडा वरिपरी देख्छु बाल्टिनमा पिउने पानी सकिएको अवस्था । बाहिर जान्छु बाल्टिनमा पानी भर्छु र भित्र ल्याएर गीत गुनगुनाउँदै भाँडाकुँडा माझ्न थाल्छु । कुकरमा चामल राखेर पखाल्न खोज्छु । उत्तरचढाव पनि कति आएको हो फेरि सम्झिनु थाल्छु उहि कुरा । भोलि बिहान के पकाउने होला ? अझै यो कोरोनाले कहिलेसम्म अत्याउने हो ? मनभित्र काउकुती लागेर आउँछ । विभिन्न कुराहरु खेलाउँछु । दिक्क लागेर आउँछ र सोंच्छु । यो जागिर पनि कस्तो समयमा खाइएछ । सबै जागिरेहरु कोठामा बसेर फुर्सद मनाएको बेला आफू भने बिहानै उठ, खाना पका, खा, अनि कार्यालय जा । कहिलेसम्म बित्ने हो यसरी दिनचर्या ? सम्झेर आउँदा पनि धिक्कार लाग्ने । लकडाउन–२ भनेको सुन्दा झनै अत्यास लागेर आउने ।

पेशाले स्वास्थ्यकर्मी । सानो छँदा त घरपरिवार, आफन्त, आमाबुबा, समाजले छोराछोरी पढेर डाक्टर बनेस्, बिरामीको सेवा गरेस् भनेको सुन्दा पनि यो छात्ती गर्वले फुलेर आउँथ्यो । तर, आज कताकता आफ्नो पेशाप्रति नै निराशा छाएर आउनु कतै यो मानसिक विचलन त होइन ? डरै लागेर आउने । हुन त निराशा पनि किन नआओस् ? हामी स्वास्थ्यकर्मीका लागि सरकारले के नै राम्रो व्यवस्था गर्न सकेको छ र । न त हाम्रो कामको उचित मुल्यांकन, न त हामीलाई उचित सम्मान । अरु निजामती कर्मचारी र हामीबीच हेर्ने सरकारको दृष्टिकोण किन फरक छ ? अचम्म । खै उचित सेवा सुविधा ? खै पुरस्कार ? खोई बढुवा ? खोई अन्य तालिम ? फेरि कामको जोखिम भने चाँहि अरुले भन्दा हामीले बढी मोल्नुपर्ने । यस्तो महामारीको बेलासमेत दिनरात नभनी हिंडिरहेका छन्, ती महान् स्वास्थ्यकर्मीहरु । अहिले आएर हरेक क्षेत्रबाट हामीलाई चपेटामा पारिएको छ । चाहे राजनीतिक होस् वा अन्य । हाम्रो जागिर त वास्तवमा नेपाली उखान ‘खाउँ भने दिनभरीको शिकार नखाउँ त कान्छा बाउको अनुहार’ भने झैं भा छ । यस्तै छ, हामी स्वास्थ्यकर्मीको पीडा व्यथा ।

पढ्न पनि गाह्रो यति धेरै लगानी, ऋणपात गरेर बाबुआमाले पढाएको छ, छोडेर कहाँ जाने ? यत्रो लगानी कसरी उठाउने ? आज यता जा स्वास्थ्यकर्मी, उता जा स्वास्थ्यकर्मी । नगए जागिर नै च्वाट अरे ! आहा ! कति सजिलै बोल्छ हाम्रो सरकार । के स्वास्थ्यकर्मीको परिवार, आफन्त, सन्तान हुँदैन् ? उसलाई ज्यानको माया हुँदैन् ? हो हामीले सरकारको नुन खाएका छौं, सरकारले लगाए अह्राएको काम पनि गर्नुपर्छ र गर्छौ पनि । हामीमा हाम्रो पेशा र हामीले गर्ने सेवा तथा हाम्रो कर्तव्यप्रति अपनत्वको भावना छ ।

हामी बिरामी तथा जनताको सेवा गर्न स्वतस्फूर्त तयार छौं र खुशी पनि । तर, खोई सरकारले जीवन सुरक्षाको ग्यारेन्टी दिन सकेको ? विश्वभर महामारीका रुपमा कोभिड–१९ फैलिएको अवस्थामा पनि हामी नडराएर काममा र कोरोनासँग लड्नको लागि लडाइको मैदानमा सेना झैं उत्रिएका छौं । तर, खोई हामीलाई सुरक्षाको लागि चाहिने पर्याप्त सामग्री, खोई पर्याप्त पीपीई ? कस्तो अचम्म । यसमा को जिम्मेवार हुने ? के यो हाम्रो दोष हो ? उफ । टाउकोमा हात राख्दै । कुकरमा १ कप चामल धोएर ग्याँस चुलोमा बसालुन्जेल फेरि कति धेरै कुरा सोचिएछ । आखिरी यो जे—जे सोचे पनि सोच्नु मात्रै हो । यतिकैमा डाइनिङ टेबलमाथि भएको मोबाइलमा फोन आउँछ । झसङ झस्किन्छु र हेलो भन्दै फोन उठाउँछु ।

उताबाट आवाज आउँछ, ‘सर नमस्कार ! म सुरेश वोलेको । हिजो मात्र जापान हुँदै काठमाडौंबाट आएको । खै आज बिहानैदेखि अलिअलि ज्वरो आएको छ, हल्का खोकी पनि लागेको छ । कतै कोरोना पो हो कि भनेर डरले स्वयंसेविका दिदीसँग नम्बर मागेर हजुरलाई फोन गरेको । भोलि स्वास्थ्य चौकी आउँदा हुन्छ हजुर ? एकोहोरो बोलिरहेको थियो ।

म भन्दै थिएँ, ‘हुन्छ हजुर । भोलि त मेरो हेल्थ डेस्कमा ड्युटी परेको छ । अरु स्वास्थ्यकर्मी र सिष्टरहरु छन् । तपाई आएर जँचाउनु भए हुन्छ । केहि पीर मान्नु पर्दैन । फेरि कुनै ज्वरो आउने बितिकै कोरोना नै मात्र कहाँ हुन्छ र ! यो त सबै जाँच गरेपछि मात्र थाहा हुन्छ । त्यति धेरै शंका गरेर डराउन र आत्तिनु पर्दैन । यति के भन्दै थिएँ, झल्यास्स बिउँझिएछु । उफ । कस्तो अचम्म । कति लामो सपना देखेछु । के हुन लागेको हो । यो डरत्रासको मनस्थिती ? मध्यरातको निन्द्रामा बिउँझिएको आफूलाई सम्हाल्न खोज्छु र लामो श्वास लिंदै गुनगुनाउँदै निदाउने प्रयास गर्छु ।


(लेखक सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको गार्मा स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट हुन् ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ