२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘छोराछोरी घरमा छोडेर कोभिड फ्रन्टलाइनमा खटिन निकै गाह्रो हुन्छ’

‘छोराछोरी घरमा छोडेर कोभिड फ्रन्टलाइनमा खटिन निकै गाह्रो हुन्छ’


एउटी आमाका लागि सन्तानको माया कति होला ? यतिबेला विभिन्न अस्पतालका कोभिड वार्डमा कार्यरत आमा बनिसकेका नर्सलाई भन्दा अरु कसलाई थाहा होला र ! कोभिड–१९ संक्रमितको उपचारमा खटिँदा एकातिर आफैं संक्रमित भइएला कि भन्ने चिन्ता अर्को तिर आफ्ना कारण छोराछोरीलाई संक्रमण होला कि भन्ने डर । यस्तै, डर र चिन्ताका बीच कोभिड–१९ को फ्रन्टलाइनमा खटिएकी छिन् नर्स–उषा केसी । उनी हाल ग्वार्कोस्थित बीएण्डबी अस्पतालको कोभिड वार्डमा कार्यरत छिन् ।

कोभिड वार्डमा उनको हप्तामा ५ दिन ड्युटी पर्छ । त्यसपछि ५ दिन फेरि क्वारेन्टाइनमा बस्नुपर्छ । ११ औं दिन कोभिड परीक्षण गरेर नेगेटिभ रिपोर्ट आयो भने मात्र उनी घर जान पाउँछिन् । यतिका दिनसम्म आफ्नो परिवार र छोराछोरीसँग टाढिएर बस्नु पर्दाको क्षण उनी कल्पना पनि गर्न सक्दिनन् । तर, पेसाअनुसारको जिम्मेवारी भने उनले बहन गर्नैपर्छ ।

लामो समय अस्पतालको बसाइँ त्यसमाथि पनि कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने हुनाले ड्युटीमा रहेका बेला सबैभन्दा धेरै छोराछोरीको चिन्ताले सताउने उनी बताउँछिन् । ‘दिनमा १२ घन्टा कोभिड संक्रमितको उपचार र हेरचाहमा खटिनुपर्छ,’ ३५ वर्षीया केसी भन्छिन्, ‘ड्युटी निकै गाह्रो हुन्छ, त्यहाँमाथि पनि छोराछोरीको न्यास्रो लागेर निकै दिक्क लाग्छ ।’

केसीका ७ वर्षकी छोरी र ५ वर्षका छोरा छन् । छोरी त अलि बुझ्ने भएकी छिन् । तर, छोरो सानै भएकाले कहिलेकाहीँ आमा खोज्छन् । एक हप्ता अघि उनी ५ दिनको ड्युटी सकेर क्वारेन्टाइनमा बसेकी थिइन् । त्यहीबीचमा उनको छोराले ‘ममी’ सँग भेट्ने भनेर निकै घरमा झगडा गरेछन् । त्यसपछि उनकी सासूआमाले छोरालाई लिएर अस्पतालको गेटसम्म लाइदिइन् । क्वारेन्टाइनमा बसेको हुनाले उनले छोरालाई छुन मिल्दैन थियो । वारीपारी आमाछोराको देखादेख भयो । तर, छोराले भने उनीसँग आउन निकै बल गरे । रोए, कराए, झगडा गरे । तर, आमाको काखमा बस्न पाएनन् । त्यो दृश्यले सबैका आँखा रसाए ।

छोराको त्यो भाव देख्दा सम्हालिन नसकेर भक्कानिएको उनी बताउँछिन् । ‘मेरो छोराले सुरुमा देख्ने बित्तिकै मामू हजुरसँग आउँछु भनेर झगडा ग¥यो,’ उनी भन्छिन्, ‘तर, मैले लिन मिल्दैन थियो, गेट भित्र म थिएँ छोरा गेट पारी थियो, छोराले जिद्धी गरेर रुन थालेपछि म पनि सँग–सँगै रुन थालेँ । म रोएको देखेर म सँगै क्वारेन्टाइनमा बसेका साथीहरुका पनि आँखा रसाए ।’

जोगिदा–जोगिदैं कोरोना संक्रमण

कोरोना संक्रमितको उपचार र हेरचाहमा खटिएकी केसी जति नै सुरक्षाका मापदण्ड अपनाउँदा पनि कोरोना संक्रमणबाट उम्कन सकिनन् । २२ कात्तिकमा उनलाई कोरोनाले भेट्यो । उनीसँगै उनका श्रीमान, सासु–ससुरालाई पनि कोरोना पुष्टि भयो । तर, उनको छोराछोरीलाई भने केही भएन । त्यसो त कोरोना कालको १४ दिनको अवधिमा छोराछोरीलाई माइतीमा लगेर छोडिन् । जसले उनका छोराछोरीलाई कोरोना र क्वारेन्टाइनका बारेमा हल्का थाहा थियो ।

तैपनि, परिवारका सबै सदस्यलाई कोरोना लागेपछिको कष्टकर दैनिकीलाई उनले नजिकबाट नियालेकी छिन् । ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखियो,’ उनी भन्छिन्, ‘एउटी गृहिणीका लागि यो समय कटाउन निकै गाह्रो पर्ने रहेछ ।’

विगत ७ वर्षदेखि बीएण्डबी अस्पतालमा कार्यरत केसीले नर्सिङ पेसाको सुरुवात पनि यही अस्पतालबाट गरेकी हुन् । ग्वार्कोमा जन्मिएकी केसीले ग्रीनतारा नर्सिङ कलेज भैंसेपाटीबाट पीसीएल नर्सिङ गरेकी हुन् । हाल बी एण्ड बी मेडिकल इन्स्टिच्युटबाट बिएन नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन् ।

कोभिड अघि उनी बीएण्ड बी अस्पतालका अर्थोपेडिक वार्डमा कार्यरत थिइन् । कोभिडपछि भने उनले केही महिना पहिलो तला अर्थात् कोरोना संक्रमित राखिएको आइसोलेसनमा खटिइन् । तर, केही समययता उनी कोभिडका बिरामी राखिएको वार्डमा खटिएकी छिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ