×
२०७७ कात्तिक ३, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्यप्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं !

प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं !


यो धर्तीमा प्राणरुपी भौतिक शरीर बनेर आएपछि उसले प्रकृतिको अकाट्य नियममा त रहन पर्छ नै । चिकित्सक भएपछि हरेक दिन मृत्युलाई नजिकबाट नदेखी सुखै छैन । तर, करिब ८ वर्षदेखिसँगै एउटै कक्षामा पढ्दैं आएको साथीको मृत्यु हुँदैछ भन्ने कुरा यो चिकित्सक मनले पनि स्वभाविक नमान्दो रहेछ ।

२ असोजमा । विहान करिब ७ः३० बजे साथी बिनिताले आफ्नो भौतिक शरीर छोडेर हामीबाट टाढा भइन् । बिनितालाई चिनेको ११ कक्षामा अरोमा कलेज पढ्दादेखि नै हो । त्यतिबेला हामी त्यति धेरै नजिक थिएनौं । ट्युसन पढ्न थालेपछि भने अलि निकट भयौं ।

ट्युसन पढ्दा बिहानपख राजेश दाइको पसलमा जेरी पूरी खान जान्थ्यौं । सबैसँग मिल्ने, खेल्ने, हाँस्ने गथ्र्यौ । उसले १२ कक्षामा बायो रोजेपछि त्यति भेट त हुन्थेन । एमबीबीएस भर्ना भएर पहिलो दिनमै चितवन मेडिकल कलेजमा भेट्न पाइयो । पहिलो दिन हामी चितवनबाट पढ्ने साथीहरु धेरै नै भएकाले सजिलो भएको थियो । एकअर्काको साथी बन्न र बनाउन ।

संयोग नै उस्तै । बिनिताको जन्मदिन चैत्र २४ गते । मेरो २५ गते । सधैं बिनिताले मलाई भन्थिन्, ‘त एकदिनले भाइ होस् ।’ प्रत्येक जन्मदिनमा मलाई सम्झिन पनि सजिलो हुन्थ्यो । पर्सी मेरो जन्म दिन भोलि बिनिताको जन्मदिन । अर्को कुरा मेरा मावली लामिछाने । बिनिता पनि लामिछाने । जिस्किदैं भन्थे, ‘तेरो घर त मेरो मामाघर हो । टीका लाउन आउछु है ।’

बिनिता आफ्नै पाराकी थिइन् । आफ्नो कुरा गर्नैपर्ने, बोलेपछि पूरा गर्नैपर्ने । किताब पढ्न अलि बढी रुचाउने । हामी अझ नजिक त्यतिबेला भयौ, जब हाम्रो कम्युनिटी मेडिसिनको पहिलो वर्षमा हुने फिल्ड भिजिटमा म क्याप्टेन भएँ । मेरो टिममा १२ जना थियौं । त्यो समूहमा बिनिता पनि थिइन् । हामी ११ जना साथी एकमहिना साथीभन्दा परिवार जसरी बस्यौं ।

धेरै मिठा यादहरु लिएर फर्कियौं । सँगै बसेपछि भनाभन त भै नै हाल्छ । काम धेरै हुन्थ्यो, हिड्नु पनि उस्तै पथ्र्यो । माडीको चर्को घाममा दिनदिनै हिँड्दै डाटा संकलन गर्नुपथ्र्यो । बिनिता नजिक—नजिक जान्छु भन्ने, डाटा लिन अल्छी गर्ने । कहिलेकाहीँ त्यही भएर म गाली गर्थे । ‘काम ठीकसँग गर न,’ सम्झाउँदैं भन्थे । यसरी नै ४—५ वर्ष हामी एकआपसमा झगडा गर्ने, उस्तै मिल्ने, गाली गर्ने, किताब नोटहरू साटफेर गरेर पढ्न गथ्र्यौ ।

तर, अहिले परिवारजस्तै बनेकी बिनिता धेरै याद छोडेर यो संसारबाट नै पर गइन् ।

त्यो मुटु हल्याउने फोन

भदौं १५ गते । बेलुका करिब ७ बजेको सेरोफेरोमा फोनको घण्टी बज्यो । फोन उठाउँदा डा. हरिशचन्द्र न्यौपाने सरको रहेछ । सरले भन्नुभयो, ‘आविष्कार बिनिताको स्कुटर दुर्घटना भएछ । अर्को अस्पतालमा छ रे । उपचार त्यहाँ ढिलो होला । मैले हाम्रो अस्पतालको इमर्जेन्सीमा भनिसकेको छु । तिमी गएर छिटो सिफ्ट गर त ।’

‘हस् सर,’ भनेर म अस्पताल तिर दौडिएँ । जाँदाजाँदै प्रोग्रेस र विपिनलाई फोन गरेर भने, ‘तिमीहरू पनि आउनु है ।’ बीचमा सुचितालाई थाहा छ कि भनेर फोन गरे । उसलाई पनि अस्पताल बोलाए । यसरी हामी अस्पताल पुग्यौं ।

अस्पतालमा पुग्दा बिनिताको सामान्य होस् थियो । हतार—हतार हामी सबै मिलेर अझ विशेषगरी डा. नितेश कर्ण दाइसँगै न्यूरो आईसीयु पु¥यायौं । यसरी ३—४ दिन बित्यो, टाउकोमा गम्भीर चोट थियो । मस्तिष्कमा भित्र चोट लागेको थियो । मस्तिष्कको चोट सानो होस् या ठूलो त्यसको असर कतिबेला के हुने हो विज्ञान नै स्पष्ट छैन् । प्रश्न चिह्न खडा गर्ने खालको हुन्छ ?

हामी सबै साथी हरेक दिन प्रार्थना गर्दै बस्यौं— त्यस्तो कुनै खालको ठूलो असर र टाउकोको प्रेसर बढ्दै नजाओस् । तर, विडम्बना जे नहोस् भनी चिताएको थियौं, त्यही भयो । भोलिपल्ट बिहान मोबाइलमा करिब ४ बजे फोनको घण्टी बजेको रै’छ, मैले थाहा पाउन सकिन । ५ बजे निन्द्रा खुल्दा फोन हेर्छु त टन्नै फोन कल आएको रैछ । त्यसपछि हतार—हतार अस्पताल पुगे । रगतका लागि रहेछ । अस्पताल पुग्दा सबैजना तनावमा थियौं । बुझ्दै जाँदा शल्यक्रिया गर्नैपरेछ । टाउको भित्रको प्रेसर बढेपछि त्यसलाई घटाउन शल्यक्रिया गरिएको रहेछ ।

न्यूरो आईसीयु गयौं । म, सुचिता, निरुता भित्र जाँदा भेन्टिलेटरमा राखेर कृतिम तरिकाले श्वास चलाइएको थियो । हामी तीन मलिन अनुहार, आँखाभरी आँसु बोकेर बाहिर निस्क्यौं । बाहिर बिनिताको बाबाममी, हामीलाई कुरेर बस्नु भएको थियो । हामी बाहिर आएर सम्झाउन थाल्यौं । ‘धेरै आतिनु पर्दैन, एक दुई दिनमा होस् आउँछ, आँखा खोल्छे । ७२ घण्टामा आँखाको नानी खुम्चिन्छ । हामी धैर्य गरौं, टाउकोको शल्यक्रिया गरेपछि होस् आउन आँखाको नानीमा प्रकाश पारेर हेर्दा नानी खुम्चिन्छ ।’ यसरी हामीले मनलाई स्थिर बनायौं । ठीक होस भनेर भगवानसँग कामना गर्न थाल्यौं ।

दिनहरू बित्दै गए । पहिलो २४ घण्टामा कुनै फरकपन देखिएन् । दोस्रो दिन सुरु भयो अर्थात् शल्यक्रिया गरेको ४८ घण्टा प्रत्येक मिनेट अब ढुकीढुकी बढिरहेको थियो । हरेक साथी हामी केवल बिनिताको शरीरबाट मस्तिष्कले गर्नुपर्ने कामको थोरै भएपनि सिग्नलको आशा गरेर बसेका थियौं । जति समय घर्किदैं जान्छ, मुटुको ढुकढुकी त्यति नै बढ्न थालेको थियो । त्यति नै धेरै घरपरिवारका सदस्यहरु आतिन थालेका थिए, कसैले केही गर्न नसक्ने अवस्थामा थियौं । ७२ घण्टाको समय पनि सिद्धियो । हामी भगवानको चमत्कारको प्रतीक्षा गर्न थाल्यौं । चितवन मेडिकल कलेजका छैंटौं ब्याचका एमबीबीएस पढ्ने साथीहरु दिनभर त्यही चमत्कारको पर्खाइमा बस्यौं ।

हरेक व्यक्ति बिनिताका नजिक थिए । साथीभाइ, इष्टमित्र, सबैजना चिन्तित, मन चिसो बनाएर, भगवानकै आशा भरोसामा घडिका सेकेण्डहरु गनिरहेका थिए । सेकेण्ड, मिनेट, घण्टा हुँदैं दिन बित्दै गए, हामी चिकित्सक साथीहरुको बीचमा अब नैराश्यता, अनुहारमा दुःखका रेखा, आशा त्यान्द्रामा मात्र सीमित हुँदै गएका थिए । अब बिनिताको भौतिक शरीर हामीमाझ आउन सक्दैन भन्ने कुरा सबै साथीको मनमा गडिसकेको थियो ।

हामीलाई त्यतिबेला किन चिकित्सक भइएछ भन्ने कुराले मनमा हजारौं बोझ बढाइरहेको थियो । मेरो साथी अब ठीक हुँदैन्, यो—यो भयो अब यो भएपछि बाँच्ने सम्भावना एकदम न्यून छ भनेर चिकित्सकीय दिमाग भन्थ्यो । त्यसले हरेकपल्ट निराशामा थपेर जान्थ्यो । त्यतिबेला हामी चिकित्सक नभएको भए उता आईसीयु बाहिर बस्नु भएका बिनिताका परिवार, इष्टमित्रजस्तै लाख आशा र आत्मविश्वासमा हुन्थ्यौं होला । तर, विडम्बना हामी चिकित्सकले आशाको कुनै संकेत देख्न नसक्दा एकदमै पीडा र कठिनताबाट गुज्रिन परिरहेको थियो ।

हरेकपल्ट अस्पतालको आईसीयुबाट बाहिर निस्किएर कुरिरहेका परिवारका सदस्यलाई सम्झाउँदा चिकित्सक मनलाई सम्हालेर, पीडालाई लुकाएर, साथीको अवस्थाप्रति ठूलो आशा देखाउनुपथ्र्यो । जतिपल्ट अंकलसँग कुरा गर्थे, मेरो खुट्टा कामिरहेको हुन्थ्यो । खलखलती पसिनाले शरीर रुझेको हुन्थ्यो । मन भित्र—भित्र पोलेको हुन्थ्यो । चिकित्सक दिमागले अब हुँदैन भनेर भनिरहेका बेला बाहिर यसरी कुरा गर्दा मन टुक्रा—टुक्रा हुन्थ्यो । दिनदिनै तनाव बढ्दैं गएको थियो । राति निन्द्रा नलाग्ने, साथीभाइ एकापसमा बसेर आँसु खसाल्न सक्नेबाहेक हामीसँग के नै उपाय नै थियो र ? हामी हारिरहेका थियौं । हाम्रा हातखुट्टा, मस्तिष्क बाँधिएका थिए ।

एकैपल्ट चिकित्सक र साथी भएर उभिनुपर्दा त्योभन्दा ठूलो समस्या केही हुँदो रै’नछ । हारेका चिकित्सकको मन । अलिकति झिनो आशा भएको साथीको मन । दुवै मन भित्र—भित्र लडिरहेका थिए ।

चिकित्सक मनले अब हुँदैन्, केही गरे नि हुँदैन भनिरहेको थियो । विज्ञान र चिकित्सकले गर्ने सबै गरिसकेका छन्, अब केही सम्भव छैन भन्दै’थ्यो । तर, साथी मनले भनिरहेको थियो—चमत्कार हुन सक्छ । कहाँ अहिल्यैं हरेक खाएको । बिनिताको शरीर उठ्छ, हौसला राख्नु, धैर्य गर्नु । दुई मन दुई मस्तिष्कबीच जोडतोड लडाइ चल्नु स्वभाविक नै थियो ।

१७ दिनपछि जब उनी गइन्

मनलाई सम्हाल्दै बसेको करिब १७ दिन भइसकेको थियो । परिवारमा निराशा, इष्टमित्रको अनुहारमा दुःख अनि हामी साथीभाइको मनमा चिसो पसिसकेको थियो । उपचारमा नयाँ केही गर्ने थिएन । १७ औं दिनको बिहान परिवारका सदस्यसँग अब उनलाई बचाउन निकै गाह्रो छ, लगभग अब असम्भव नै छ के गर्ने भन्नुस् भनेर सल्लाह हुँदैं थियो ।

मध्यमार्गी बाटो अपनाउने, भगवान भरोसा गर्ने र केही मुटुको चालको लागि दिएको औषधि बन्द गर्ने निर्णयमा पुग्दा हामी सबैको मन यस्तै आतियो । अब के हुने हो ? कता के गर्ने हो ? एक हिसाबले चिकित्सक मनले धेरै अघिदेखि जुन कुरा भनिरहेको थियो, त्यही हुँदै थियो । अझै साथीको मन आशा मार्न तयार थिएन ।

समय यसरी बोझ बन्दै गएको थियो । आजको दिन रात नै नभइदे हुन्थ्यो । दिन लामो भइदिए हुन्थ्यो । भोलिको दिन नभए हुन्थ्यो । समय यही रोकिदिए हुन्थ्यो । यस्तै—यस्तै लागिरहेको थियो । पीडा र ठूलो भारी मन थिचिएको थियो ।

तर, प्रकृतिको नियमलाई मानिसले कहाँ छेक्न सक्छ ? रोक्न सक्छ र ? मानिसले सोचेजस्तो कहाँ हुन्छ र ?

१७ औं दिनको रात म, निरुता, सूचिता, आकृति, येशिका, मेलिना अस्पताल बाहिर आतिदै एक अर्कालाई सम्झाउँदै बसिरहेका थियौं । बिनितासँगका सम्झना झल्झल्ती आइरहेका थिए । यस्तो—यस्तो हुन्थ्यो भनेर कुरा गर्दै मनलाई सम्हाल्ने कोशिस गर्दै थियौं ।

अझभन्दा हाम्रो चिकित्सक मन त्यो हिजो मुटुको चाल बनाइराख्न चलाएको औषधि कतिबेला सिद्धिने हो र नराम्रो खबर सुनिने हो भनेर भगवान पुकार्दै थियौं । अब बिनिता हामीमाझ आउन सक्दिनन भन्ने लगभग तय भइसकेको थियो । तैपनि, श्वास रहुन्जेल आश रहिरहँदो रहेछ ।

हाम्रो मुटुको धड्कन यसरी बढ्दैं गएको थियो । जति समयले नेटो काट्दै थियो, त्यति हाम्रो दिमागमा अनेकौं नराम्रा प्रश्न उम्रिरहेका थिए । हटाउन खोज्दा पनि हटाउनैं सकिदैन्थे । वास्तवममा भन्ने हो भने हाम्रो चिकित्सक मन हाम्रो साथीको मुटु कतिबेला रोकिने हो भनेर कुरेर बस्न विवश थियो । त्यो सबैभन्दा पीडादायी क्षण थियो । यस्तो समय कसैलाई नआओस्, कहिल्यै पनि । बहुत पीडा बनाउँदो रै’छ । सँगै खेल्ने, पढ्ने साथी अब सदाको लागि निदाउदैंछे । भौतिक शरीरलाई छोडदैंछे भन्ने थाहा हुँदा हामी त्यही निर्दयी समय कुरेर बस्नुपर्ने कस्तो विडम्बना । साथी एवं चिकित्सक भएर मृत्युको मुखमा भएको साथीलाई कुर्नुपर्ने पीडा कसैलाई नपरोस् ।

विहान ४ बजे भेन्टिलेटरका इन्डिकेटरहरु तहस—नहस थिए । म आत्तिए । के गरौं, कसो गरौं भयो । न्यूरो आईसीयुभित्र आँखाभरि आँसु । सुक्क—सुक्क गर्दै म इसीजीका धर्काहरु सिधा हुँदै गएको देख्दै थिए । आफ्नै आँखा अगाडि मैले साथीले भौतिक शरीर छोड्दै गएको देखिरहेको थिए । मनलाई सम्हाल्दैं अन्तिम घडीसम्म बस्छु नै भनेर बसिरहे । मन भारी बनाउँदै आँखाभरी आँशु पारेर । खुट्टा लगलग काँपिरहे, हातहरू पूरै चिसो भए । मुटुको चाल बाहिर कानसम्म सुनिदैं थियो । हरे † भगवान यस्तो दिन फेरि नआओस् ।

मन सम्हाल्न गाह्रो भएको थियो । बाहिर बस्नुभएका अंकल, आन्टीलाई कसरी के भन्ने ? हिजोसम्म आशा दिएको यो हाम्रो बोलीले आज के भन्ने ? कसरी अगाडि पर्ने भन्ने कुराले भक्कानो फुट्यो । हामी निःशब्द थियौं । एकदम शुन्य । हामी हारेकाहरु अन्धकारमय थियौं ।

माफ गर साथी

बिनिता २५ वर्षमा मात्र टेकेकी थिइन् ! आफ्नो पाँच वर्ष लामो एमबीबीएस परीक्षा सकाएर औपचारिक रुपमा बिरामीको सेवामा प्रवेश गरेकी मात्र थिइन् ! हाम्रो पुस्ताले भोगेको अहिलेसम्मकै गाह्रो समयमा अग्रपंक्तिकै योद्धा बनेर आफ्नो कर्मको प्रारम्भ गर्ने संयोग जुरेकोमा उनी कति खुसी थिइन् । यो अनुत्तरित नै रह्यो ।
मान्छेको जिन्दगी आफ्नै कर्मको फल हो भनेर कतिपयले भन्छन् । म यो वाक्यसँग असहमत मात्र होइन, घृणा नै गर्छु !

मादक पदार्थ सेवन गरेर बाइक चलाइरहेको एक जड्याहाले आफ्नै लेनमा गुडिरहेको स्कुटरलाई विपरित दिशाबाट आएर ठक्कर दियो ! स्कुटर पछाडि बसेकी साथी सडकमै लडिन् । बेहोस । टाउकोमा गम्भीर चोट लाग्यो । आफू काम गर्ने अस्पतालमा पु¥याइएकी उनले चार दिन औषधिको सहयोगमा र ‘क्रानियोटोमी’ गरेपछिका दुई हप्ता सघन उपचार कक्षमा जिउनका लागि लामो लडाइँ एक्लै लडिन् । केवल एक्लै । अन्ततः हारिन् ।

माथिकै प्रश्न अनायासै आउँछ—आफ्नो नियमित कर्म अझ यो महामारीमा अग्रपंक्तिमा आफ्नो धर्म निभाइरहेकी उनलाई दिइएको यो ‘फल’बारे स्वयं भगवानपनि गल्ती महसुस गरिरहेका होलान् !

यो त बितेर जानेका कुरा भए !

तर, वर्तमान पितृसत्तात्मक नेपाली समाजमा छोरीलाई एमबीबीएससम्मको मुकाम तयार पार्ने बुबाआमा आफ्नो करियर सुरु नगर्दै गुमाउनु परेकी छोरीको यो अवसानलाई कसरी सम्हाल्दै होलान् ? एउटा जड्याहाको गल्तीको सजाय आफ्नी छोरीले भोग्नुपर्दाको पीडा बताउने शब्द सायदै नहोला !

माफ गर बिनिता तिमी हामीलाई
भौतिक शरीरमा हामीले तिमीलाई फर्काउन सकेनौं
दिनरात बसेर गरेका हर सबै प्रयासहरू निरर्थक भए ।

तिमी यति दृढ रै’छौ । १८ दिन अस्पतालमा बस्दा । करिब १० दिन भेन्टिलेटरमा रहँदा । मुटुको अन्तिम चाल चल्दा पनि तिम्रो अनुहारमा चमक थियो । मृत्युसँग जबरजस्त लडिरहेकी थियौं । हरेकपल्ट उठ्न खोज्ने प्रयास गर्दै थियौ—जीवनको विहानीमा लम्कन । मुटुको चालसँगै हामीलाई आफ्नो खबर भन्दै थियौं—‘साथी † म उठ्छु, उठ्छु ।’

तर, बिडम्बना तिमी लड्यौं, लडिरह्यौं । निरन्तर १८ दिनसम्म । भीमकाय पीडाहरुसँग । तर, त्यो रात अचानक भन्यौं, ‘म अब आउन सक्दिन । मैले हारे । म अब यो शरीरसँग अझै लड्न सक्दिनँ । साथी † तिमीहरू मेरो परिवारलाई सम्हाल्नु है ।’
तिमीहरु मेरो बुवालाई सम्हाल्नु है
तिमीहरु मेरो ममीलाई सम्हाल्नु है
तिमीहरूको जिम्मामा लगाएर म भौतिक शरीरबाट टाढा जाँदैछु ।

तिम्रा आँखाहरु यस्तै—यस्तै भनिरहेका थिए । हामीले तिम्रो आँखामा त्यही देख्ने गथ्र्यौ । प्रतिपल धडकिरहेको मुटुको चालमा त्यही पाउँथ्यौं ।
साथी † हामीले सकेनौं
हामीलाई माफ देऊ
चिकित्सक भएर चिकित्सकको ज्यान बचाउन सकेनौं
साथी तिमी छिटो गयौं
तर, हाम्रो मन मस्तिष्कमा यसरी बसेकी छौं
तिमी जहाँ छौं बस
सधैं जहाँ छौं हाँस्नु, खुसी हुनु, हामीलाई सदा साथ दिनु
तिमी राम्रो ठाउँमा बस्नु
बिनिता तिमीप्रति हार्दिक श्रद्धान्जली
वैकुण्ठमा बस् होस् ।
तिम्रो आत्माको चिर शान्तिको कामना ।

एमबीबीएस छैंटौं ब्याच चितवन मेडिकल कलेजका हरेक साथीको मन मुटुमा तिमीले दिएको हरेक यादहरु सधैं रहेनछन् । छैटौं ब्याचका हरेक चिकित्सक तिमीले साँचेका सपनाहरु बिरामीको उपचारमा तल्लीन रही सदा मानव कल्याणमा लागि पर्नेछौं । बिनिता हामी तिम्रो सपना पछयाइरहने छौं ।

वी मिस यू बिनिता

(डा. चापागाईं सडक दुर्घटनाबाट असोज २ गते निधन भएकी डा. बिनिता लामिछानेका सहपाठी हुन् ।)


क्याटेगोरी : अन्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

ट्रेण्डिङ