२०८२ पुस ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन

भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन


नयाँदिल्ली—लामो र कठिन प्रतीक्षापछि नेपाली नागरिक दुर्गा कामीले नयाँ मुटु पाएकी छन् । सोमबार एर्नाकुलमको जनरल अस्पतालमा मुटु प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि उनले अन्ततः नयाँ जीवन पाएको द हिन्दुले जनाएको छ।

शल्यक्रिया सफल भएको र बिरामीलाई भेन्टिलेटरमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। आगामी ४८–७२ घण्टासम्म उनलाई कडा निगरानीमा राखिनेछ। मुटु प्रत्यारोपण शल्यक्रिया करिब चार घण्टा चलेको थियो।

अस्पतालका अधिकारीहरुकाअनुसार यो ऐतिहासिक उपलब्धिसँगै जनरल अस्पताल भारतमै मुटु प्रत्यारोपण गर्ने पहिलो जिल्ला अस्पताल बनेको छ। न्यायिक हस्तक्षेपपछि मात्र यो प्रत्यारोपण सम्भव भएको हो।

२२ वर्षीया अनाथ दुर्गाको अवस्था गम्भीर रहेकाले उनलाई सुपर–अर्जेन्ट मुटु प्रत्यारोपण सूचीमा राखिएको थियो। तर, प्रारम्भमा कानुनी अड्चन आएको चिकित्सकहरूले बताए। कानुनमा दाताको मुटु बाँडफाँड गर्दा भारतीय नागरिकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ।

४६ वर्षीय एस. शिबु, जो कोल्लमका बासिन्दा थिए र तिरुवनन्तपुरमस्थित सरकारी मेडिकल कलेज अस्पतालमा मस्तिष्क मृत घोषित गरिएका थिए, उनको मुटु कामी (जसलाई अर्पणा पनि भनिन्छ) मा प्रत्यारोपण गरिएको हो। उनी करिब एक वर्षदेखि भारतमा मुटुसम्बन्धी रोगको उपचार गराइरहेकी थिइन्।

जनरल अस्पतालका डा. जर्ज भालुरान, डा. पल थोमस र डा. जियो पलसहित आठ सदस्यीय चिकित्सक टोली सोमबार बिहान मुटु संकलनका लागि तिरुवनन्तपुरम गएको थियो। बिहान ११ बजे सुरु भएको शल्यक्रिया विभिन्न अङ्गहरू निकाल्नुपर्ने भएकाले दिउँसो १ बजेसम्म चलेको थियो। ‘मुटुलाई हेलिकप्टरमार्फत कोची ल्याइयो र करिब ३ः१५ बजे जनरल अस्पतालको अपरेसन थिएटरमा पुर्‍याइयो,’ अस्पताल स्रोतले भन्यो।

कामीलाई मुटु प्रत्यारोपणको तयारीका लागि आइतबार राति (डिसेम्बर २१) जनरल अस्पतालमा भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताको रगत समूह र एचएलए (ल्युकोसाइट एन्टिजेन) मिलेकाले चिकित्सकहरू मुटु प्रत्यारोपण गर्ने निर्णयमा पुगेका थिए ।

सडक दुर्घटनाका पीडित शिबु विगत सात दिनदेखि भेन्टिलेटरमा थिए। उनका मुटु, मिर्गौला, कर्निया, कलेजो र छाला विभिन्न बिरामीमा प्रत्यारोपण गरिने जनरल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहिर्षाले बताए।

अस्पताल स्रोतका अनुसार छाला र एक मिर्गौला तिरुवनन्तपुरमको सरकारी मेडिकल कलेजलाई, अर्को मिर्गौला कोल्लमको ट्राभानकोर मेडिकल कलेजलाई, कर्निया तिरुवनन्तपुरमको क्षेत्रीय नेत्र विज्ञान संस्थानलाई र कलेजो एक निजी अस्पताललाई प्रदान गरिनेछ।

-द हिन्दुबाट भावानुवाद 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ