२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिसिटीमा ७ वर्षमा २ हजार बढी ब्रेन सर्जरी

नेपाल मेडिसिटीमा ७ वर्षमा २ हजार बढी ब्रेन सर्जरी


ललितपुर—नेपाल मेडिसिटी अस्पतालले ७ वर्षमा २ हजार बढी ब्रेन सर्जरी गरेको जनाएको छ । शुक्रबार अस्पतालले तीमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको उल्लेख गरेको छ ।

अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको अस्पतालमा न्यूरो सर्जन, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इमर्जेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसन सेवा २४ सै घण्टा उपलब्ध रहेको जनाएको छ । अस्पतालमा ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) सेवा पनि छ ।

नन् इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्यूरो इन्टरभेन्सनल न्यूरोसर्जन डा. प्रसन्ना कार्की अस्पतालमा कार्यरत छिन् । पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ । यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाइ पनि कम हुने गर्दछ ।

गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढी बिरामीहरुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । यस विधि वा न्यूरो इन्टरभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इन्टरभेन्सन प्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्तोषजनक नतिजा रहेको न्यरो सर्जरी विभाग प्रमुख प्रा.डा. गोपालरमण शर्माले बताए ।

२८ वर्षभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा. शर्माले हालसम्म २० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन् । ‘नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ । प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर भएर बिरामीहरु यहाँ आउने गरेका छन्,’ डा. शर्माले भने ।

उनका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकहरुका कारण जटिल केसहरुको पनि सफल शल्यक्रिया यहाँ सम्भव भएको हो । ‘न्यूरो साइन्स विभागभित्र सबै किसिमका सेवा उपलब्ध छ जसमा न्यूरोलोजी, न्यूरोसर्जरी, न्यूरो रेडियोलोजी, इएनटी, न्यूरो ओप्थाल्मोलोजी, न्यूरो अंकोलोजी, न्यूरो ट्रमा, न्यूरो प्याथोलोजी, न्यूरो क्रटिकल आइसियु, न्यूरो एनेस्थेसिया र न्यूरो रिहाबिलिटेसनको सेवा रहेकै कारण सफल शल्यक्रिया सम्भव भएको हो,’ उनले भने ।

हृदयघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ । यस सेन्टरमार्फत बिरामीलाई बे्रन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिनेछ ।

डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । ‘बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधि राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टाभन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीहरुमा प्यारालाइसिस हुन्छ,’ उनले भनिन्, ‘स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ ।’ ब्रेन स्ट्रोक समयअनुरुप संवेदनशील हुने र समयमै अस्पताल आइपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिने डा. कार्कीले बताइन् ।

त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पु¥याउँदै आएको छ । ‘जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ, त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाबिलिटेसनको जरुरत छ,’ उनले भनिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ