२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम


काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घले आँखा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाएको छ । सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएको छ । यस वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने मूल नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ  ।

सङ्घ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरूले देशै भरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको आँखा जाँच सहित विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेका छन् ।

सङ्घले दृष्टि दिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् । शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतिय भएकी छन् । सङ्घले पछि एक कार्यक्रमको आयोजना गरी विजेतालाई पुरस्कृत गरिने जनाएको छ ।

प्रथम प्रतियोगीले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित हुने भएका छन् ।
प्रतियोगितामा प्रतियोगीको उत्साहजनक सहभागिता आएको र आगामी दिनहरूमा समेत उनीहरूलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको  सङ्घका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्र बताउँछन् ।

सङ्घका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे ।   २०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरू मार्फत सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ