२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यहृदयघातले निम्त्याएको स्वास्थ्य जोखिम र सरकारले गर्नुपर्ने काम

हृदयघातले निम्त्याएको स्वास्थ्य जोखिम र सरकारले गर्नुपर्ने काम


हृदयघात मुटुको मुख्य नसाहरु विविध कारणले बन्द भएर मुटुमा आवश्यक रगत पुग्न नसकेर मुटुले काम गर्न छोड्नु हो । उमेर बढ्दै गएपछि मुटुको नसाहरुमा बोसोजस्ता वस्तु थुप्रिदैं जान्छन् र नसाहरु विस्तारै साघुरिदैं जान्छन् ।

७० प्रतिशतभन्दा बढी नसा बन्द भए पश्चात् छाती दुख्ने र हृदयघात हुने गर्दछ । नेपालको सन्दर्भमा विगत केही वर्षदेखि हृदयघात बढ्दै गइरहेको छ । २१ औं शताब्दीमा प्रविधिको निकै धेरै विकास र रोगहरुबारे विश्वस्तरमै धेरै अध्ययन—अनुसन्धान भइसक्दा पनि हृदयघात बढ्दो क्रममा किन छ त?

बढदो उमेर, मोटोपना, चुरोट सेवन, रक्सी सेवन, रातो मासुको सेवन, चिल्लो खाना, मधुमेहका बिरामी, रक्तचापका बिरामी, अनियमित खानपान, बिलासी जीवनशैली, व्यायामको अभाव, अटो इम्युन रोगजस्ता कुराहरुले हृदयघातको सम्भावना बढाउँछ ।

प्रायजसो, हृदयघात भएका बिरामीहरुमा अचानक छाती दुख्ने हुन्छ । यो दुखाइ पाखुरा हुँदै हातसम्म, माथि घाँटी हुदै जबडासम्म सर्ने गर्छ । पेट हुँदै पछाडि ढाडसम्म सरेर जान सक्छ । कहिलेकाहीँ त हृदयघात हुने बिरामीमा छाती नदुख्न पनि सक्छ । यो एकदम कम प्रतिशत बिरामीमा हुने गर्छ र यो खतरनाक पनि हुन्छ ।

सामान्यतयाः हाम्रोजस्ता मुलुकमा ग्रामीण भेगतिर बसोवास गरिरहनुभएका बिरामीमा छाती दुख्न सुरुवात भएपश्चात् अस्पताल लग्न निकै धेरै घण्टादेखि दिनसम्म लाग्न सक्छ । र, यस अवधिमा बिरामीको निधन भइसकेको हुन्छ ।

ग्रामीण क्षेत्रमा बिरामीको बन्द भएका मुटुका नसाहरुलाई खुल्ला बनाउने प्रविधी र विशिष्ट चिकित्सकको कमीले गर्दा बिरामी बचाउने सम्भावना घटेर जान्छ । हामी चिकित्सकले मुटुको रक्तसञ्चार पुनः खुलाउने प्रक्रिया एकदम छोटो समयमा गरिसक्नुपर्छ ।

सहर बजारमा आधुनिक प्रविधी र विशिष्ट चिकित्सकको उपलब्धता सहज हुन्छ । यति हुँदाहुँदै पनि सहरमै हृदयघात भएका बिरामीको मृत्युदर बढदो क्रममै छ । सामान्यतयाः बिरामीलाई छाती दुख्न सुरुवात भएपछि एम्बुलेन्स बोलाउनेदेखि बिरामीलाई अस्पताल लग्ने समय १ देखि २ घन्टा लाग्न सक्छ । त्यसपछि मात्रै बल्ल उपचार सुरु हुन्छ र यो १–२ घन्टाको समय एकदम महत्वपूर्ण समय हो । यो समयलाई यतिकै खेर नफालौं ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हृदयघात सम्बन्धि विशेष नीति बनाउनुपर्ने मैले देखेको छु । बिरामीलाई छाती दुख्नासाथ घरमै प्राथमिक उपचार गर्न मिल्ने खालको स्वास्थ्य नीति निर्माण गर्न सरकारले पहल गर्नुपर्छ र यो सम्भव पनि छ । ग्रामीण क्षेत्रतिर हामीले स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा हृदयघातको लक्षण लिएर आउनुभएका बिरामीहरुलाई एस्पीरिन भन्ने चक्की दिने गर्दछौं र बाँकी उपचारका निम्ति ठूला अस्पतालमा रिफर गर्छौं ।

यो एउटा सानो चक्कीले बिरामीको मुटुमा पुनः केही अवधिसम्म रक्त सञ्चालन गराउन मदत गर्छ र बिरामी ठूला अस्पताल नपुगुन्जेलसम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ । स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुलाई समयमै पहिचान गर्न ‘स्क्रीनिङ कार्यक्रम’ सुचारु गर्नु पर्छ र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचार सम्बन्धि नीति नियम बनाउनमा सक्रिय भएर लाग्नुपर्छ । हृदयघातको प्राथमिक उपचार सम्बन्धि ७७ जिल्लाका गाउँ—गाउँसम्म जनचेतना फैलाउनुपर्छ ।

अन्तमा म फेरि सम्पूर्ण नेपालीमा स्वास्थ्यसँग खेलवाड नगर्न र स्वास्थ्य नै ठूलो धन हो भन्ने वाक्यांशलाई स्मरण गराउन चाहन्छु।

(सिंह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पसका स्ववियु सभापति हुन् ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ