२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना संक्रमणमुक्त भएपछि बुवाले भन्नुभयो, ‘छोरीले गर्दा म सन्चो भएँ’

कोरोना संक्रमणमुक्त भएपछि बुवाले भन्नुभयो, ‘छोरीले गर्दा म सन्चो भएँ’


म पेशाले एक स्वास्थ्यकर्मी हुँ । जसरी अस्पतालमा हामीले बिरामीको पीडामा मन दुखेपनि हाँस्दै ‘केही हुँदैन अब सञ्चो हुन्छ’ भन्नुपर्छ । त्यस्तै आफ्नो परिवारमा पनि भन्नुपर्दाे रहेछ । दुःखमा आतिन मनले नदिने रहेछ ।

बुवा बिरामी हुँदा पनि घरमा नबसी विषम परिस्थितिमा पनि ड्युटी जाने गरेको थिए । १ असोजबाट उहाँलाई अलिअलि टाउको दुख्न थाल्यो । विगत ६ वर्षदेखि मधुमेहको औषधि सेवन गरिरहनु भएको उहाँमा अरु समयमा पनि शरीरको तापक्रम १०३ पुग्ने र सामान्य औषधिको प्रयोगपछि ठिक हुने गथ्र्यो । त्यही कारण पनि हामीले हल्का रुपमा लिएका थियौं । तर, यसपालि भने ज्वरो घटेन ।

५ असोजमा मेरो नाइट ड्युटी परेको थियो । त्यो समयमा बुवाले ड्युटीमा निस्कनुअघि मलाई ‘राम्ररी सुरक्षा र सावधानीको उपाय अपनाएर फ्लो गर’ भन्नुभयो । त्यसबेला अरुलाई बाहिर नजाऊ भन्ने मेरो परिवारले यो समयमा स्वास्थ्यकर्मी घरमा बस्न मिल्दैन भनेर बुझेको थियो ।

नाइट ड्युटी सकेर ९ बजे घर आउँदा बुवामा १००.२ फरेनहाइट ज्वरो, छातीको दुखाइ र अक्सिजन स्याचुरेसन ८५ प्रतिशत मात्रै थियो । मनमा शंका त भइसकेको थियो । दीर्घरोग मधुमेहको औषधि खाइरहनु भएको उहाँमा शरीरको तापक्रम बढ्नु र स्याचुरेसनको ड्रप हुनुले कोभिड—१९ तर्फ संकेत गरिरहेको थियो । त्यसैले यसै आशंकामा ड्युटी सकेर हतार–हतार अल्का अस्पताल लिएर गए । त्यहाँ पनि डाक्टरले मधुमेहको बिरामीमा स्याचुरेसनको ड्रप देखेर कोभिड नै हुनसक्छ पिसिआर गराउ भन्नुभयो ।

अस्पताल पु¥याउँदा स्याचुरेसन ९२/९३ प्रतिशत थियो । पिसिआर गर्नुअघि डाक्टरसँगै कुरा गरेर सिबीसी विडल टेस्ट, ब्लड कल्चर र छातीको एक्स–रे गराउँछु भने । चिकित्सकको अनुमतिपछि यी सबै जाँच प्रक्रिया गर्दा छातीको एक्स–रेमा फेरिफेरल निमोनिया देखियो । एक्स–रे गर्दासम्म बुवाको स्याचुरेसन घटेर ७९ प्रतिशत पुगेको थियो । तापक्रम १३ डिग्री फरेनहाइट थियो । यस्तो अवस्थामा बुवालाई घर ल्याउन हुँदैन भनेर भर्नाको लागि कुरा गर्न लागे । तर, कतै पनि कोरोना आंशका गरिएको बिरामीको लागि बेड छैन भन्नुभयो ।

साढे १ बजेबाट बेडको लागि कुरा गरे । तर, कतै नभेटिएपछि घरमै ल्याएर अक्सिजन दिएर राख्ने कुरा भयो । पछि अल्काकै क्याबिनमा रहेको एउटा बिरामीको डिस्चार्ज हुने कुरा थाहा पाएपछि राति साढे ६ बजेतिर बल्ल बुवालाई अल्कामा भर्ना गरियो । अस्पतालको नियमअनुसार बिरामीसँगै एक जना कुरुवा पनि बस्नुपर्दो रहेछ । आमा पनि थाइरोनमको औषधि सेवन गर्ने र भाइलाई केही थाहा नहुन सक्छ भन्ने हेतुले मैले म आफै कुरुवाको रुपमा अस्पताल बस्ने निधो गरे ।

एकातर्फ बुवाको बिरामी अवस्था र अर्कोतर्फ मुखैमा दशैं । त्यसमाथि लोकसेवा भर्खरै पास गरेर कार्यक्षेत्रमा खटिएको २ महिना पनि पुगेको थिएन । अझ त्यसमाथि कोभिड कहरका बेला म आफै स्वास्थ्यकर्मी । त्यसैले पनि ड्युटी अस्पतालबाट छुट्टी मिल्ला कि नमिल्ला भन्ने ममाथि अर्को पिर थुप्रिएको थियो । तर, सबै कुराको बेलीविस्तार लगाएपछि इन्चार्ज दिदीले सहजै ‘म मिलाउन कोशिस गर्छु’ भन्नुभयो । नभन्दै उहाँले १५ असोजसम्मको बिदा मिलाइदिनुभयो ।

क्याबिनमा बस्दा बुवा र मसँगै बस्थ्यौ । बुवालाई धेरै गाह्रो भएको हुँदा बेडबाट झर्नेदेखि खाना खुवाउनेसम्मको सबै काम मैले नै गर्थे । कोभिड—१९ को आंशका हुँदाहुँदै पनि बुवालाई नरमाइलो लाग्ला भनेर सुरक्षाका रुपमा मैले मास्कबाहेक अरु केहीको प्रयोग गरेकी थिइन् । अस्पताल भर्ना भएको पहिलो दिन र रात नै आवश्यक औषधि दिदा पनि बुवाको शरीरको तापक्रममा कुनै परिवर्तन आएन । स्याचुरेसन अक्सिजन लगाएर मेन्टेन गरियो ।

बिहान पो बल्ल याद भयो, राति १२ बजेदेखि बिहान ६ बजेसम्ममा मात्रै उहाँलाई त मैले ५ लिटर पानी पिलाएछु । रातभर बुवा ‘मलाई गाह्रो भयो । बरु सुतेपछि नउठ्ने गरी औषधि लगाइदेऊ’ भन्दै हुनुहुन्थ्यो । अनि म ‘अक्सिजन लगाएको छ केही हुँदैन । औषधि गइराको छ । निको हुन समय लाग्छ’ भनेर ढाडस दिदै सम्झाउँथे । बुवाको स्वास्थ्य अवस्थामा सुधार आउनुभन्दा पनि झन् दोस्रो दिन नराम्रो भइरहेको थियो । पिसिआर रिपोर्ट पनि आइसकेको थिएन । यद्यपि, एक्स–रेमा निमोनिया देखिएकोले कोरोना पोजेटिभ वा नेगेटिभभन्दा पनि सिम्टोमेटिक ट्रिटमेन्ट गर्ने डाक्टरको सल्लाहलाई हामीले अनुशरण गर्दै गयौ ।

उता घरमा हजुरआमा, आमा र भाइ हुनुहुन्थ्यो । यता अस्पतालमा बुवा र म । कोभिड—१९ संक्रमणको भयका कारण कोही पनि अस्पताल आवत—जावत गर्न सम्भव थिएन । सबैले फोनबाटै मसँग बुवाको स्वास्थ्य अवस्थाबारे सक्दो जानकारी लिने प्रयास गर्नुहुन्थ्यो । यता म परिवारको सदस्यले पीर नमानुन भनेर उहाँको स्वास्थ्यमा सुधार आएको झुठो आश्वासन दिन्थे । परिवारमा झुठो खुसी छरेपनि म आफैलाई ढाट्न कहाँ सक्थे ? त्यसैले फोन राखेपछि बुवाले देख्नुहोला कि भन्दै झ्याल बाहिर फर्केर रुन्थे ।

६ असोजदेखि १ गतेसम्मको अस्पताल बसाइँमा पनि बुवाको स्वास्थ्यमा कुनै सुधार नदेखिएकोले चिकित्सकहरुले रेम्डिसिभिर चलाउने कुरा गर्नुभयो । बल्ल रेम्डिसिभिरको डोज दिएपछि बुवाको ज्वरो र स्याचुरेसन दुवै कन्ट्रोल भएको थियो । उहाँले खाना पनि खान थाल्नुभएको थियो । ९ असोजमा घरमा सबैलाई पिसिआर चेक गर्न सल्लाह दिए । नभन्दै सबैको रिपार्ट पोजेटिभ देखियो । तर, पनि घरमा कोही आत्तिएका थिएनन् । यद्यपि मलाई भने कता—कता डर लागिरहेको थियो । ७८ वर्षीया बुढी हजुरआमा, औषधि सेवन गरिरहनु भएकी आमा अनि प्रि–म्याच्योर बर्थ भएर सजिलै कोरोना पुष्टि भएको बुवा । बुवाबाहेक कसैमा पनि कोरोनाको लक्षण नदेखिएकाले सबैजना होम आइसोलेसनमै बस्नुभयो । यता अस्पतालमा बुवाको स्वास्थ्यमा सुधार हुँदै गयो ।

रेम्डिसिभिरको डोज पूरा हुँदासम्म सबै ठिक भइसकेपछि १६ असोजमा घर फर्कियौ । आफ्नो ड्युटीबाट छुट्टि लिएर दशैंको माहोलमा १० दिनसम्म अस्पतालमा बसेको र त्यसमाथि पनि बुवाको सुरुको अवस्था सम्झिदा लाग्छ, मान्छेहरु किन मास्कबिना नै हुलमुलमा जान्छन् ? बुवाले भन्नुहुन्थ्यो, ‘छोरीले गर्दा म सञ्चो भएँ’ भनेर । हुन त मैले के नै गर्न सक्थे र? लाग्छ, म पेशाले एक स्वास्थ्यकर्मी भएको र ती दौरानमा संगालेका केही अनुभवहरुले मलाई हार्न होइन्, हौसिएर मनोबल उच्च पार्न सहयोग गरे । म सफल पनि भए । अस्पताल बस्दा हरेक दिन एउटै सोच आउथ्यो—हिजोभन्दा आजको दिन सुधार र नयाँ अनुभव लिनेछु ।

अस्पताल बसाइँ । त्यसमाथि पनि एउटा कोठामा मात्रै सिमित । ढोकाबाहिर नआएर एउटै कोठामा बुवाको त्यस्तो हालत देख्दा मनमा पीडा त हुन्थ्यो । तैपनि त्यो पीडालाई लुकाएर सकारात्मक विचार, ढृढ विश्वास अनि एक स्वास्थ्यकर्मी भएको नाताले पनि मैले हार खाइन् ।

अन्त्यमा मेरो आत्मबल र सतर्कता भनुम् वा सबैको विश्वास र साथले घरका ४ जना सदस्यमा कोरोना पोजेटिभ आउँदा बुवासँगै उहाँको केयर गिभर भएर बस्दा पनि मेरो भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । १९ असोजबाट म फेरि नयाँ जोशका साथ फ्रन्टलाइनरका रुपमा अस्पतालमा ड्युटी गर्न उत्सुकताका साथ गए । यो बीचमा सबैबाट हरेक कोभिड—१९ संक्रमितलाई हेला होइन्, माया र सहयोगको खाँचो मैले अनुभव गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ