२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्सिङ पेशा कहिलेसम्म हेपिने ?

नर्सिङ पेशा कहिलेसम्म हेपिने ?


२०७२ सालमा पी.सी.एल अर्थात् नर्सिङ इन डिप्लोमा सिटिइभिटीबाट सके । हातमा विशिष्ट श्रेणीको ट्रान्सकिप्ट सानो गर्वको कुरा थिएन मेरो लागि । सामान्य सरकारी स्कुलबाट प्रथम श्रेणीको लागि पनि धौ—धौ पर्ने हाम्रा लागि अंग्रेजी मेडियममा पढाइ हुने नर्सिङ विषय पास गर्नु पनि ठूलो कुरा थियो । हातमा ट्रान्सकिप्ट परेपछि हामी नर्सको अर्को दौड सुरु भइ हाल्छ—लाइसेन्स परीक्षाको तयारी । सायद त्यतिबेला लाइसेन्स तयारी कक्षा चल्दैनथ्यो यात हामीलाई त्यसबारे जानकारी भएन । हुन सक्छ त्यो बेला लाइसेन्स पास गर्नलाई धेरै ठूलो हाम्रो लागि ठूलो मुद्धा थिएन ।

के कुरा थियो त्यो चै याद राखिन् । तर, हामीमध्ये कोही पनि लाइसेन्स परीक्षा तयारी कक्षाको लागि भनेर सहर हिडेनौ तर घरमै तयारी गरेर लाइसेन्स पास ग¥यौ । प्रायः सबै साथीहरु पहिलो चोटि मै पास गरेको र भर्खर मात्र चलाउन सिकेको आफ्नो फेसबुक एकाउन्टमा धमाधम नेपालको रजिष्टर्ड नर्स बनेको स्टाटस पोस्टाउँदैं बधाईको ओइरो पनि हात पारी हाल्यौ । एउटै गन्तब्यमा पुगेका हामी सबै रजिष्टर्ड नर्सहरु फेरि आफ्ना नयाँ—नयाँ गन्तव्यहरु कोर्न लाग्यौ ।

कोही आइल्ट्स गर्दै विदेशको सपना पूरा गर्न लागे । कोही आफ्नो सम्पर्क भएको अस्पतालतिर भोलिन्टीर गर्न, कोहीले जागिर पनि सुरु गरे । तर, धेरैमध्ये हामी केही भने विभिन्न पत्रपत्रिका र अनलाइन साइटतिर कर्मचारी आवश्यकतावाला पोस्ट खोज्नतर्फ लाग्यौं । त्यति ठूलो सहर पनि थिएन हाम्रो, न त धेरै अस्पताल र क्लिनिकहरु । जसका कारण न त पर्याप्त जागिरको अवसर नै । त्यसैपनि कोही चिनेको सम्पर्क पनि त थिएन ।

जिल्लामा पहिलो र हालसम्म एउटै नर्सिङ कलेजका हामी तेस्रो ब्याजका विद्यार्थी, कलेजले बर्सेनी जिल्लामा ४०—४० को दरले स्कील भयका नर्सहरु उत्पादन गर्ने गर्छ । बेरोजगारको दुनियाँमा धकेल्ने गर्छ । गल्ती कलेजको होइन्, नर्सिङ ब्यवस्थापनको माथिल्लो निकायको हो । जसले देशभरमा बर्सेनी हजारौंको संख्यामा नर्स उत्पादन गर्दछ । उचित व्यवस्थापन गर्न सक्दैन् । जागिर पाउनलाई अनुभवप्राप्त हुनुपर्ने र अनुभवीका लागि जागिर खानैपर्ने । यहि चक्रमा लामो दौड हर कोही नर्सिङ दिदीबहिनीले गर्नैपर्ने प्रचलन यहाँ देख्न पाइन्छ । हामी पनि के कम दौडि नै रह्यौं । कहि त होला, कोही त होला बिना अनुभव जागिर दिने । आफ्नो सर्टिफिकेटमा सक्कल बमोजिम नक्कल ठिक छ को मुनि आफ्नो हस्ताक्षर हान्न पनि छोडेनौ ।

भोलिन्टियर गर ३ महिना अनि काम हेरेर चित्त बुझे काम दिन्छु भन्ने प्रस्ताव कतै—कतै आएपनि हामी स्वीकार गर्दैनौं थियौ । खोइ किन हो भोलिन्टियर गरेर श्रमशोषण गराउन सायद हामीलाई मन्जुर थिएन । लाखौं लगानी गरेर ३ वर्ष कडा मेहेनत, रातभरी जागेर गरिएका केस स्टडी, प्रिजेन्टेसन, हेल्थ टिचिङ, कम्युनिटी फिल्डमा घर—घर चहारी कलेक्ट गरिएका डाटाहरु, बनाएका नर्सिङ डायग्नोसिस, योजना अनि इल्प्लिमेन्टले सायद रोकेको हुनुपर्छ । आफे मेहनत, पसिना, लगनलाई विजनेस गर्नेहरुका अगाडि सित्तैमा के बेच्नु भनेर हामी कसैले भोलिन्टियर गर्दै गरेनौं । आफ्नो धैर्यता नछोडी बस्यौं । लगभग ६—७ महिनाको अन्तरालमा हामीले जागिर खाना सुरु ग¥यौ । कोही एउटै संस्थामा र कोही अलग । तर, सायद सबैले सटार्टिङ जब हियर एन्ड दियर भनेर पोस्टाउन थालिसकेका थियौं ।

मैले जागिर गरेर पहिलोपल्ट बुझेको तलब २७ हजार ३ सय । खुसीको कुनै सीमा थिएन् । त्यतिबेलासम्म पनि कोही साथीहरु भोलिन्टियर गर्दै थिए होलान वा कोही प्राइभेट हस्पिटलमा ८—१० हजारसम्म तलब बुझ्थे । त्यतिबेला लाग्यो, धन्न जागिर नापाइएला कि भनेर आफ्नो श्रमको मूल्य सित्तैमा बेचिएन छु । त्यसैले मलाई लाग्छ नर्सिङ भनेको सानै उमेरमा ब्यवहारिक बनाउने शिक्षा हो, जसले आफ्नो ब्यक्तिगत जीवन, घरपरिवार, समाज सबैलाई एकै साथ कुनै न कुनै ढंगबाट समेटिरहेकी हुन्छिन् । कलिलो उमेरमा अरुको जिन्दगीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आवद्ध भइसकेकी हुन्छिन् । जिम्मेवार बनिसकेकी हुन्छिन् । जतिबेला सँगै एसएलसी दिएका साथीभाइ अझै जिन्दगीमा के गर्ने भन्ने कुरा अलमलिरहेको हुन्छन्, त्यति बेला एउटा नर्स अरु कसैको जिन्दगीलाई आफ्नो हातले स्वागत गर्न सक्ने भैसकेकी हुन्छन् । नर्स हुनु आफैमा गर्वको कुरा हो ।

नर्सिङ पेसामा आफूलाई समर्पित गर्दैगर्दा अलग्गै दुनियाँमा भुलिने रहेछ । उच्च शिक्षाको लागि सोच्ने समय नहुने नै रहेछ । हातमा परेको नर्सिङ लाइसेन्सले डिग्री हासिल गर्न उत्साहित सायद नबनाउने रहेछ । आफ्नो जागिरबाट सन्तुष्ट हुने नर्सहरु प्रायः उच्च शिक्षाको बाटो रोज्दैनन् । नर्सिङ उच्च शिक्षाको बाटो रोज्नेहरु प्रायः सरकारी जागिर, अध्ययन बिदाको सदुपयोग र आफ्नो पोष्ट बढ्ने उद्धेश्यले पढ्दछन् भने कोही प्राइभेट हस्पिटललमा कम स्यालरीमा काम गर्नेहरु र नयाँ अवसरको खोजी गर्नको लागि पढ्दछन् । तर, पनि नेपाल सरकारले नर्सहरुको ब्यवस्थापन उचित ढंगले गर्न नसक्दा, ब्याचलर, मास्टर्स सकेका नर्सहरुमाथि पनि निराशा नै थपिएको छ । नर्सहरुलाई उच्च नर्सिङ शिक्षाको लागि खासै प्रोत्साहन दिएको पाइदैन् । उच्च नर्सिङ शिक्षा हासिल गरेका नर्सहरुको समेत तह निर्धारण गर्न नसक्दा, जब डिस्कृब्सन क्लियर नदिने र समान स्टाफ नर्सकै तलब सुविधामा काम गर्नु पर्ने, लोकसेवाले समेत नर्सिङ अधिकृतको विज्ञापन खासै धेरै नखुलाउने हुँदा, उच्च शिक्षा हासिल गरेका नर्सहरु आफ्नो पेशाप्रति निरुत्साहित देखिन्छन् ।

डिप्लोमादेखि ब्याचलरसम्म अध्यन गर्न एउटा नर्सले कम्तिमा १०—१५ लाख लगानी गर्छन् । त्योभन्दा पनि महत्वपूर्ण नर्सले आफ्नो जिन्दगीको ७—८ वर्ष पढाइमा खर्च गरेका हुन्छन् । यतिका त्याग पश्चात पनि नर्सले आफ्नो योग्यता, क्षमताअनुसारको जागिर स—सम्मान रूपमा नपाउनु निकै नै दुर्भाग्यको कुरा हो । निकै दुःखका साथ भन्नुपर्छ एउटा नर्सले ब्याचलर लेबलको पढाइ सुरु गर्नकै लागि चार बर्ष कुर्नुपर्छ । जब कि अरु विषय पढ्नेहरु ब्याचलर सक्ने बेलासम्म नि धेरै नर्सहरु पढाइ सुरु गर्ने सुर पनि गरेका हुँदैनन् । कारण नर्सहरु जागिर मै ब्यस्त हुन्छन् । माथिल्लो तहमा जागिरको अवसर नदेख्नु अर्को कारण हो । अझ धेरै नर्सहरु त विवाह बन्धनमा बाँधेर घरजम गर्नमै ब्यस्त हुन्छन् ।

कहिलेकाहीँ लाग्छ छोरी मान्छेले नर्स पढ्नु भनेको नै अभिभावकलाई छोरीको विवाह गराइदिन सहज बातावरण बनाइदिनका लागि हो । छोरी नर्स बनाएका अभिभावकको चाहना छोरीलाइ सुहाउने केटो खोजेर कन्यादान गर्दि नै हतार हुन्छ । नहोस् पनि किन उहाँहरुको नजरमा छोरीको पढाइ सक्किइसकेको र आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिएको जो हुन्छ । नेपालमा सायद नै त्यस्तो एउटा विषय हो, जहाँ ब्याचलर पढ्न पनि जागिर गरेको अनुभव हुनुपर्दछ । संसारमा हरेक दिन नयाँ—नया आविष्कार हुन्छन्, अनेकन परिवर्तन हुन्छन् । तर, नर्सिङ पढ्ने र पढाउने परिपाटी कहिले परिवर्तन हुँदैन् । यहाँ एउटा पाठ्यक्रमसमेत समयसापेक्ष परिवर्तन गर्न एउटा युग कुर्नुपर्छ?

अस्ति भर्खरैको कुरा हो—एउटा ठूलै कलेजमा लामो समयदेखि काम गर्ने दिदीले मैले जागिर छोडेर नर्सिङ इन ब्याचलर ज्वाइन गरेको भनेर जानकारी गराउँदा अचम्म परे । उहाँले तिमी त नर्स नै हो नि पिसियल गरे नि, ब्याचलर गरेनी, गर्ने काम नर्स कै हो, डाक्टर हुने होइन किन पढेको बरु पढ्नै मन लागे अरु नै विषयमा स्नातक गरेको भए हुने नि भन्ने सल्लाहले मन साह्रै खिन्न बनाएको थियो । जवाफ त मलाई पनि मुखभरीको दिन मन थियो । भन्न मन थियो—उसो भए प्लस टुमा एजुकेसन लिएर पढेको विद्यार्थीले किन स्नातक ,स्नातकोत्तर, पिएचडीसम्म पढाइ पूरा गर्छन्, आखिर उनीहरु पनि हुने त शिक्षक नै हुन्, डाक्टरहरु किन एमडी, पिएचडी गर्छन् । उनीहरु पनि आखिर डाक्टर नै हुन् । तर, त्यस्तो केही बोलिन् मात्र बाहिरी आँखाले नर्सिङ पेशालाई हेर्ने मनोदृश्य हेरे । मनन गरे ।

केही समय सोचेर जवाफ दिए—नर्स भनेको पनि एउटा छुट्टै पेशा हो, विज्ञान हो । मात्र बिरामीको नजिक गएर विपी चेक गर्ने र औषधि दिने, सेतो ड्रेस लगायर यताउता दौडने मात्र नर्स होइन् । नर्सको पनि तह हुन्छ, फिल्ड हुन्छ, नर्स पनि इन्चार्ज हुन्छन्, शिक्षक हुन्छन्, विज्ञ हुन्छन्, उच्च शिक्षा र अनुभवको अधारमा नर्स पनि माथि चढ्दै जान्छन् । नर्सको पनि रिसर्च हुन्छ, स्वास्थ्य क्षेत्रको हरेक तहमा नर्स हुन्छन् । त्यसैले जति पढ्यो, त्यति धेरै ज्ञान, अनुभव, सीप र अवसर प्राप्त गर्न सकिन्छ । यति कुरा भन्नमा धेरै सजिलोथ्यो तर वास्तविक नर्सहरुले यस्तो अनुभव कमैले गर्न पाउँछन् ।

जबसम्म नर्स र नर्स सम्बन्धित मुद्धाहरु प्राथमिकताका साथ सुनुवाई हुँदैनन् । नर्सका गुनासा र समस्यालाई समधान गरिदैन् । एक नर्सले अर्को नर्सको मनोभावना बुझ्दैन् । सम्मान गर्दैनन् । तबसम्म नर्सिङ पेशा डाक्टरको सहयोगीको उपनामबाट माथि उक्लिन सक्दैन् । जबसम्म नर्सहरु एकजुट भएर एउटै आवाजमा आफ्नो अधिकारका लागि बोल्दैनन्, तबसम्म यो पेशा सबैबाट हेपिएको पेशा नै रहन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ