२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यकर्मीको कोरोना अनुभवः १० महिनाको छोरा घरमा छोड्नुपर्दाको पीडा व्यक्त गर्न सक्दैनौं

स्वास्थ्यकर्मीको कोरोना अनुभवः १० महिनाको छोरा घरमा छोड्नुपर्दाको पीडा व्यक्त गर्न सक्दैनौं


नयाँ बानेश्वरस्थित मिलनचोकमा डेरामा बस्दै आएका छौं । अछामबाट मेरा भतिज नाकको हड्डी भाँचिएर उपचारका लागि काठमाडौं आएका थिए । भतिजको उपचारको शिलशिलामा म वीर अस्पताल, बागबजारस्थित नाक, कान, घाँटी अस्पताल र नयाँ बानेश्वरको सिभिल अस्पताल धाएँ । उनको नाकको अप्रेशन गर्नुपर्ने भयो । त्यही क्रममा २८ साउनमा मलाई एक्कासी १०२ डिग्री ज्वरो आयो । साथै टन्सिल पनि भएको थियो । टन्सिलले होला भनेर केही औषधी सेवन गरिरहेको थिएँ । भदौ ३ गते निकै गाह्रो भयो । उता भतिजाको पनि शल्यक्रियाका लागि कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने भयो ।

अस्पतालतिर गइरहेकाले कतै कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । त्यसपछि भदौ ४ गते मसँगै मेरी श्रीमती, भतिज र एउटै घरमा बस्ने एकजना साथी टेकु अस्पताल पुगेर स्वाब दिइयो । टेकुमै एकजना चिनजानको कर्मचारी हुनुहुन्थ्यो, उहाँले मलाई भोलिपल्टै कोरोना पोजेटिभ देखिएको जानकारी गराउनुभयो ।

म स्वास्थ्यकर्मी भएकाले मैले स्वास्थ्य मन्त्रालयका महेन्द्रप्रसाद श्रेष्ठ र गुणराज लोहनीलाई मलाई कोरोना पुष्टि भएको र ज्वरो पनि आएको कुरा जानकारी गराएँ । उहाँहरुले नआत्तिनुस् भन्नुभयो । लगत्तै उहाँहरुले आधा घन्टाभित्र एम्बुलेन्स पठाइदिनुभयो । मलाई लक्षण देखिएको थियो । तर, मेरी श्रीमती, भतिज र साथीलाई भने कुनै लक्षण थिएन । मलाई लक्षण देखिएकाले एम्बुलेन्सले सिधै दुवाकोटस्थित केएमसीको आइसोलेसनमा लग्यो । त्यहाँ चिकित्सकहरुले मेरो हिस्ट्री लिए । त्यतिबेला म निकै आत्तिएको थिएँ ।

मलाई रुघाखोकी, ज्वरो, शरीरको दुखाइ एकनासले थियो । कोरोनाको लक्षण देखिएपछि त्यही एम्बुलेन्समा त्यहाँका चिकित्सकले मलाई पाटन अस्पताल पठाए । तर, पाटनका डाक्टर टन्सिलका कारण तपाईंलाई गाह्रो भएको हो आत्तिनुपर्दैन भनेर फेरि दुवकोट नै पठाइदिए । उता मेरी श्रीमती र भतिजालाई भने अर्को एम्बुलेन्स आएर कीर्तिपुरको आइसोलेसनमा लगिसकेको थियो ।

मेरो १० महिनाको छोरा छ । १० महिनाको दुधे बालकलाई घरमा छोडेर आफूहरु आइसोलेसनमा बस्दाका पीडा म व्यक्त गर्नै सक्दिनँ । म दुवाकोट, श्रीमती कीर्तिपुर, छोरा घरमा मन त्यसै आत्तियो । मलाई कोरोनाभन्दा पनि बढी पीडा छोराको लाग्न थाल्यो । उता कीर्तिपुरमा श्रीमती पनि त्यत्तिकै अत्तालिएकी थिइन् । त्यसपछि मैले दुवाकोटमा हामी दुईजनालाई एउटै आइसोलेसनमा राखिदिन आग्रह गरें । उहाँहरुले पनि मानवीयता देखाउनुभयो । मलाई त्यही दिन राती ९ बजे दुवाकोटबाट कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र पुर्‍याइदिनुभयो । त्यसपछि अलि मनोबल बढेको महसुस भयो । तर, छोराको तनावले रातभर निदाउन सकिएन ।

४ दिनपछि छोरासहित परिवारका दाइ, भाइ, बहिनी र छिमेकीको स्वाब कलेक्सन गरियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि भने ढुक्क भएँ । हामीलाई आफूलाई कोरोना लागेपछि छोराको रिपोर्ट भने नेगेटिभ आइदियोस् भन्ने थियो । त्यही भयो ।

आइसोलेसनमा बस्दाका सुरुवाती दिन निकै पीडामा बिते । छोरासहित परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट थाहा नहुन्जेल त छटपटी हुन्थ्यो । रिपोर्ट थाहा भएपछि भने मनोबल उच्च बनाएर कोरोना जित्छौं भनेर मनोबल उच्च बनायौं । घरबाट पठाइएको गुर्जो, लसुन, प्याज, टिमुर, बेसार पानी, मह नियमित खान थाल्यौं ।

कीर्तिपुरको आइसोलेसनमा बालकदेखि वृद्धसम्मका कोरोना संक्रमित थिए । मलाई पनि ज्वरो विस्तारै कम हुँदै गयो । उहाँहरुसँग रमाइलो कुराकानी गर्दै, रमाइलो गर्र्दै दिन बित्न थाले । म बस्ने रुममा ९ जना थियौं । त्यसैले हामी नाच्ने गाउने गर्न थाल्यौं । जसरी हुन्छ आफूलाई कोरोना लागेको छ भन्ने भुल्ने कोसिस गथ्र्यौ । साथै, यसका प्रोटोकललाई पनि फ्लोअप गर्‍यौं । यसरी उच्च मनोबल बनाउँदै अनुकूल वातावरणमा आफूलाई ढाल्दै गयौं । यही क्रममा १४ भदौमा मेरो स्वाब कलेक्सन भयो । १८ गते आएको पीसीआर रिपोर्टमा नेगेटिभ आएपछि म डिस्चार्ज भएँ ।

कोरोना भाइरसको अहिलेसम्म कुनै पनि भ्याक्सिन र औषधि बनेको छैन । त्यसैले यसको प्रोटोकल अपनाउने, खानपिनमा ध्यान दिने, नियमित व्यायाम गर्ने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने गरियो भने कोरोनालाई सहजै जित्न सकिन्छ । यदि यसलाई हामीले हेलेचेक्रयाइ गर्नु भने हँदैन ।

कोरोना निको भैसकेपछि मैले प्लाज्मा दान गर्ने निर्णय गरेको छु । कोरोनामुक्त भएकाको प्लाज्मा कोरोनाका गम्भीर बिरामीलाई दिँदा निको भएका थुप्रै छन् । त्यसैले मैले पनि प्लाज्मा दान गर्ने निर्णय गरेको छु ।

आइसोलेसनको मेनु

कीर्तिपुरको आइसोलेसनमा म बस्दाको अवधिमा त्यहाँको व्यवस्थापन राम्रो थियो । त्यहाँ बिहानै हामीलाई योगा गराइन्थ्यो । ७ बजेपछि ब्रेकफास्ट चना र अण्डा दिइन्थ्यो । कुनैदिन गाँजरको जुस, पाउरोटी दिइन्थ्यो । दिउँसो ११ बजे खाना हुन्थ्यो । जसमा दाल भात तरकारी हुन्थ्यो । दिउँसो ३ बजे रोटी तरकारी खाजा दिइन्थ्यो भने कहिले चना अण्डा हुन्थ्यो । बेलुकाको खाना ७ देखि ८ बजेभित्र हुन्थ्यो ।

यो बाहेक अस्पतालको अन्य व्यवस्थापन राम्रो थियो । सुरुमा वाइफाइको व्यवस्था थिएन । हामीले माग गरेपछि त्यसको व्यवस्था भयो । बेडका तन्ना, कम्बलहरु सफा थिए । टुथ ब्रस, थर्मोमिटर, अक्सिजन र ब्लड प्रेसर जाँच गर्ने मेसिन पनि उपलब्ध थिए । साथै दैनिक शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी पनि दिइन्थ्यो ।

मेरो गुनासो

यो मेरोभन्दा पनि प्रत्येक कोरोना संक्रमितको गुनासो हो । पहिलो गुनासो त जब स्वाब परीक्षण गरिन्छ । त्यसको रिपोर्ट दिन ढिलाइ गरिनु नै हो । कोरोनाको परीक्षण भैसकेपछि उसले छिटोभन्दा छिटो आफ्नो रिपोर्ट थाहा पाउनुपर्छ । अर्को कुरा कोरोना संक्रमित भैसकेपछि उसको कन्ट्याक ट्रेसिङ नहुनु नै हो ।

कन्ट्याक्ट ट्रेसिङ त हुन्छ त्यो त्यति प्रभावकारी छैन । कोरोना रिपोर्ट पोजेटिभ आएपछि हाम्रो कन्ट्याक ट्रेसिङ हुनुपर्थ्यो, त्यो भएन । जसले समुदायमा कोरोना फैलिन अझ बल पुर्‍याएजस्तो लाग्छ ।

हामीसँग केही कोरोना संक्रमित कैदीवन्दीलाई पनि राखिएको थियो । उनीहरुलाई अन्यत्र छुट्टै ठाउँमा व्यवस्थापन गर्दा राम्रो हुने थियो । त्यसबाहेक मनोवैज्ञानिक परामर्श पनि कोरोना संक्रमितका लागि अति आवश्यक देखिन्छ । त्यसको पनि सरकारले आइसोलेसन सेन्टरहरुमा व्यवस्थापन गर्नुपर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ